काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ।
आज बिहान ५:४५ बजे ३.४ डिग्री सेल्सियस रहेको उपत्यकाको न्यूनतम तापक्रम ८:४५ बजे घटेर ३ डिग्री सेल्सियस भएको हो। अर्थात् ३ घण्टामै .४ डिग्री सेल्सियस तापक्रम घटेको हो।
यसअघि आइतबार भने उपत्यकाको न्यूनतम तापक्रम योभन्दा पनि कम २.१ डिग्री सेल्सियस थियो। जुन उपत्यकाका लागि यस वर्षअन्तर्गत अहिलेसम्मकै कम तापक्रम हो।
राति आकाश छ्याङ्ग रह्यो भने बिहान न्यूनतम तापक्रम घट्छ भने राति आकाशमा बादल लाग्यो भने बढ्छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार आज उपत्यकाको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसबीच रहने अनुमान छ। आइतबार यहाँको अधिकतम तापक्रम १६.९ डिग्री सेल्सियस थियो।
२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ।
‘आज दिनभर उपत्यकाको मौसम आंशिक बदलीको अवस्थामा रहने अनुमान छ’, मौसमविद् अर्यालले भने।
यसको अर्थ आकाशमा अलिअलि बादल देखिए पनि घाम लाग्छ।
Shares
प्रतिक्रिया