दिनभर मौसम बदली र वर्षाका कारण काठमाडौँ उपत्यकामा चिसो बढेको छ।
मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार हिजो शनिबारको तुलनामा उपत्यकाको अधिकतम तापक्रम ४.१ डिग्री सेल्सियस घटेको हो।
शनिबार २३.३ डिग्री सेल्सियस रहेको काठमाडौँ उपत्यकाको तापक्रम घटेर आज १९.२ डिग्री सेल्सियसमा झरेको हो।
न्यूनतम तापक्रम भने शनिबारको तुलनामा आज आइतबार बढेको छ। शनिबार १२ डिग्री सेल्सियस रहेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज आइतबार बढेर १२.७ डिग्री सेल्सियसमा उक्लिएको हो।
‘न्यूनतम तापक्रम बढ्नुको कारण के हो भने (शनिबार) राति आकाश बादलले ढपक्क ढाक्यो तर पानी परेन’, मौसमविद् मीनकुमार अर्यालले भने, ‘पानी परेको भए मौसम चिसो हुन्थ्यो र बिहान न्यूनतम तापक्रम घट्थ्यो, बादल मात्र लाग्यो र पानी परेन भने तातो हुन्छ।’
तर यसको ठीक उल्टो दिउँसो आकाश बादलले ढाक्यो र घाम लाग्न पाएन भने अधिकतम तापक्रम घट्छ। पानी पनि पर्यो भने त अझ घट्छ।
२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ।
Shares
प्रतिक्रिया