ad ad

ब्लग


यसपालिको साउन र कोटीहोमले छाडेर गएको सवाल

छोरीबुहारी ठेगान लाउन सिकाउने कथावाचकहरूले संविधान पनि पढून्
यसपालिको साउन र कोटीहोमले छाडेर गएको सवाल

शोबिता रिसाल
भदौ १, २०८१ शनिबार १७:३१, काठमाडौँ

यो वर्षको साउन सकियो। साउनसँगै सकियो, हरियो चुराका कुरा। मेहन्दी र हरियो सारी नलाउने अवगुणी कि संस्कारी? अब लगभग वर्षदिन यसमा बहस हुँदैन। कुरा उठ्दैन, उठाइँदैन। किनकि हामी मौसमी छौँ। अब हामीलाई यसपछिका चाडबाड र मौसमहरूमा केन्द्रित हुनु छ। मैले पनि साउनको कुरा गर्न खोजेको होइन, हरिया, पहेँला चुरा र रातो सारीको पनि होइन। 

कुरा हो, साउनको छेको पारेर पशुपतिमा आयोजना गरिएको कोटीहोमको। साउन सकिएसँगै कोटीहोम पनि सकियो। तर कोटीहोमले केही विषयहरू भने छोडेर गएको छ। जसलाई चटक्कै छोड्न सकिँदैन। बिर्सनु पनि हुँदैन। 

हुन त यसअघि पनि देशमा यस्ता कयौँ महायज्ञहरू भएका थिए। भागवतका कथावाचन कयौँ पटक गरिए होलान्। राम चरित्रको व्याख्या पनि पटकपटक भयो होला। कृष्णको महिमागान गाइएको थियो होला। रामायणका श्लोकहरूलाई आफूखुसी अर्थ लगाइयो होला। विभिन्न पुराणको पाठ परायण चलेको थियो होला। होला, किनभने हप्तौँ चल्ने यस्ता यज्ञ/महायज्ञमा मैले आजसम्म भाग लिइनँ। मौका जुरेन। 

तर पशुपतिको आँगनमा भएको महायज्ञ, यहाँ आएका कथावाचकहरू र उनीहरूले प्रस्तुत गरेका किस्साहरूका कारण चासोयोग्य बन्यो। भर्खरै सम्पन्न कोटीहोमलाई लिएर विभिन्न कोणबाट बहस भएको छ। मलाई अरु कोणतिर प्रवेश गर्नु छैन। तर महायज्ञको व्यासासनमा बसेका महिलाहरूले महिलाकै चरित्रमा प्रश्न उठाउँदै छोरी/बुहारीलाई कसरी ठेगान लाउने भन्ने बारे पाठ घोकाए, जस्तोसुकै परिस्थितिमा पनि पतिव्रता भइरहनुपर्छ भनेर सिकाए, त्यसपछि लाग्यो– यसको चिरफार नगरे सचेत नागरिक हुनुको के अर्थ? 

भारतलाई कर्मथलो बनाएकी देवी प्रतिभाले सम्बन्धविच्छेद (डिभोर्स) लाई केवल मान्छेहरूले बनाएको नियमको संज्ञा दिइन्। 

‘सनातन हिन्दु धर्मको शास्त्र अध्ययन गर्नुभयो भने,’ उनले भनिन्, ‘संस्कृतमा डिभोर्स भन्ने शब्द नै छैन। शास्त्रमा कतै पनि डिभोर्स भन्ने उल्लेख भएको छैन। विवाह संस्कार भएपछि पतिमा एउटै राम्रो गुण नभए पनि पति हो भने त पति नै हो।’ 

उनले यसो भन्दै गर्दा महिलाहरूले परर ताली बजाए। महिलाहरूले ठोकेको तालीले चिन्ता दिएको होइन, उनको भनाइले मात्रै पनि पीर लागेको होइन, पति जे जस्तो भए पनि हेपिएर, पेलिएर, दबिएर, आँसु पिएर, के गरेर हुन्छ साथमै बस भन्दा पनि मुस्कुराउँदै ताली बजाउने महिलाहरूको जमात देखेर उदेक लागेको हो। 

महिला मुक्ति र स्वतन्त्रताको खातिर हजारौँले रगत पसिना बगाएर ल्याएको यो व्यवस्था, संविधान र कानुन कार्यान्वयनमा आउन सक्ने कष्ट सम्झिएर मन दुखेको हो। महिला समानताको खोजीमा भएका कयौँ आन्दोलन, हिंसा, बहस र लगानी पानीमा नै मिसिएला कि भन्ने भय मात्रै हो। आमा, हजुरआमाहरूले भोगेको समाजको चरित्र फर्किएला कि भन्ने त्रासले आवाज उठाउनु परेको हो। 

समाज परिवर्तनशील छ। नभए बनाउनुपर्छ। वर्तमानको अवस्था र आवश्यकता हेरेर कानुनहरू बनाइने हुन्। अनि समाज कानुनले चल्ने हो। धर्म आस्था हो। परम्परा, विश्वास हो। सबै परम्परा विश्वासयोग्य हुँदैनन्। विश्वासयोग्य नभएका परम्परालाई बदल्दै जाने हो। फेर्दै लैजाने हो। कानुनको सहायतामा। प्रगतिशील मार्गमा हिँड्दै गरेको भने पनि नेपाली समाज मझधारमै छ। बोलीमा जमाना बदलियो, अब कानुन बमोजिम चल्नुपर्छ भन्नेहरूको व्यवहार पनि उही प्रथा परम्परा र अन्धविश्वासबाट निर्देशित छ। 

यस्तो अवस्थाबाट समाजलाई पार लगाउन कानुनका सारभूत प्रावधानहरू बुझाउँदै मानव अधिकार र स्वतन्त्रताको आवश्यकता सिकाउन जरुरी छ, मानवीयता बुझाउन आवश्यक छ, नकि पुरातनवादी अभ्यासहरू। देवी प्रतिभाले शास्त्रको हवला दिँदै विवाहबारे जे जति व्याख्या गरिन्, त्यो वर्तमान समाजको लागि गलत थियो। उनी त आफ्नो कर्म सकिन्, आफ्नै कर्मभूमि फर्किइन्। उनलाई न नेपाली समाजको बारेमा गहिरो ज्ञान छ, न त नेपालको कानुनबारे नै। 

तर अचम्म त त्यतिबेला लाग्यो जब पूर्वराज्यमन्त्री समेत भइसकेकी संविधान निर्माणको प्रक्रियामा सहभागी सभासद डा. कान्ता भट्टराईले छोरी तह लगाउने सूत्र सिकाइन्। कम्तीमा हिजोआजको समयमा बुहारी बनेका र बन्दै गरेका हर छोरीहरू शिक्षित छन्। आमाको ममता बुझेका छन्। सासूआमाप्रतिको कर्तव्य जानेका छन्। यो समयका बुवाआमा र परिवारले आफ्नो छोरीलाई भ्याएसम्मको असल शिक्षा दिएका छन्। मर्यादित संस्कार बुझाएका छन्। कुनै पनि आमाबुवाले आफ्नो आमालाई माया गर्नु श्रीमानको आमालाई नगरे पनि हुन्छ भन्दैनन् होला। बरु कयौँ त्यस्ता आमाहरू देखेको छु, जसले ‘बरु हामीलाई नगरेपनि हुन्छ सासू/ससुरालाई गरी पुर्‍याउनू’ भन्ने गर्छन्। 

भट्टराईले रामायण र सीताको कथा प्रसङ्ग निकालेर सेवही सेवही अर्थात् सबैको सेवा गर्नुपर्छ भन्ने मान्यतालाई जोड्दै हिजोआज सेवा गर्नेहरू नभएका, एउटी भएकी सासूलाई समेत सेवा गर्न नजान्ने बुहारीहरू बढेका भन्दै बुहारीको दोहोलो काढिन्। 

सबैको सेवा गर्नुपर्ने कुरा सत्य हो। तर आफूलाई नै रित्याएर कसले अरुको सेवा गरेर बस्छ? यदि कुनै पनि शास्त्रले आफ्नो अस्तित्व नै मेटाएर, आफैँलाई सकाएर अरुको सेवा गर्नु भनेको छ भने त्यो संस्कार भयो कि कुसंस्कार? त्यसलाई सुधार गर्दै जाने कि झन् बढाउँदै? 

प्रेमका कारण विवाह हुने हो। अर्को हिसाबले, विवाहपछि प्रेम होला कि भनेर हो विवाह गर्ने। भइरहेको जीवनलाई अझै परिष्कृत र सुन्दर बनाउन विवाह गर्ने हो। कसैको बोझ हुन होइन, अनि कसैको बोझ थाप्न पनि होइन। 

माइतीमा फूलजसरी कोमल भएर हुर्किएकी, छोराछोरी समान हुन् भनेर सिकेकी, आमा र बुवाको समान पारिवारिक दायित्व बुझेकी छोरीले कसैसँग बिहे गरी भन्नेबित्तिकै अर्काको घरको बोझ थाप्लोमा किन बोक्छे? माइतीमा खान नपरेको घर, लोग्नेको घर जानेबित्तिकै किन खानुपर्‍यो? माइतीमा सिकेको असल व्यवहारलाई अर्काको घरमा गएर संस्कारको कसीमा किन परिवर्तन गर्नुपर्‍यो? छोरीहरू दास त होइनन् नि! कि छोरीहरूले एकै किसिमको जीवन बाँच्न पाउँदैनन्? आफ्नो घरमा एकथरी र लोग्नेको घरमा गएर अर्कोथरी चोला फेर्नुपर्ने हो? 

अनि छोरीलाई घर खान सिकाउनुपर्छ भने सँगै हुर्किरहेको छोरालाई चाहिँ घर खान, परिवार रिझाउन सिकाउनु पर्दैन? आमा, छोरी र बुहारीको बारेमा चर्को स्वर निकाल्न सक्नेले किन छोराको बारेमा मधुरो आवाजमा समेत केही भन्न सक्दैनन्? 

आफ्नो छोरीलाई कति पुलपुल्याउने, अरु कसैले निर्धारण गरिदिने विषय होइन। अर्काकी छोरीलाई उनीहरूले जतिसुकै लाडप्यारमा राखेर हुर्काऊन्, त्यो दोस्रो व्यक्तिको चासोको कुरा होइन, चाहे व्यक्ति होस् कि कुनै शास्त्र। अनि, नयाँ घरका मान्छेलाई रिझाउन पठाउने कुनै भौतिक वस्तु होइनन् छोरीहरू। 

कथा भन्ने क्रममा उनले त अझै छोरी बिगार्नुमा आमाकै हात छ समेत भन्न भ्याइन्। यसले त के बुझियो भने छोरीहरू अटेरी भइरहेका छन्, छोरी अटेरी भएकै कारण बुहारी संस्कारी छैनन् र त्यसमा सम्पूर्ण दोष आमाहरूको छ। यसको मतलब यो देशका/समाजका साराका सारा महिला संस्कार रहित छन्। उनीहरूकै कारण घर बिग्रिरहेको छ। 

हो, कुनैबेलाको अभ्यासमा समाज यस्तै थियो। बुहारीहरू दबिएर बस्थे, छोरीहरूले एक शब्द निकाल्न पनि बन्देज थियो। जनकले सीता जमिनमा भेट्टाएको भन्ने कथन, काल र वर्तमान समय एउटै हो? होइन नि, समयले कोल्टे फेरिसक्यो। समय फेरिएको छ भने शताब्दियौँ पुरानो कथाचाहिँ फेर्नु पर्दैन? कथा नफेरे पनि प्रसङ्ग बदल्दै समसामयिक बनाउनु पर्दैन? 

छोरी, बुहारी र आमाहरूको नारकीय जीवन मान्छेको जस्तै बनाउन देशभित्रै कति आन्दोलन भयो? कतिले रगत बगाए। हरेक क्षेत्रमा समानताको लागि कयौँ महिला पुरुषले आफ्नो ज्यानको बाजी लगाउनुपर्‍यो। सडक र सदनबाट कति संघर्ष गर्नुपर्‍यो। उनी आफैँ पनि संविधान निर्माण प्रक्रियामा सहभागी भएकी सभासद। सदनमा संस्कृतको श्लोक हाल्दै नारी गरिमाबारे बोलेको मान्छे। संस्कृत साहित्यमा आचार्य र नीतिशास्त्रमा विद्यावारिधि गरेको मान्छे। उनले त बरु पुरातन कथामा यस्तो लेखिएको भए पनि प्रचलित कानुन यसो हो भनेर पो बुझाउनुपर्ने त! उल्टै आफ्नो पद, प्रतिष्ठा र विद्याकै धज्जी उड्ने गरी आक्रोशित मुद्रामा दिएको प्रवचनले एकैछिन माहोल तातेको जस्तो भ्रम परे पनि कालान्तरमा रहँदैन। 

उनकै पनि र अरु कथा वाचकहरूको पनि अन्य दिनका छिटफुट कथाहरू सुन्दा (शास्त्रमा उल्लेख भनिए पनि) कुनै न कुनै तहले महिलालाई दोषी देखाउने, महिलालाई गिराउने, घर नबन्नुको प्रमुख कारक स्त्री नै हो, स्त्रीहरू शंकालु हुन्छन्जस्तो भावका वाणी सुनियो। देशले संघीयता र गणतन्त्रको अभ्यास गरिरहेको छ। संविधानको प्रस्तावनामा नै लैंगिक विभेद अन्त्य गरी समतामूलक समाजको निर्माण गर्ने संकल्प छ, समानताको हक, महिलाको हक र अन्य हकलाई मौलिक हकमा समावेश गरिएको छ। ती हक उपयोग गर्न पाउने गरी संवैधानिक उपचारको हकको समेत व्यवस्था गरिएको छ। 

निर्देशक सिद्धान्तले मौलिक हक तथा मानव अधिकारका मूल्य र मान्यता, लैंगिक समानता, कायम गर्न कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने लक्ष्य राखेको छ। सोही मर्मअनुसार बनेका कानुनहरू प्रचलनमा छन्। र पनि महायज्ञहरूमा पौराणिक कथाका किस्साहरू वर्तमानसँग जोड्दै हिंसा र विभेदयुक्त उपदेश फैलिरहेको छ। कथा भन्नु, भन्न लगाउनुलाई धार्मिक आस्था र स्वतन्त्रता मान्ने हो भने पनि यो देशमा बसेर देशको कानुन मान्नु भक्तजन अनि कथावाचकहरू सबैको दायित्व हो। 

बरु यसो गरौँ, यो देशमा महायज्ञ र पुराणहरूमा कथावाचन गर्ने हरेकलाई एक/एक थान संविधान र कानुनका पुस्तक हस्तान्तरण गरौँ। ताकि उनीहरूले कथा भन्दै गर्दा परापूर्व कालमा यसो भए पनि देशको प्रचलित कानुन यस्तो छ, भनेर आम मानिसलाई बुझाउन सकून्।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .