ad ad

बागमती


चितवनमा मानसिक रोगी महिला बलात्कार गरेको आरोपमा ३ विद्यार्थी पक्राउ

चितवनमा मानसिक रोगी महिला बलात्कार गरेको आरोपमा ३ विद्यार्थी पक्राउ

फाइल तस्बिर : चितवन जिल्ला प्रहरी कार्यालय


नेपालखबर
साउन १८, २०८१ शुक्रबार १२:४, हेटौँडा

चितवनको माडी नगरपालिकामा मानसिक समस्या भएकी एक महिलालाई बलात्कार गरेको आरोपमा ३ जना पक्राउ परेका छन्।

पक्राउ परेका तीनैजना विद्यार्थी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

साउन १६ गते बुधबार राति माडी नगरपालिका-७ किर्तनपुरनजिकै २७ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा ३ जना विद्यार्थीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

२७ वर्षकी ती महिला मानसिक समस्यामा थिइन्। मानसिक रोगको नियमित औषधि खाइरहेकी उनलाई बुधबार राति १० बजेतिर १०/१५ जना युवकको समूहले जिक्याउने, तान्ने गरिरहेको एक प्रत्यक्षदर्शीले बताएको माडी नगरपालिका वडा नम्बर ७ की वडाध्यक्ष चन्द्रा कुमारी बानियाँले जानकारी दिइन्। 

उनको अनुसार सो स्थानको सीसीटीभी फुटेज हेर्दा ती महिलालाई युवकहरूले तानेजस्तो गर्ने, गफ गरेजस्तो गर्ने देखिएको प्रहरीले जनाएको छ। 

सीसीटीभी फुटेजमा धेरै जना युवाको समूह देखिए पनि बलात्कार आरोपमा तीनजनालाई मात्र पक्राउ गरिएको वडाध्यक्ष बानियाँले बताइन्। 

वडाध्यक्ष बानियाँका अनुसार आरोपितमध्ये एक युवक सोही महिलाको घरनजिकै कोठा भाडामा लिएर बस्थे।

रातको ८ बजेतिर कोठामा आएका उनलाई घरबेटीले च्यानल गेट खोलिदिएकी थिइन्। ती युवक तल्लो तलाको कोठामा बस्थे। गेट लगाएर भित्र बस्लान् भन्ने लागेपछि घरबेटी आफूहरू बस्ने माथिल्लो तलामा गइन्।

तर ती युवकले त्यसपछि आफ्ना साथीहरूसहित ती महिलालाई कोठामा ल्याएर सामूहिक बलात्कार गरेको आरोप लागेको हो।

विवाहित ती महिलाको ८ वर्षका छोरा छन्। श्रीमान्‌सहित माइतीघरमा बस्ने गरेकी उनका पतिसमेत सुस्त मनस्थितीका रहेको बताइएको छ।

आरोपितहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

उनीहरूविरुद्ध मुद्दा दर्ता भएर म्याद थप भई थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता, डीएसपी भेषराज रिजालले जानकारी दिए।

पक्राउ परेका विद्यार्थीहरू माडीको एक प्राविधिक शिक्षालयमा अध्ययनरत थिए। 

चितवनबाहिरका जिल्लाबाट पढ्न माडी आएर बसेका उनीहरूको उमेर १७, १८ र २१ वर्ष उमेरका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .