ad ad

बागमती


बागमतीको मुख्यमन्त्री राप्रपाले लिन्छ, अरु एमाले-माओवादीले मिलाउँछन् : नेता थापा

बागमतीको मुख्यमन्त्री राप्रपाले लिन्छ, अरु एमाले-माओवादीले मिलाउँछन् : नेता थापा

बागमती प्रदेशमा राप्रपा दलका नेता उद्धव थापा। तस्बिर : नेपालखबर


नेपालखबर
पुस २४, २०७९ आइतबार १९:२०, हेटौँडा

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले उक्त प्रदेशको मुख्यमन्त्री आफूहरुले पाउनेमा ढुक्क रहेको बताएका छन्। 

आइतवार नेपालखबरसँगको कुराकानीमा थापाले अब बागमती प्रदेशको मुख्यमन्त्री राप्रपाबाट हुनेमा केही समय मात्रै बाँकी रहेको बताएका हुन्। 

उनले सात प्रदेशमध्ये एक प्रदेशको मुख्यमन्त्री पाउने सर्तअनुसार बागमतीमा दाबी गरिरहेको बताए। त्यहीकारण यहाँको नेतृत्वो राप्रपाले पाउनेमा दुईमत नरहेको थापाले बताए। 

‘सरकार गठनको पूर्वसन्ध्यामा छौँ। जसका लागि शीर्षतहमा छलफल जारी छ', उनले भने, 'र, मलाई यो पनि थाहा छ परिणाम राप्रपाको पोल्टामा पर्छ।’

बागमतीमा सरकार गठनका लागि निर्णायक भूमिकामा राप्रपा रहेको छ। त्यहीकारण मुख्यमन्त्री दिएर अन्य भागवण्डा नेकपा एमाले र माओवादी केन्द्रले मिलाउने उनले बताए। 

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलसँगको सहकार्यमा बहुमत प्राप्त नेताले सरकार गठनका लागि भोलि सोमबार दिउँसो ४ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका छन्। 

त्यसैकारण सत्ता गठबन्धनका संसदीय दलका नेताहरु सरकार गठनको पूर्वसन्ध्यामा छलफलमा छन्। 

११० सदस्यीय बागमती प्रदेशमा सरकार गठन गर्न सामान्य बहुमतका लागि कम्तीमा ५६ जना सांसद आवश्यक हुन्छ। 

बागमती प्रदेशसभामा सबैभन्दा ठूलो नेपाली कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .