यतिबेला (मंगलबार बिहान) काठमाडौँ उपत्यकाको मौसम ‘मुख्यतया सफा’ रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार आज उपत्यकाको मौसम दिनभर नै मुख्यतया सफा नै रहने सम्भावना छ। ‘आज मजाले घाम लाग्छ, मौसम बदलीको सम्भावना छैन’, उनले भने।
मौसमविद्का अनुसार ‘मुख्यतया सफा’ भनेको सम्बन्धित क्षेत्रको आकाश २५ प्रतिशत मात्र बादलले ढाक्नु हो भने बाँकी सफा रहनु हो।
मौसम सफा भएसँगै काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घट्दै गएको छ भने अधिकतम बढ्दै गएको छ।
आज (मंगलबार) बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ७.६ डिग्री सेल्सियसमा झरेकामे हो। यसअघि उपत्यकाको न्यूनतम तापक्रम सोमबार ८.५ डिग्री सेल्सियस थियो भने आइतबार १२.७ डिग्री सेल्सियस।
मौसमविद्का अनुसार राति आकाश सफा रह्यो भने न्यूनतम तापक्रम घट्छ, आकाश बादलले ढाक्यो र पानी परेन भने बढ्छ।
यसको ठीक उल्टो दिनभर आकाश बादलले ढाक्यो, घाम लाग्न पाएन तथा वर्षा भयो भने अधिकतम तापक्रम घट्छ भने आकाश सफा भएर घाम लाग्यो भने बढछ्।
आइतबार १९.२ डिग्री सेल्सियस रहेको काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम सोमबार २३.३ डिग्री सेल्सियसमा उक्लिएको छ। आज (मंगलबार) उपत्यकाको अधिकतम तापक्रम २३ देखि २५ डिग्रीसम्म बढ्ने अनुमान गरिएको मौसमविद् झाले बताए।
२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ।
Shares
प्रतिक्रिया