बागमती प्रदेश सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट समानुपातिकतर्फ निर्वाचित सांसद लक्ष्मी घिमिरे अपांगता भएकी व्यक्ति हुन्। उनको घर रामेछाप हो।
धेरैलाई लाग्न सक्छ- अपांगता भएपछि प्रगतिका बाटा बन्द हुन्छन्। यही गलत मानसिकताका कारण अपांगता भएका मानिस सामाजिक तथा राजनीतिक जीवनमा अघि बढ्न सकिँदैन भन्ने भ्रम छ।
तर राजनीतिक दलले अवसर दिए अपांगता भएका व्यक्तिले पनि सपांगसरह आफ्नाे जिम्मेवारी पूरा गर्न सक्छन् भन्ने बलियो उदाहरण हुन्- प्रदेश सांसद घिमिरे।
ह्विलचेयरबाटै सुरु भएको उनको यो पहिलो संसदीय यात्राले एक वर्ष पूरा गरेको छ। ५ वर्षे कार्यकालको पहिलो वर्ष गुजारेकी घिमिरेले यस अवधिमा धेरै कुरा सिक्ने मौका पाइन्।
संसद्मा पुगेपछि पक्कै पनि आफूजस्तै अपांगता भएका नागरिकका पक्षमा ऐन निर्माण गर्न पाइन्छ भन्ने लागेको थियो- सांसद घिमिरेलाई। तर एक वर्षको अनुभवले उनको यो विश्वासमा ठेस पुर्याएको छ। संसद्मा सांसदले उठाएका सबै कुरा सरकारले ध्यान नदिने रहेछ भन्ने तीतो अनुभव गरिन् उनले।
भन्छिन्, ‘अपांगमैत्री प्रदेश सभा भवनको माग राख्दै सदन प्रवेश गरेकी थिएँ, तर यो माग अहिलेसम्म पूरा हुन सकेको छैन। बैठक कक्षमा पुग्न केही सहज भए पनि पुगेपछि म बस्ने ढोकाछेउको एउटा कुनामा हो। त्यो ठाउँबाट अन्त पुग्नसक्ने अवस्था नै छैन।’
१४ वर्षअघि लडेर मेरुदण्ड नचल्ने समस्याका कारण उनी ह्विलचेयरको सहारामा छिन्। कम्मरभन्दा तल्लाे भाग नचल्ने लक्ष्मी ह्विलचेयरको मद्दतमा दैनिक जीवन चलाइरहेकी छन्।
बागमती प्रदेश सभामा अपांगता भएको पहिलो र एक मात्र सांसद पनि उनै हुन्, जो ह्विलचेयरमार्फत संसद्मा उपस्थित हुन्छिन्।यसअघि कुनै पनि राजनीतिक दलले अपांगता भएका व्यक्तिलाई प्रदेश सभामा भित्र्याएका थिएनन्। यसै कारण पनि प्रदेश सभा भवन अपांगमैत्री बनाउनपर्छ भन्ने सोच कसैमा आउने कुरै भएन।
जब लक्ष्मी सांसद बनेर प्रदेश सभा भवन छिरिन्, तब मात्रै त्यहाँका भौतिक संरचना अपांगमैत्री पनि हुनुपर्ने विषयले प्रवेश पायो।आफूले सदन प्रवेश गरेदेखि नै यही विषयमा आवाज उठाइरहेको तर एक वर्ष बितिसक्दा पनि कुनै सुनुवाइ नभएको गुनासो उनले गरिन्।
उनले भनिन्, ‘मैले सदनमा पहिलो सम्बोधनमै प्रदेश सभा भवन आपांगमैत्री भएन भनेकी थिएँ। सदन प्रवेश गर्दा यो अवस्था परिवर्तन गर्न सक्छु भन्ने लागेको थियो, तर अहिलेसम्म त्यस्तो हुन सकेको छैन। एक वर्षसम्म पनि प्रदेश संरचना अपांगमैत्री बनाउनेतर्फ ध्यान दिइएको पाइनँ।’
उनका अनुसार अहिले उनी जेनतेन बैठक कक्ष र संसदीय दलको कार्यालय पुग्न सक्ने अवस्था बनेको छ। यसबाहेक अन्य बैठकमा सहभागी हुन कठिन हुने गरेको उनले बताइन्।
घिमिरेले प्रश्न गरिन्, ‘अपांगमैत्री संसद् भवन कहिले बनाउने?’
प्रदेशका सार्वजनिक स्थल अपांगमैत्री बनाइनुपर्ने आफ्नो मुख्य एजेन्डा रहने भन्दै १४ पुस २०७९ मा सदन प्रवेश गरेकी घिमिरे अहिलेसम्म आफैँ ओहोरदोहोर गर्ने प्रदेश सभा भवनका संरचना पनि अपांगमैत्री बनाउन नसक्दा निराश भएकी छन्।
‘अपांगता भएकै कारण आफूले भोग्नपरिरहेको पीडालाई प्रदेश सभामा प्रस्तुत गरेर अपांगता भएकाहरुको अधिकारका निम्ति आवाज उठाउँदै आइरहेको छ’, उनले भनिन्, ‘तर आफ्नै अधिकारका लागि उठाएको आवाज त सरकारले सुनिरहेको छैन, अन्य अपांगता भएका सर्वसाधारणका पक्षमा के गर्न सकुँला र!’
बागमती प्रदेश सभा सचिवालयले भने प्रदेश सभाको बन्दै गरेको नयाँ भवन अपांगमैत्री रहेको दाबी गरेको छ। घिमिरेको समस्या समाधानका लागि सचिवालय गम्भीर रहेको बागमती प्रदेश संसद सचिवालयका सचिव कृष्णहरी खड्काको भनाइ छ।
तत्कालीन शिक्षा निर्देशनालयको साँघुरो भवनमा रहेको बागमती प्रदेश सभा कक्षसम्म ह्विलचेयरमै पुग्न सकिए पनि सभामुख/उपसभामुखका कार्यकक्ष, संसदीय दलको बैठक कोठा आदिमा जान भने कठिन हुने उनले बताइन्।
Shares
प्रतिक्रिया