केही दिनअघि मात्र अस्पतालबाट बच्चा चोर्न बाध्य पारिएकी महिलाको समाचारले सामाजिक सञ्जाल भरिएको थियो। मान्छेहरूले आ-आफ्नो मनस्थिति अनुसारका धारणा बनाउँदै थिए। कुरा राख्दै थिए। मेरो मन भने आफैँले भोगेका केही सामाजिक घटनाहरूबाट तरङ्गित भइरहेको थियो। मेरो परिवारलाई नजानिँदो पारामा दिइएको मानसिक तनाव पुनः महसुस गर्दै थिएँ।
करिब ६ वर्षअघि हाम्री एक मात्र छोरी जन्मी सकेकी थिइनन्। प्रत्येक दोस्रो मानिसले हाम्रो चिन्ता व्यक्त गरे झैँ गरी सन्तानको बारेमा सोध्ने गर्थ्यो। हामीले पनि योजना नै नबनाएको भने होइन। तर योजना बनाउनु र त्यसलाई कार्यान्वयन गर्नुमा फरक छ। आर्थिक अवस्थाका कारण हामी सन्तानको योजनालाई कार्यान्वयन गर्नमा ढिलाइ गरिरहेका थियौँ।
तर, नजिकका या भेटेका अधिकांश व्यक्ति हाम्रो सन्तानको पर्खाइमा थिए। मानौँ, हामीले विवाह गरेर सन्तान जन्माउने वचन उनीहरूलाई दिएका थियौँ। देशको जनसङ्ख्या बढाउने सम्पूर्ण जिम्मेवारी लिएका थियौँ।
यसरी चौतर्फी दबाब सिर्जना हुँदै गएपछि अन्ततः योजना कार्यान्वयन गर्नै पर्ने मनस्थितिमा पुगियो। अब यहाँ आउँछ अर्को दबाब। हामीलाई पहिलो या सम्भवतः एक मात्र सन्तानको रूपमा छोरी पाउने चाहना थियो। तर ‘पहिलो सन्तान त छोरा नै पाउनुपर्छ’, ’कुललाई अघि बढाउने त चाहियो नि’, ’छोरा भनेको छोरै हो’...आदि इत्यादि सल्लाह तथा सुझाव आउन थाले।
कति हामीसँग बाझे, कतिसँग हामी बोल्न छोड्यौँ। यस्तो दैनिकीले मन खिन्न बनायो नै उनीहरूको मनोदशाप्रति पनि हैरान भइयो। यता हामी छोरीलाई भित्र्याउन के-के गर्न सकिन्छ भन्ने विचार गरिरहेका थियौँ। चाइनिज क्यालेन्डरदेखि देवीका द्वारसम्म पुगिरहेका थियौँ। उता समाजले हाम्रो गर्भको लिङ्ग निर्धारण गरिरहेको थियो। माग गरिरहेको थियो। कुनै एक समयमा पुगेर गर्भवती श्रीमतीजीले छोरा नै भए उचित होला कि भन्ने पनि सोच्न थालिन्। मानसिक तनाव भएरै होला हामीले पहिलो सन्तानलाई जन्म दिन सकेनौँ। चिकित्सकको भाषामा भन्दा हाम्रो पहिलो सन्तान मिस्क्यारेज भयो। उनी हारिन्। म हारेँ। हामी हार्यौँ।
मलाई आज पनि याद छ त्यो दिन। अस्पतालमा भएका डाक्टरले यो खबर सुनाउँदा हामी नि:शब्द भएका थियौँ। श्रीमतीजीले बरर आँसु खसाइरहेकी थिइन्। मेरा हातखुट्टा लुला भइरहेका थिए। अवस्थालाई कसरी सम्हाल्ने भन्ने भेउ पाइरहेको थिइनँ। यो खबर असत्य भइदिए हुन्थ्यो भन्ने अभिलाषा सहित उनी डाक्टरलाई हात जोड्दै आँसु खसाउँदै थिइन्। सन्तान गुमाउनुको पीडा त छँदै थियो यसपछि समाजले लगाउन सक्ने लाञ्छना पनि सायद उनले कल्पना गरिरहेकी थिइन्। मेरो पैताला मुनिबाट जमिन हराइसकेको थियो। हामी दुवै होसमा थिएनौँ। तर उपाय पनि त केही थिएन। हुने कुरा भएरै छोड्यो। एक साँझ क्युरेड गरेर उनको पाठेघर सफा गरियो। रोइयो। मन भारी बनाएर घर फर्किइयो।
त्यसपछि नजिकका मान्छे भनाउँदाहरूको अर्को सेसन सुरु भयो। ‘यसले त सन्तानलाई जन्म दिन नसक्ने रहिछे’, ’यसले त जन्माउन नसक्ने रहिछे’ भन्ने खालका अभिव्यक्ति हामीले पारिवारिक भेटघाटमा सुन्न थाल्यौँ। यस्ता कुरालाई मैले पनि नजरअन्दाज गर्न सकिनँ, उनले पनि गर्न सकिन् जस्तो लाग्दैन। निकै नजिकका मान्छेहरूले केही नसोची यस्ता अभिव्यक्ति खुल्लमखुल्ला दिन थालेपछि हामी टुक्रिन थाल्यौँ। घरमा कलह पनि बढ्यो। तर, हामी एक अर्कालाई दोष दिनतिर लागेनौँ। बरु उनीहरूबाट दूरी बनायौँ। टाढा रह्यौँ।
जिन्दगी अघि बढाउनु थियो। हामीलाई पनि एक सन्तानको अभिलाषा थियो। त्यसैले सारा दुःख भुलेर पुनः अर्को सन्तानको तयारीमा हामी लाग्यौँ। यसपालि हामी सतर्क थियौँ। उनको स्वास्थ्यको उचित ख्याल मैले राखिरहेको थिएँ भने डाक्टरसँग हरेक हप्ता परामर्श लिइरहेका थियौँ। समय बित्दै गयो र उनी फेरी गर्भवती भइन्। उनलाई तत्काल गर्भवती बनाउनमा जति मेरो हात थियो त्यसभन्दा बढी नानाथरी भन्नेहरूको थियो। समाजको थियो। ती वचनहरू बाण सामान भएर उनलाई घोचिरहेको थियो। यसपालि पनि ‘छोरा नै चाहिन्छ’ भन्नेहरूको कमी भएन। तर छोरी नै हुन्छ भन्नेमा विश्वस्त थियौँ।
समाजका अनेक रूप देखेपछि हामीले अस्पतालमा छोरीलाई जन्म दियौँ। हामी खुसी भयौँ। तर, समाज खुसी भएन। छोरी जन्मिएको थाहा पाएपछि क्रान्तिकारी विचारधारा राख्ने एक साथीले समेत मलाई ‘चिन्ता नलिई छोराछोरी बराबर हुन्’ भन्यो। म छाँगाबाट खसे झैँ भएँ। आखिर उसले मलाई बधाई दिनुको साटो किन यस्तो भन्यो होला भन्ने कुराले निकै समयसम्म मेरो दिमाग खराब गरिरह्यो। मलाई उकुसमुकुस नै भयो।
छोरीलाई हामीले आफ्नो सामर्थ्यले भ्याए अनुसार यस संसारमा स्वागत गर्यौँ। तर, समाजले अर्को प्रश्न तेर्स्यायो ‘अब अर्को कहिले पाउने?’
खासमा उनीहरूले सोधेको प्रश्नको तात्पर्य ‘छोरी त पाउनुभयो अब छोरा कहिले पाउने?’ नै हो। बाटोमा हालचाल सोध्ने क्रममा पनि प्रायजसो हामीलाई अर्को सन्तानको लागि सल्लाह सुझाव दिन्छन्। पहिला सन्तान मात्र भए हुने समाजलाई छोरा पनि चाहिएकै छ। हाम्रो दागबत्तीको चिन्ता छ।
यसरी समाजले मानसिक रूपमा जागिर खान, विवाह गर्न, सन्तान जन्माउन या छोरा जन्माउन दबाब सिर्जना गर्दै गर्दा तपाईँ के जवाफ दिनुहुन्छ?
Shares
प्रतिक्रिया