ad ad

बागमती


धादिङको विद्यालयबाट बेपत्ता ३ बालिका ५ दिनपछि बागलुङमा भेटिए

सुरुमा काठमाडौँ गएछन्, पछि बागलुङको बस चढेछन् : प्रहरी
धादिङको विद्यालयबाट बेपत्ता ३ बालिका ५ दिनपछि बागलुङमा भेटिए

भेटिएका बालिकाका फाइल तस्बिर


सुनिता विष्ट
साउन २९, २०८१ मंगलबार ११:४६, हेटौँडा

धादिङको सदरमुकाम धादिङबेसीबाट गत बुधबार (साउन २३) देखि हराएका ३ बालिका ५ दिनपछि बागलुङमा भेटिएका छन्।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्रकुमार मिश्रका अनुसार धादिङको नीलकण्ठ नगरपालिकामा रहेको नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयका कक्षा ९ मा पढ्दै गरेका रोशनी विक, सुशीला तामाङ र अस्मिता गुरुङ बागलुङमा भेटिएका हुन्। 

उक्त दिन बिहान विद्यालय गएका उनीहरूले आधा दिनसम्म पढे। दिउँसो १ बजे खाजा खाने समयमा घण्टी लाग्यो। ४५ मिनेटको खाजा खाने समय सकिएपछि सबै विद्यार्थी कक्षाकोठामा पसे। पढाइ सुरु भयो। तर बिहान सँगै रहेका उनीहरू ३ जना कक्षामा नआएपछि सहपाठीले शिक्षकलाई जानकारी गराए।

तर केही समस्या भएर घर गएका होलान् भनेर ती शिक्षकले खासै ध्यान दिएनन्। अपराह्न ४ बजेपछि विद्यालयमा छुट्टी भयो। सबै विद्यार्थी घर गए। तर सुशीला, रोशनी र अस्मिता घर पुगेनन्।

यसपछि उनीहरूका अभिभावकले प्रहरीलाई खबर गरे।

रोशनीका विषयमा सोधीखोजी गर्दा उनीसँगै अन्य दुई बालिका पनि बेपत्ता भएको खुलेको थियो।

‘तीनैजनाको परिवारले आफ्नो छोरी घर नआइपुगेको भन्ने जानकारी दिएपछि मात्रै एउटै कक्षामा पढ्ने तीनजना हराएको भन्ने कुरा खुल्न आयो,’ डीएसपी मिश्रले भने, ‘सो दिन राति मात्रै खबर आयो। सोही रातबाटै खोज्न सुरु गरेका थियौँ। खोजीका लागि तीनैजना बालिकाको फोटोहरू सार्वजनिक गरेका थियौँ। बागलुङ प्रहरीले उद्धार गरेको भन्ने जानकारी आयो। बालिकाहरू लिनका आफन्त गएका छन्। यहाँ आइपुगेपछि थप विवरण खुल्न आउला।’ 

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक (डीएसपी) विजय यादवका अनुसार तीन बालिकालाई छुट्टाछुट्टै स्थानबाट उद्धार गरिएको हो।

सँगै हराएको भनिएका तीन बालिका बागलुङकै फरक-फरक स्थानमा फेला परेको यादवले जानकारी दिए।

दुई जना एकै ठाउँमा भेटिएका थिए। एउटी बालिका भने फरक स्थानमा फेला परेका हुन्, डिएसपी यादवले नेपालखबरसँग भने, हामीले सोधपुछ गर्दा घरमा गाली गरेको भएर घर छाडेर हिँडेको भन्ने जवाफ दिएका थिए। सोमबार (साउन २८) दिउँसो फेला परेका उनीहरूलाई राति नै आफन्तहरूले लगिसक्नुभयो। थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय धादिङले नै गर्छ।’

यद्यपि सामान्य सोधपुछका क्रममा ती बालिका सुरुमा काठमाडौँ गएको र पछि बागलुङको बस चढेर बागलुङ गएको भन्ने खुल्न आएको बागलुङ प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .