नारायणगढ-मुग्लिन सडकअन्तर्गत चितवनको घुमाउनेमा आज (आइतबार) बिहान बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।
महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुप्रप्र ०२–००१ ख १३३२ नम्बरको बस बिहान ७:१५ बजे भरतपुर महानगरपालिका-२९, घुमाउनेमा दुर्घटना भएको हो।
बस आफैँ अनियन्त्रित भई सडकको डिभाइडरमा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी भेषराज रिजालले जानकारी दिए।
उनका अनुसार सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको छ।
दुर्घटनामा घाइते १७ जनालाई उपचारका लागि भरतपुर पठाइएको रिजालले बताए।
घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।
घाइते नभएका यात्रुलाई अन्य बसमा काठमाडौँ पठाइएको छ।
अहिले नारायणगढ-मुग्लिन सडकखण्ड दुइतर्फी नै खुलिसकेको डीएसपी रिजालले बताए।
4.5k
Shares
प्रतिक्रिया