काठमाडौँ उपत्यकामा आज (शनिबार) बिहान ठिहिर्याउँदो चिसो भएको छ।
आज काठमाडौँ उपत्यकाको तापक्रम शुक्रबारभन्दा केही तल झरेको हो।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा उपत्यकाको न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस देखिएको हो।
आजको आधिकारिक न्यूनतम तापक्रम भने अहिले बिहान ८:४५ बजे पुनः मापन गरिन्छ, त्यतिबेला अहिलेको भन्दा थोरै तल झर्न सक्छ।।
शुक्रबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस थियो।
मौसमविद् प्रधानांगका अनुसार आज उपत्यकाको अधिकतम तापक्रमचाहिँ १७ देखि १९ डिग्रीसम्म पुग्ने अनुमान छ। शुक्रबार यहाँको अधिकतम तापक्रम १८.५ डिग्री सेल्सियस थियो।
२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ।
आज काठमाडौँ उपत्यकाको मौसम सामान्यतया सफा रहने उनको भनाइ छ। सामान्यतया सफा भनेको आकाशमा खासै बादल देखिँदैन, घाम लाग्छ।
लामो समयपछि बिहीबार बेलुका काठमाडौँ उपत्यकामा पनि हल्का हिउँदे वर्षा भएको थियो।
Shares
प्रतिक्रिया