ad ad

बागमती


काठमाडौँ उपत्यकामा आज यो वर्ष हालसम्मकै चिसो

काठमाडौँ उपत्यकामा आज यो वर्ष हालसम्मकै चिसो

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
पुस ५, २०८० बिहिबार ६:४४, काठमाडौँ

काठमाडौँ उपत्यकामा आज (बिहीबार) यो वर्षअन्तर्गत अहिलेसम्मकै चिसो भएको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियसमा झरेको हो। 

‘यो न्यूनतम तापक्रम यो वर्षको हालसम्मकै कम हो’, उनले भने। 

यद्यपि आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८४५ बजे आउने उनले बताए। ‘त्यतिबेला अझ केही प्वइन्ट घट्छ कि’, उनले भने। 

हिजो बुधबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो भने यसअघि योभन्दा माथि थियो।  

यस्तै आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसभित्र रहने अनुमान रहेको मौसमविद् अधिकारीले बताए। 

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ भित्र न्यूनतम तथा साँझ ५:४५ भित्र अधिकतम तापक्रम मापन गरिन्छ।  

देशभरकै तापक्रम दिनप्रतिदिन ओरालो लाग्ने क्रम जारी रहेको मौसमविद्ले बताएका छन्। 

मौसमविद् अधिकारीका अनुसार काठमाडौँ उपत्यकामा अहिले हुस्सु पनि लागिरहेको छ। ‘उपत्यकामा बिहान ५ बजेदेखि हुस्सु लागिरहेको हो’, उनले भने, ‘अहिले यहाँको भिजिबिलिटी (पारदर्शिता) ५ किलोमिटर छ, अझै हुस्सु बढेर भिजिबिलिटी घट्ने सम्भावना छ।’

मौसमविद् अधिकारीका अनुसार बिहान ९ बजेदेखि भने घाम लाग्ने र हुस्सु हट्दै जाने सम्भावना छ। 

यतिबेला काठमाडौँ उपत्यकाको मौसम आंशिक बदलीको अवस्थामा रहेको मौसमविद् अधिकारीले बताए।

‘माथि-माथि अलि-अलि बादल लागेको छ, तर यो पानी पार्ने खालको बादल होइन’, उनले भने, ‘आज दिनभर काठमाडौँ उपत्यकाको मौसम आंशिक बदलीकै अवस्थामा रहने अनुमान छ।’ मौसम आंशिक बदली हुँदा घाम लाग्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .