ह्वाइट लोटस मोटर्सले प्योर ईभी ब्रान्डका भारतीय विद्युतीय स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ।
प्योर ईभी भारतको हैदरावादस्थित विद्युतीय सवारीसाधन उत्पादक आईआईटी हैदरवादको ब्रान्ड हो। यही ब्रान्डको ईप्लुटो ७जी र नयाँ मोडलको इट्रान्स निओ स्कुटर नेपालमा सार्वजनिक गरिएको हो।
नयाँ पुस्ताको ईस्कुटरलाई आईक्याटले गुणस्तरलगायतका कुरामा प्रमाणीकरण गरेको बताइएको छ। नेपाली सडक अवस्था र उपभोक्तालाई लक्षित गरी कम्पनीले यी दुई मोडलका विद्युतीय स्कुटर ल्याएको हो।
ईप्लुटो ७जी पूर्ण विद्युतीय स्कुटर हो। यसमा २२ सय वाटको मोटर र हटाउन मिल्ने ६०भी ४०एएच लिथियम आयन ब्याट्री रहेको छ। यो ब्याट्री पूर्ण चार्ज हुने साढे ३ घण्टा लाग्छ भने प्रतिघण्टा ६० किमि गतिमा स्कुटर गुड्छ। एकपटकको चार्जले ११६ किमि गुडाउन मिल्ने कम्पनीले जनाएको छ।
त्यस्तै ईट्रान्स निओ भर्खरै भारतमा सार्वजनिक भएको थियो। त्यसलगत्तै नेपालमा पनि सार्वजनिक गरिएको हो। इट्रान्स निओ नयाँ मोडलको स्कुटर हो। यसमा २२ सय वाट माटर, हटाउन मिल्ने ६०भी ४०एएचको लिथियम आयन ब्याट्री रहेको छ। यसको पनि चार्जिङ समय साढे ३ घण्टा हो भने प्रतिघण्टा गति ६० किमि छ। एकपटकको चार्जमा यो स्कुटर ११६ किमिसम्म पुग्न सक्छ।
पेट्रोल स्कुटरको तुलनामा एक जनाले यो स्कुटर प्रयोग गर्दा ५० हजार हाराहारीमा बचत गर्नसक्ने कम्पनीको दाबी छ। साथै विद्युतीय स्कुटर भएकोले वातावरण प्रदूषण नहुने बताइएको छ।
ह्वाइट लोटस मोटर्सका प्रबन्धनिर्देशक अशोक खड्गीले इलेक्ट्रिक टु ह्विलर उद्योग छोटो समयमै नेपालमा प्रभाव छोड्न सफल भएको बताए। उनले नयाँ प्रविधिमा रुपान्तरित हुने र ऊर्जा खपतका लागि पनि जोड दिइरहेको परिप्रेक्ष्यमा प्योर ईभीले त्यसको समाधान दिने बताए।
प्रतिक्रिया