बिहीबारदेखि ह्वात्तै बढेको काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम उकालो लाग्ने क्रम जारी छ।
यस क्रममा आज (शुक्रबार) उपत्यकाको अधिकतम तापक्रम २२.७ डिग्री सेल्सियसमा उक्लिएको मौसम पूर्वानुमान महाशाखाको विवरणले देखाएको छ।
बिहीबार काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २२.२ डिग्री सेल्सियस थियो। यसअघि बुधबार उपत्यकाको अधिकत तापक्रम १६.८ डिग्री सेल्सियस थियो। मौसम सफा भएर दिनभर घाम लाग्न थालेपछि उपत्यकाको अधिकतम तापक्रम उकालो लाग्न थालेको हो।
यस्तै आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पनि ५.६ डिग्री सेल्सियसमा उक्लिएको छ। बिहीबार उपत्यकाको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस थियो।
२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ।
मौसमविद् रोजन लामिछानेका अनुसार बादल लागेको तथा पानी परेको अवस्थामा तापक्रम थोरै घटे पनि मूलतः देशभर अब तापक्रम बिस्तारै बढ्नेतर्फ नै उन्मुख छ।
जाडो अर्थात् हिउँदयामको अवधि अब यही फेब्रुअरी महिना मात्र हो। त्यसपछि प्रिमनसुन सिजन सुरु हुन्छ।
Shares
प्रतिक्रिया