चिसो बढेसँगै काठमाडौँ उपत्यकाको तापक्रम पनि घटेको छ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा उपत्यकाको न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस छ। अहिले बिहान ८:४५ बजे पुनः मापन गरिनेछ, त्यतिबेला न्यूनतम तापक्रम अझ घट्न सक्ने उनले बताइन्।
आइतबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.१ डिग्री सेल्सियस थियो।
आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको मौसमविद् मानन्धरले बताइन्। आइतबार उपत्यकाको अधिकतम तापक्रम १७ डिग्री सेल्सियस थियो।
२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ।
मौसमविद् मानन्धरका अनुसार आज काठमाडौँ उपत्यकाको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने सम्भावना छ। अर्थात् आकाशमा अलि अलि बादल देखि पनि घाम लाग्नेछ।
Shares
प्रतिक्रिया