ad ad

बागमती


कुलतमा फसेर छोरा गुमाएपछि सौजनले जन्माएको ‘सिआन’, जसले पायो १ लाख पुरस्कार

कुलतमा फसेर छोरा गुमाएपछि सौजनले जन्माएको ‘सिआन’, जसले पायो १ लाख पुरस्कार

सुनिता विष्ट
जेठ २४, २०८१ बिहिबार १६:१९, हेटाैँडा

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ लामुसुरेमा रहेको सिआन पुनर्स्थापना केन्द्रलाई गृह मन्त्रालयले एक लाख रुपैयाँ पुरस्कार दिने भएको  देशैभरीमा उत्कृष्ट काम गरेको भन्दै गृह मन्त्रालयले छनोट गरेका दुईवटा पुनर्स्थापना केन्द्रमध्य हेटौंडाको सिआन पनि पुरस्कारका लागि योग्य भएको हो।

यससँगै बाग्लुङमा रहेको नयाँ जीवन पुनर्स्थापना केन्द्रले पनि एक लाख रुपैयाँ पुरस्कार पाउने भएको छ।

कार्यसम्पादनका आधारमा यस केन्द्रलाई पनि गृह मन्त्रालयले छनौट गरेर पुरस्कृत गर्न लागेको हो। एक लाख राशिको पुरस्कार यही जुन २६ तारिखमा अन्तर्राष्ट्रिय लागुऔषध विरुद्धको दिवसका दिन हस्तान्तरण गर्ने कार्यक्रम रहेको हेटौंडाको सिआन पुनर्स्थापना केन्द्रका सञ्चालक सौजन डीसीले जानकारी दिए।

कुनैदिन लागुऔषध दुर्व्यसनीमा फसेर घरको न घाटको भनेझैं भएका डिसी अहिले आफूजस्तै दुर्व्यसनीमा फसेका युवाहरूलाई सुधार्न व्यस्त छन्। पुनर्स्थापना केन्द्रमा हुनुपर्ने धेरै मापदण्ड पूरा भएको भन्दै सिआनलाई गृह मन्त्रालयले पुरस्कार दिन लागेका डीसी बताउँछन्।

यस केन्द्रले एक सय पूर्णाङकमा ८५ अंक प्राप्त गरेको थियो। अहिले यस केन्द्रमा ४६ जना उपचाररत रहेको यस पुनर्स्थापना केन्द्रका एक मोटिभेसनल पात्र हुन्, सञ्चालक डीसी।

कुलतमा फसेर सुध्रिएका डीसी
लागुऔषध दुर्व्यसनीमा फसेका व्यक्ति पनि सम्हाल्ने र कुरा बुझिदिने परिवार पाए असल बाटो पहिल्याउन सक्छन् भन्ने बलियो उदाहरण हुन् डीसी। १३/१४  वर्षको कलिलो उमेर, हातमा कक्षा ५ को किताब, तर स्कुल ड्रेसको पाइन्टको खल्तीमा चुरोट र गाँजा! पैसा भए अथवा साथीले दिए लागुऔषध पनि!

विद्यालयमै संगीतको कक्षामा सिकेको गितार र अन्य बाजा बोकेर ‘रक स्टार’ नै बनेका सौजन लागुऔषधको लतमा फसे। लगभग २० वर्षअघि हातमा गितार बोकेर हेटौँडाको चोकचोकमा कन्सर्ट गर्ने ग्याङका रूपमा परिचित थियो– सौजनको टोली।

संगीतकै कारण लागुऔषधमा फसेको बताउने उनी यी दुई चिजबाट उम्किनै सकेनन्। ५ कक्षादेखि सुरु भएको उनको आगुऔषध सेवन गर्नेक्रम निरन्तर ११ वर्षसम्म चलिरह्यो।

किशोर अवस्थामा गाँजा, चुरोटदेखि ‘ड्रग्स’सम्म प्रयोग गर्न थोरै खर्चले पुग्ने अवस्था थिएन। घरबाट पैसादेखि गरगहनासम्म चोरेर भए पनि नशा लिन पल्किएका उनलाई सधैँ चोरेकै खर्चले पुग्ने अवस्था भएन। नशाबिना बाँच्न नसक्ने भइसकेका उनले विकल्पका रूपमा किनबेचको काम पनि थाले।

ती दिन सम्झिँदै उनी भन्छन्, ‘दिनमा १ लाखसम्मको कारोबार गर्थेँ। तर त्यो पैसा मैले घरमा १ रुपैयाँ पनि देखाउँथिनँ। पैसा टन्न कमाएका बेला साथीहरूलाई पनि खुवाउँथेँ। त्यतिबेला कमाउनका लागि नभएर नशा प्रयोगकै लागि किनबेच गर्ने मलाई पैसा, परिवारभन्दा प्यारो नशा नै थियो।’

लागुऔषध खानकै लागि आफैँले कानमा लगाएको मुन्द्रा २ पटकसम्म बेचेको उनी सुनाउँछन्।

घरको कान्छो छोरो लागुऔषधमा फसेपछि कसरी बाहिर ल्याउन सकिन्छ भन्ने चिन्ताले उनका परिवारलाई सताउन थाल्यो। आजभन्दा भोलि, भोलिभन्दा पर्सि गर्दै गाँजा, चरेस, हेरोइन लगायतको नशामा डुबिसकेका उनलाई यसबाट मुक्त गराउन उनकी आमा मनुले धेरैजना धामीझाँक्री कहाँ लगिन्। धेरैवटा मन्दिर चहारिन्। भाकल गरिन्। तर सौजनलाई सुधार्न सकिनन्।

यसरी स्थापना भयो सिआन पुनर्स्थापना
विवाह गरेको केही वर्षपछि उनकी श्रीमती जब गर्भवती भइन्, त्यतिबेला उनी झन् जतिबेला पनि नशा चाहिने भइसकेका थिए। रातदिन कुनै पनि बेला घरमा नबस्ने उनी जता साथीभाइसँग भेटघाट हुन्छ, उतै समय बिताइदिन्थे। न घर फर्कने समयको ठेगान, न त बाहिर निस्कनेको ठेगान। जुन बेला नशाले छाड्छ, त्यतिबेला नै चोकचोकमा साथी खोज्न जाने उनको यो व्यवहारमा परिवर्तन आउनै सकेन।

उनकी श्रीमतीको कोखमा बच्चा हुर्किरहेको थियो। तर यस्तो बेला श्रीमतीको ख्याल गर्नुपर्छ भन्नेसम्म सोच्न सकेनन् उनले। रातदिन नै श्रीमान् कोठामा नबस्ने भएपछि तान्याले उनलाई कोठामै बसेर सेवन गर्न भनिन्। उनको सल्लाहअनुसार सौजनले धेरै समय कोठामै त बिताए। तर तान्याले सोचेजस्तो हुँदै भएन। लागुऔषध नखाउन्जेलसम्म माया गर्ने उनले लागुऔषध खाएपछि गर्भवती श्रीमतीलाई कुटपिट गर्न थाले।

दिनहरू बित्दै गए। २०७२ सालमा उनीहरूको छोरा जन्मियो। छोराको नाम सिआन राखियो।

स्वस्थ जन्मिएका सियान २ महिनापछि धेरै बिरामी भए। त्यतिबेला सौजन लागुऔषधबाट मुक्त हुन सुधारकेन्द्रमा पुगेका थिए। हेटौँडाबाट तान्याले काठमाडौँमा रहेका उनलाई फोन गरेर छोरा बिरामी भएको कुरा सुनाइन्। त्यो रात यसै भयो।

भोलिपल्ट बिहान छोरा लिएर तान्या काठमाडौं आइन्। उनीहरू उपचारका लागि बल्खु गए। छोराको अवस्था निकै बिग्रिसकेको थियो।

‘हतारहतार गर्दै नजिकै रहेको अस्पताल लग्यौँ। त्यहाँ उपचार हुन नसकेपछि कान्ति अस्पताल लग्यौँ’ उनी सम्झन्छन्, ‘कान्ति अस्पतालमा पनि २–४ घण्टा उपचारको प्रयास भयो, तर सफल हुन सकेन। पहिलो सन्तानलाई गुमाउनुपर्‍यो।’

जब उनले छोरा गुमाए, तब अब यो दुर्व्यसनीबाट मुक्त हुनुपर्छ भन्ने लाग्न थाल्यो। परिवारको करमा पुनःस्थापना केन्द्र गएको उनलाई अब म सुध्रिन्छु भन्ने भित्र मनदेखि नै आयो। १५ दिन जति एकदमै गाह्रो भए तापनि बिस्तारै बानी पर्दै गएपछि ३ महिनामा पूर्ण रूपमा लागुऔषध मुक्त भए उनी।

तीन महिना सुधारकेन्द्रमा बस्दा उनको दिमागमा सुधारकेन्द्र खोलेर आफूजस्ता कुलतमा फसेका युवाको जीवन रक्षाका निम्ति केही गर्ने अठोट लिएर फर्किए। घर आएपछि उनले आफ्नो यो इच्छा श्रीमतीलाई सुनाए। त्यसपछि परिवारकै सहमतिमा उनले २२ मंसिर २०७३ मा स्वर्गीय छोरा सिआनको नाममा ‘सियान पुनर्स्थापना केन्द्र’ स्थापना गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .