आज (बुधबार) काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार आज अपराह्न काठमाडौँ उपत्यकामा फाटफुट वर्षाको सम्भावना देखिएको हो।
काठमाडौँ उपत्यकामा मौसम अहिले बिहानैदेखि पूर्णतया बदली (आकाशभरि बादल) भएको उनले बताए।
‘दिउँसो २ बजेपछि उपत्यकामा पनि फाटफुट वर्षा हुने सम्भवना छ’, उनले भने, ‘आज दिनभर उपत्यकामा घाम लाग्ने सम्भावना निकै कम छ।’
घाम नलाग्ने भएका कारण आज काठमाडौँ उपत्यकामा दिउँसो केही चिसो हुने सम्भावना छ। जसका कारण आज उपत्यकाको अधिकतम तापक्रम केही कम हुने अनुमान गरिएको छ।
मौसमविद् प्रधानांगका अनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम कममा १९ तथा बढीमा २१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको हो। मंगलबार उपत्यकाको अधिकतम तापक्रम २३.२ डिग्री सेल्सियस थियो।
आज उपत्यकाको न्यूनतम तापक्रम भने केही बढेको छ। मौसमविद् प्रधानांगका अनुसार बिहान ५:४५ बजे मापन गर्दा उपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री सेल्सियस देखिएको हो। मंगलबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७.७ डिग्री सेल्सियस थियो।
त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रमका लागि अहिले बिहान ८:४५ बजे पुनः मापन गरिन्छ। तर त्यतिबेला पनि अहिलेकै तापक्रम (९.५ डिग्री सेल्सियस) कायम रहने सम्भावना पनि हुन्छ भने थोरै घट्न पनि सक्छ।
राति आकाश बादलले ढाक्दा बिहान न्यूनतम तापक्रम बढ्ने मौसमविद् बताउँछन्।
देशभरको मौसमका लागि- गण्डकी प्रदेशमा वर्षा, मधेसमा चट्याङसहित पानी पर्ने सम्भावना
Shares
प्रतिक्रिया