मकवानपुरको राक्सिराङ गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा एउटा बेग्लै योजना समावेश गर्यो। राक्सिराङका गाउँ रित्तिदै गएपछि यहाँ बसाइँसराइँ गरी आउने परिवारलाई एउटा घर उपहार दिने निर्णय गरेको थियो।
जसका लागि प्राप्त निवेदनका आधार बजेट सुसनिश्चिता गरेर घर बनाइदिने कार्यक्रम ल्यायो।
अन्यत्रबाट गाउँपालिकाभित्र बसाइँ सरी आउन आकर्षित गर्न ‘सुन्दर समाज हाम्रो सार, बसाइँ सरी आउनेलाई घर उपहार’ कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाको नीति तथा कार्यक्रममै ल्याइएको थियो। तर राक्सिराङमा बसाइँ सरी आउन चाहानेको संख्या भने देखिएन।
इच्छुकहरुले निवेदन दिनका लागि गाउँपालिकाले गत फागुन १६ गते पहिलो पटक सूचना प्रकाशन गरेको थियो। तर उक्त अवधिभर एउटा पनि निवेदन नपरेको गाउँपालिकाका सामाजिक विकास महाशाखा अधिकृत गोविन्द अधिकारीले बताए। उनका अनुसार पहिलो पटक प्रकाशित गरिएको सूचनामा एक जनाको पनि निवेदन नपरेपछि पुनः दोस्रो पटक सूचना जारी गरिएको थियो।
गत चैत १४ गते दोस्रोपटक म्याद थप गरी सूचना प्रकाशन गरिएकोमा यो अवधिमा एक जनाको मात्रै निवेदन परेको सामाजिक विकास शाखा अधिकृत अधिकारीले बताए। मकवानपुरकै कैलाश गाउँपालिकाका एक नागरिकले बसाइँ सरी आउनको लागि इच्छा देखाएको उनले बताए।
‘स्पष्ट निवेदन त अझै आइपुगेको छ कि छैन भन्नेमा हामी बुझ्दैछौं। एक जनाले निवेदन दिनुभएको भन्ने पाइएको छ,’ उनले भने, ‘यसअघि पनि बसाइँ सरी आउने भन्दा बाहिरिनेको संख्या धेरै छ। गाउँ रित्तिँदै गैसक्यो। दोस्रो पटकको सूचनामा चाहिँ एकजनाले इच्छा देखाएको भन्ने पाइएको छ।’
अधिकारीका अनुसार, ती इच्छुक लाभग्राहीले वडामार्फत निवेदन दिएका हुन्।
Shares
प्रतिक्रिया