ad ad

बागमती


बागमती : प्रदेशसभा बैठकलाई महत्त्व दिँदैनन् सांसद, यी हुन् धेरै गयल हुने ५ जना

बागमती : प्रदेशसभा बैठकलाई महत्त्व दिँदैनन् सांसद, यी हुन् धेरै गयल हुने ५ जना

सुनिता विष्ट
भदौ ४, २०८१ मंगलबार ८:२०, हेटौंडा

संसद् विधान बनाउने अनि नागरिकका हकहितमा बहस गर्ने थलो हो। कानुन बनाउने र नीतिगत छलफल गर्नका लागि संसद् बैठक आह्वान हुन्छ। सांसदहरूको अध्ययनशील तर्कले बलियो र पारदर्शी विधान निर्माण हुन्छ। तर, जनताले चुनेर पठाएका प्रतिनिधिहरू नियम बनाउने थलोको संसद् बैठकमै अनुपस्थित हुने गरेका छन्।

विधि निर्माण गर्ने जिम्मेवारीका लागि जनताद्वारा चुनिएका प्रतिनिधिहरू संसद््को बैठकमा ‘गयल’ हुनु भनेको आफ्नो मूल जिम्मेवारीप्रति उदासीन हुनु हो। आफ्नो दलको काम परे अथवा पार्टीले ह्वीप जारी गरेको खण्डमा मात्रै सदनमा हाजिरी जनाउने सांसदहरूको संख्या बागमती प्रदेश सभामा बढ्दो छ।

बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएपछि एघारौंदेखि हालसम्म चौधौं अधिवेशनको यात्रामा छ। यो अवधिमा प्रदेश सभाका ९७ वटा बैठक बसे।

प्रदेश सभामा ११० सांसद छन्। जसमध्ये ५ जना सांसदले प्रदेश सभामा न्यून उपस्थिती जनाएको पाइएको छ। जसमा राप्रपाका सांसद सुनिल केसी, हाम्रो नेपाली पार्टी (हानेपा)की सरिता खड्की, नेपाली कांग्रेसका कञ्चनचन्द्र वादे, राप्रपाका राजेन्द्र प्रजापति र कांग्रेसका इन्द्रबहादुर बानियाँ सबैभन्दा कम उपस्थित हुने ५ जना सांसदको सूचीमा परेका हुन्।

बागमती प्रदेश सभाका प्रवक्ता मनोज गुप्ताका अनुसार प्रदेश सभामा सबैभन्दा कम उपस्थित हुने सांसद हुन् सुनिल केसी। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर २(१) बाट निर्वाचित सांसद केसी ९७ वटा बैठकमध्ये जम्मा १५ वटा बैठकमा मात्रै उपस्थित भएका छन्।

एघारौं अधिवेशनमा सम्पन्न १८ वटा बैठकमा सांसद केसी ७ वटा बैठकमा मात्रै उपस्थित रहेको प्रदेश सभा सचिवालयले जनाएको छ। यस्तै, बाह्रौं अधिवेशनमा सम्पन्न ३८ वटा बैठकमध्ये ५ वटा बैठकमा मात्रै उपस्थिती जनाएका छन् भने तेह्रौं अधिवेशनमा सम्पन्न ६ वटा बैठकमा १ र चौधौं अधिवेशनमा सम्पन्न ३५ वटा बैठकमा २ वटा बैठकमा मात्रै उपस्थित रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।

त्यसो त, जनताको लागि विकासको काम गरेरै नभ्याएका कारण संसद्का नियमित उपस्थित हुन नसकेको उनी बताउँछन्।

‘म काठमाडौंमै व्यस्त हुन्छु,’ केसीले भने, ‘म मेरो व्यक्तिगत कामको व्यस्तताले सदनमा उपस्थित नभएको होइन, नागरिकको विकासको लागि समय दिनुपर्दा बैठकमा बस्न नपाएको हुँ’ उनले थपे, ‘अब भने यताको कामै छोडेर भएपनि सदनमा जान पर्ला।’

केसी पछि कम उपस्थित हुने सांसदको दोस्रो नम्बरमा परेकी छिन् हाम्रो नेपाली पार्टी (हानेपा) की सांसद सरिता खड्की। काठमाडौंबाट समानुपातिक सांसदका रुपमा प्रदेश सभामा पहिलो यात्रामा रहेकी खड्कीको उपस्थिती पनि न्यून छ। एघारौं अधिवेशनमा सम्पन्न १८ वटा बैठकमा सतप्रतिशत उपस्थिती जनाएकी सांसद खड्कीको पछिल्लो समय सदनमा न्यून उपस्थिती रहेको पाइएको हो।

बाह्रौं अधिवेशनमा ४ वटा बैठकमा उपस्थित भएकी उनी तेह्रौं अधिवेशनको ६ वटै बैठकमा उपस्थिती नै जनाइनन् भने चौधौं अधिवेशनको ३५ वटा बैठकमा एउटा बैठकमा हाजिरी गरेको प्रदेश सभा सचिवालयले जनाएको छ।

संसद्ीय यात्रा सुरु भएपछिको बैठकहरूमा ‘उत्साहपूर्ण सहभागिता’ जनाएको बताउने सांसद खड्की गर्भवती भएपछि सदनमा उपस्थित हुन नपाएको बताउँछिन्।

‘बावु अब ६ महिनाको भयो। बावु लिएरै भएपनि अब बस्ने बैठकमा उपसि्थती जनाउँछु,’ उनले भनिन्।

सांसद खड्की हाल ६ महिनाको सुत्केरी बिदामा रहेको प्रदेश सभाका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए।

खड्की पछि सदनमा न्यून उपस्थित हुने सांसदको सूचीमा छन् कांग्रेसका सांसद कञ्चनचन्द्र वादे। काभ्रेको निर्वाचन क्षेत्र २(२) बाट प्रत्यक्ष निर्वाचित सांसद वादे सदनमा उपस्थिती जनाउनतर्फ चासो नदिने सांसदकै सूचीमा छन्।

हालसम्म सम्पन्न भएका ९७ वटा बैठकमा उनले ३६ वटा बैठकमा मात्रै उपस्थिती जनाएका छन्। प्रदेश सभा सचिवालयका अनुसार वादेले एघारौं अधिवेशनमा सम्पन्न १८ वटा बैठकमध्ये ६ वटा बैठकमा मात्रै उपस्थित भएका छन् भने बाह्रौं अधिवेशनको ३८ वटा बैठकमा २०, तेह्रौं अधिवेशनमा सम्पन्न ६ वटा बैठकमा एक र चौधौं अधिवेशनमा सम्पन्न ३५ वटा बैठकमा ९ वटा बैठकमा मात्रै उपस्थिती जनाएका छन्।

यस्तै, राप्रपाका सांसद राजेन्द्र प्रजापति पनि न्यून उपस्थिती जनाउने सांसदको सूचीमा छन्। प्रजापति कुल ९७ वटा बैठकमध्ये ४२ वटा बैठकमा मात्रै उपस्थित जनाएको संसद् सचिवालयको हाजिरीमा उल्लेख छ।

काठमाडौं निर्वाचन क्षेत्र ५(१) बाट निर्वाचित सांसद प्रजापति एघारौं अधिवेशनका १८ वटा बैठकमध्ये १४ वटा बैठकमा उपस्थित भएका थिए। बाह्रौं अधिवेशनमा सम्पन्न ३८ वटा बैठकमध्ये १५ वटा बैठकमा उपस्थिती जनाएका उनले तेह्रौं अधिवेशनको ६ वटा बैठकमध्ये ३ र चौधौं अधिवेशनमा सम्पन्न ३५ वटा बैठकमध्ये १० वटा बैठकमा उपस्थिती जनाएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ।

११० सांसदमध्ये सदनमा न्यून उपस्थिती जनाउने सांसदको पाँचौ नम्बरको सूचीमा छन् कांग्रेस बागमती प्रदेश सभापति समेत रहेका सांसद ईन्द्रबहादुर बानियाँ।मकवानपुरको निर्वाचन क्षेत्र २(२) बाट प्रत्यक्ष निर्वाचित सांसद बानियाँ पनि सदनमा न्यून उपस्थिती जनाउने सांसदको सूचीमा परेका हुन्।

दोस्रो कार्यकालमा हालसम्म सम्पन्न ९७ वटा बैठकमध्ये बानियाँले ४४ वटा बैठकमा मात्रै उपस्थित जनाएको संसद् सचिवालयको हाजिरीमा उल्लेख छ। सांसद बानियाँ एघारौं अधिवेशनका १८ वटा बैठकमध्ये १३ वटा बैठकमा उपस्थित भएका छन्।

यस्तै, बाह्रौं अधिवेशनमा सम्पन्न ३८ वटा बैठकमध्ये १४ वटा बैठकमा उपस्थिती जनाएका उनले तेह्रौं अधिवेशनका ६ वटा बैठकमध्ये १ र चौधौं अधिवेशनमा सम्पन्न ३५ वटा बैठकमध्ये १६ वटा बैठकमा उपस्थिती जनाएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ।

प्रदेशको राजधानी समेत रहेको मकवानपुरकै सांसद सदनमा न्यून उपस्थित भएको पाइएको हो।

सांसद बानियाँले ९७ वटा बैठकमध्ये आधाभन्दा कम बैठकमा मात्रै उपस्थित हुनुको कारण ‘खास केही नभएको’ प्रतिक्रिया दिए। उनले भ्याएसम्म सबै बैठकमा उपस्थित हुने प्रयास गरेपनि नसकिएको बताए।

६० दिन बसेको प्रदेश सभा बैठकमा ९७ वटा बैठक बसेको हो भने १ सय १७ घण्टा ५० मिनेट बैठक बसेको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .