ad ad

बागमती


सिमलतालदेखि गाईघाटसम्म बस हुनसक्ने अनुमान

नदीमा बेपत्ता यात्रुलाई मृत मानेर राहत दिन गृह मन्त्रालयसँग अनुरोध
सिमलतालदेखि गाईघाटसम्म बस हुनसक्ने अनुमान

फाइल फाेटाे


नेपालखबर
साउन १३, २०८१ आइतबार १९:२०, चितवन

चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरासहित त्रिशूलीमा खसेर बेपत्ता दुई बस अझै फेला पर्न सकेका छैनन्। नारागणगढ-मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरासँगै त्रिशूलीमा खसेका बस र यात्रुको खोज तथा उद्धार थालिएको १६ दिनसम्म पनि बस तथा धेरै यात्रु अझै फेला पर्न नसकेका हुन्। 

नेपाल सरकारले खोजीका लागि बोलाएको भारतीय गोताखोरसहितको टोली परिचालन गर्दासमेत बसको अवस्था पत्ता लाग्न नसकेको  प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

साउन ५ गते आएर खोजीमा लागेको भारत सरकारको नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) को १२ सदस्यीय टोली आज स्वदेश फर्किएको हो। खोज तथा उद्धारका क्रममा आफूहरूले पाएको प्रारम्भिक जानकारी जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई उपलब्ध गराउने गरी टोली फिर्ता भएको हो।

प्रमुख जिल्ला अधिकारी यादवले साउन ४ गतेयता हालसम्म शव र बसका अवशेषसमेत फेला पर्न नसकिएको बताए। त्यसअघि विभिन्न ठाउँमा गरी २५ जनाको शव भेटिएको भए पनि अन्यको शव भेटिन नसकेको उनले बताए। 

भारतीय गोताखोरसहितको टोलीले घटनास्थल सिमलतालदेखि गाईघाटसम्म ३ दशमलव ५ किलोमिटर क्षेत्रफलमा बस हुन सक्ने अनुमान गरेको प्रमुख जिल्ला अधिकारी यादवले बताए।

उनले भने, ‘बस नै हो भन्ने एकिन नभए पनि केही वस्तु छ भन्ने अनुमान उहाँहरूको छ। त्यहीअनुसार खोजी जारी राखेका छौँ। भारतीय टोली फर्किए पनि नेपालको टोलीले खोजी जारी राखेको छ। नदीको गहिराइ, पानीको बहावअनुसारका उपकरण अभावका कारण खोजीमा कठिन भएको छ।’

प्रमुख जिल्ला अधिकारी यादवले माटोमा पुरिएको अवस्थामा अहिले प्रयोग भएको सोनाल क्यामेरालगायतका अन्य उपकरणले सवारीसाधन र शवको पहिचान गर्न कठिन हुने बताए।

भारतीय टोलीले ल्याएको उपकरणबाट पानीभित्र ३० फिट तलसम्म हेर्न मिल्ने भए पनि नदीको गहिराइका कारण केही पत्ता लाग्न नसकेको उनको भनाइ छ।

गत असार २८ गते वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौँबाट गौर जान आउँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालमा खसेको पहिरासँगै त्रिशूली नदीमा यात्रुसहित बेपत्ता भएका थिए। 

बसमा सवार ६५ जनामध्ये तीन जना पौडिएर बाहिर निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए। हालसम्म २५ जनाको शव भेटिएकामा तीमध्ये १७ जनाको पहिचान खुलेर परिवारलाई बुझाइसकिएको छ। अन्य शवको पहिचान खुल्न सकेको छैन। अझै ३७ यात्रु र बसको अवस्था पत्ता लाग्न बाँकी छ। 

प्रमुख जिल्ला अधिकारी यादवका अनुसार नदीमा बेपत्ता यात्रुहरूलाई मृत सरह घोषण गरी राहतका लागि गृह मन्त्रालयसँग अनुरोध गरिएको छ। राहतका लागि पत्र पठाइए पनि अर्को निर्देशन नभएसम्म खोजी जारी राखिने उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .