अरुको बारेमा धेरै लेखेँ। अलि डर, अलि लाज र संकोचसहित म आज आफनै बारेमा लेख्न खोजिरहेको छु। आफनै बारेमा के भन्नु! खासमा ‘पात्रहरु’का बारेमा।
‘पात्रहरु’, एक साताअघि काठमाडौंमा सार्वजजिक भएको मेरो किताब।
किताब त भनेँ तर किताब कस्तो हुनुपर्छ, के लेख्दा किताब हुन्छ, मलाई थाहा छैन।
जब म केही लेख्न बस्छु, म सिर्फ टाइपिस्टजस्तो मात्र हुन्छु। म त्यही टाइप गर्छु, जो मलाई मेरो तत्क्षणको चेतना र भावले निर्देश गर्छ। म मेरो चेत र भावको कारिन्दा हुँ, दास हुँ।
जब म लेख्न बस्छु, यस्तो लाग्छ, मेरा औँलाहरुमा कसैको नियन्त्रण छ र मलाई कुनै अदृश्य शक्तिले यो यो अक्षरमा थिच्नु भनिरहेको छ।
यस्तो कमजोर पात्र म आफूलाई कसरी लेखक भनुँ?
म खासमा लेखक होइन।
तैपनि कसोकसो ‘पात्रहरु’ जन्म्यो। किताबहरुको यो विराट संसारमा ‘पात्रहरु’ प्रकट भएपछि अनेक खालका टिप्पणी र प्रतिक्रियाहरु आइरहेका छन्। धेरैजसोलाई लागेको छ– लेखिएका सबै कुरा र प्रसंग, मेरा जीवनका यथार्थहहरु हुन्। यसो मात्र होइन है। घटना र विवरण, ती पेटबोलीका सामान्य उदाहरण मात्र हुन्, जसमा अलिकति चिनी घोलिएको छ, विचारको चियालाई मिठो बनाउन।
मिठो भयो कि भएन? पढनेहरुले भनिदिनु होला। कर गर्न मलाई उत्तिसारो मन लाग्दैन। संगीत, सिनेमा, किताब र स्वादमा अर्काको करको कुनै अर्थ छैन। म कर गर्दिनँ।
‘पात्रहरु’मा मैले जे लेखेको छु, ती मेरो जिन्दगीका अराजक र छरपष्ट चिन्तनहरु हुन्। यसको बेवास्ता गर्ने, वाहियात रहेछ भनेर पन्छाउने वा ठिकै लाग्यो भन्ने भरपुर छुट छ पाठकहरुलाई।
मेरो चेतनाको नियन्त्रणमा म त छैन, तपाईंहरुलाई मेरो चेतनाको नियन्त्रणमा आउन भनेर कसरी भन्न सक्छु र?
जसरी हाम्रो जीवन सूत्रबद्ध छैन, त्यसरी नै ‘पात्रहरु’ पनि उतिसारो सूत्रबद्ध छैन।
जसोजसो बाटो जान्छ, त्यसैत्यसै म हिँडेको छु, पात्रहरुमा। बाटोलाई म हिँडाउँछु भन्ने भ्रम ममा छैन। म बाटोमा हिँडेको छु। जसोजसो बाटो, त्यसैत्यसै स्वाहा (हिँडाइ)।
म पात्र लिएर, प्लट बनाएर लेख्न बसेको होइन। म त पात्रहरुको खोजीमा निस्केको मान्छे। अक्सर आख्यान वा गैरआख्यान पहिले नै पात्रहरु तय गरेर, तिनै पात्रहरुका लागि प्लट बनाएर र केही नाटकीय रुप दिइएर लेखिएका हुन्छन्। ‘पात्रहरु’ त्यस्तो किताब होइन। पात्रहरु पात्रहरुकै खोजी हो। यसमा पात्रहरु छिटो छिटो आफैँ आउँछन् र हराउँछन् पनि। यसमा कुनै नाटकीयता छैन। कुनै बनिबनाउ प्लट छैन। हिँड्दाहिँड्दै जेजस्ता मान्छेहरु भेटिए जिन्दगीमा, तिनै मान्छेहरुको कुरा गरेको छु मैले। तिनै मान्छेसँगको संगत, तिनै मान्छेका सोच र भोगाइलाई उतार्न कोसिस गरेको छु। पात्रहरुमा मेरा र अरुका चेतना र भावलाई जित्ने लाख कोसिस गरेँ, अहँ सकिनँ।
खासमा म मान्छेका चेतना र भावसँग हारेको मान्छे हुँ।
तैपनि यो किताबमा जबरजस्ती एउटा निष्कर्ष दिने धृष्टता गरेको छु। कतै हारेको देखिएँ भने मलाई सहानभुति दिनु होला। मलाई हार्नदेखि डरभन्दा पनि चेतना र भावसँग खेलिरहन बढ्ता मन लाग्छ।
एउटा खेल खेलेँ।
अहिलेलाई यत्ति मात्र भनुँ– भौतिक रुपमा यो ब्रम्हाण्डमा जेजस्ता परिवर्तनहरु भए र हुँदै जालान्, त्यो भन्दा पनि हाम्रो चेत र जीवनप्रतिको दृष्टिकोणमा हामी जहाँको त्यहीँ छौँ। र, रहिरहने छौँ। हाम्रो अर्थात् मान्छेको रिस उही, खुसी उही, आक्रोश उही, निराशा उही, जिज्ञासाहरु उस्तै, द्विविधाहरु उस्तै, पीडा उस्तै, ज्वरो उस्तै। हामी भोगाइमा मात्र फरक छौँ, इन्द्रीय र तिनले अनुभूत गर्ने चेत उही हो।
हो, ‘पात्रहरु’मा म त्यही चेतको कुरा गरिरहेको छु।
खासमा ‘पात्रहरु’लाई म जीवन लेखन भन्न रुचाउँछु। कताकति आत्मकथाजस्तो लाग्ने यो किताब खासमा आत्माहरुको कथा हो। अनेक ठाउँ, समय र सन्दर्भहरुमा भेटिएका पात्रहरुका भोगाइ, शैली र व्यवहारहरुमार्फत जीवनको अर्थ खोज्ने प्रयास हो। जसले यो किताबको अन्तिम पानाहरुसम्म धैर्यसाथ पढ्न सक्छ, म निश्चितताका साथ भन्न सक्छु, कतै न कतै उ बिथोलिने छ। चिन्तन गर्न छोडेका मान्छेलाई बिथोल्नै मैले यो किताब लेखेको हुँ। मान्छे जबसम्म चेतनाको तहमा बिथोलिँदैन, तबसम्म गहिरिएर सोच्दैन पनि। गहिरिएर नसोचेसम्म जीवन बँचाइका आधारहरु भेटिँदैनन्। जानेको भनी ठान्ने र नजानेका भनिने मान्छे र ती मान्छे बाँचेका आधारहरु के होलान् भनेर खोजेको छु किताबका अन्तिम पानाहरुमा।
कसैलाई जिन्दगीका हिसाबकिताब बुझ्न रहर छ भने मात्र ‘पात्रहरु’ पढ्नु होला। जिन्दगी बुझ्ने रहर नहुनेहरुका लागि यो म बेकारको चिज लेखिरहेको छु, कृपया मलाइ माफ गर्नुहोला।
Shares
प्रतिक्रिया