काठडमाडौँ उपत्यकाको मौसम यतिबेला (सोमबार बिहान) आंशिक बदली (आधाजति आकाश बादलले ढोकेको) भएको छ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज उपत्यकामा हुस्सु लागेको छैन। भिजिबिलिटी (पारदर्शिता) ६ किलोमिटर छ।
आज दिनभर उपत्यकाको मौसम आंशिक बदलीको अवस्थामा रहने र राति आंशिक बदलीदेखि सामान्य बदली हुने सम्भावना रहेको मौसमविद् मानन्धरले बताइन्।
उनका अनुसार आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस देखिएको छ।
‘आज उपत्यकाको अधिकतम तापक्रमचाहिँ २० देखि २२ डिग्रीसम्म पुग्ने अनुमान गरेका छौँ’, उनले भनिन्।
२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ।
मौसम बदली र वर्षा भएका बेला तापक्रम केही घटे पनि अब देशभर तापक्रम क्रमशः बढ्ने क्रममा रहेको मौसमविद् बताउँछन्।
Shares
प्रतिक्रिया