ad ad

बागमती


दुई सातायता न शव न बस, प्रहरी भन्छः रोक्न निर्देशन आयो भने मात्रै खोज्न छाड्ने हो

दुई सातायता न शव न बस, प्रहरी भन्छः रोक्न निर्देशन आयो भने मात्रै खोज्न छाड्ने हो

नेपालखबर
साउन १७, २०८१ बिहिबार १४:१९, हेटौँडा

नारायणगढ-मुग्लिन सडकअन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९, सिमलताल पहिरोसँगै त्रिशूली नदीमा खसेर २ बस यात्रुसहित बेपत्ता भएको तीन साता बित्न लाग्यो। 

गत असार २८ गते शुक्रबार बिहान काठमाडौँबाट रौतहटको गौरतर्फ गइरहेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र पर्साको वीरगन्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस यात्रुसहित त्रिशूली नदीमा खसेका थिए। बससँगै नदीमा खसेका ६५ जनामध्ये ३ यात्रु पौडिएर निस्कन सफल भए पनि बाँकी सबै बेपत्ता भएका थिए। 

तीमध्ये अहिलेसम्म २५ जनाको शव मात्र भेटिए भने बाँकी यात्रु र दुई बस अझै फेला परेका छैनन्। बस त्रिशूलीमा खसेको एक हप्तासम्म एकपछि अर्को गर्दै २५ जनाको शव भेटिएका थिए। तर साउन ४ यता भने न बस, न थप यात्रु केही पनि फेला परेका छैनन्। यसबीच भारतबाट समेत उद्धार टोली झिकाएर खोजीमा संलग्न गराइयो तर पनि सफलता मिलेन। 

त्यसयता पनि स्वदेशी टोली भने खोजीमा निरन्तर खटिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए। उनका अनुसार हाल ४५/५० जनाको टोली खोजीमा संलग्न छन्। 

‘खोजी रोक्न निर्देशन आयो भने मात्रै हामीले खोज्न छाड्ने हो’, डीएसपी रिजालले बिहीबार नेपालखबरसँग भने, ‘भारतीय टोली स्वदेश फर्के पनि नेपाली टोली त्रिशूली र नारायणी नदीमा खोजिरहेको छ। घटनास्थलदेखि सम्भावित नदी तटीय क्षेत्रमा खोजी भइरहेको छ।’

तर पछिल्ला दुई सातादेखि थप यात्रु नभेटिएको उनले बताए। 

डीएसपी रिजालका अनुसार हालसम्म फेला परेका २५ शवमध्ये २० वटाको मात्र सनाखत भएको छ। बाँकी ५ शव चितवनको सरकारी अस्पतालको शवगृहमै छन्। 

ती शव सिमलताल दुर्घटनाका यात्रु हुन् कि होइनन् भन्नेसमेत दुविधा भइरहेको उनी बताउँछन्।

‘बर्खाको समय छ। अन्तबाट बगेर आइपुगेको पनि हुन सक्छ,’ डीएसपी रिजालले भने, ‘शवको अवस्था नचिनिने खालको भएर पनि आफन्तहरूले पहिचान गर्न नसकेको पनि हुन सक्छ। ती बसका यात्रु नै नभएको पनि हुन सक्छ। ५ वटा शव सनाखत हुन सकेका छैनन्।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .