मौसम बदली र वर्षाका कारण शुक्रबार काठमाडौँ उपत्यकामा चिसो बढेको छ।
बिहीबार देशभरसँगै उपत्यकामा पनि मौसम बदली (आकाशमा बादल) र वर्षा भएको थियो। जसको प्रभावले आज बिहान न्यूनतम तापक्रम ह्वात्तै घटेको छ।
मौसम पूर्वानुमान महाशाखाको रेकर्डअनुसार बिहीबार (हिजो) ८.५ डिग्री सेल्सियस रहेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम स्वाट्टै घटेर शुक्रबार ३.५ डिग्री सेल्सियसमा झरेको छ।
यस्तै शुक्रबार उपत्यकाको अधिकतम तापक्रम पनि घटेको छ। बिहीबार २१.८ डिग्री सेल्सियस रहेको उपत्यकाको अधिकतम तापक्रम शुक्रबार १९.४ डिग्री सेल्सियसमा झरेको हो।
शुक्रबार (आज) पानी नपरे पनि अपराह्नपछि मौसम बदली भई राम्रोसँग घाम लाग्न पाएको थिएन।
मौसमविद्का अनुसार राति आकाश बादलले ढाक्यो भने न्यूनतम तापक्रम बढ्छ, आकाश सफा भयो भने घट्छ। यसको ठीक उल्टो दिउँसो आकाश बादलले ढाक्यो र घाम लाग्न पाएन भने अधिकतम तापक्रम घट्छ, दिनभर मौसम सफा भएर घाम लाग्यो भने बढ्छ।
२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ।
न्यूनतम र अधिकतम दुवै तापक्रम घटेसँगै काठमाडौँ उपत्यकामा शुक्रबार बिहान–बेलुकै चिसो भएको छ।
Shares
प्रतिक्रिया