ad ad

समाज


क्यानडा जाने विद्यार्थीलाई दूतावासका ७ सुझाव

क्यानडा जाने विद्यार्थीलाई दूतावासका ७ सुझाव

फाइल तस्बिर : क्यानडा


नेपालखबर
भदौ १, २०८१ शनिबार १०:४९, काठमाडौँ

क्यानडास्थित नेपाली राजदूतावासले निकट भविष्यमै नयाँ शैक्षिकसत्र सुरवात हुन भएकाले अध्ययनका लागि क्यानडा जाने तयारी गरिरहेका नेपाली विद्यार्थीलाई ७ सुझाव दिएको छ।

दूतावासले क्यानडा बसाइ र अध्ययन सहज एवं समस्यारहित बनाउन विभिन्न सुझाव जारी गर्दै ध्यान पुर्‍याएर तयारी गर्न अनुरोध गरेको छ।

विद्यार्थीका लागि दूतावासबाट यसअघि गत वैशाख १७ मा जारी गरिएको जानकारी मूलक सूचना राम्ररी अध्ययन गरेर मात्र क्यानडाको तयारी गर्न उचित हुने दूतावासले जनाएको छ।

आफूले अध्ययन गर्ने कलेज, अध्ययन गर्ने विषय, लाग्ने खर्च, कलेज रहेको सहर आदिबारे पर्याप्त खोजीगरी बुझेर आउँदा कम समस्या बेहोर्नुपर्ने उल्लेख गर्दै दूतावासले अवास्तविक, अपर्याप्त र अतिरञ्जित प्रचारप्रसारमा मात्र भर गरेर पूर्ण तयारी नगर्दा विद्यार्थीले विविध समस्या झेल्नुपरेको यथार्थलाई राम्ररी ध्यान दिन आग्रह गरेको छ।

अध्ययनका लागि क्यानडा जानु अघि पूर्वक्यानडामा रहेका आफन्त, इष्टमित्र, साथीरू,  पूर्वविद्यार्थी, विद्यार्थीका सोसल मिडिया नेटवर्क, सम्बन्धित सहरमा रहेका गैरआवासीय नेपाली संघलगायत नेपाली डायस्पोराका संघसंस्थासँग आफू आउन लागेको ठाउँ, पढाइको तौरतरिका, लाग्ने खर्च, आवासको उपलब्धता, रोजगारीका सम्भावना आदिबारे पर्याप्त मात्रामा बुझी जानकारी लिएर आउँदा सहज हुने दूतावासको सुझाव छ। 

हेर्नुहोस् दूतावासले दिएका ७ सुझाव-

निकट भविष्यमै नयाँ शैक्षिक सत्रको सुरुवात हुन लागेकोले अध्ययनका लागि क्यानडा आउने तयारी गरिरहनुभएका नेपाली विद्यार्थीहरूको क्यानडा बसाइ र अध्ययन सहज एवं समस्यारहित बनाउनका लागि देहायका सुझावहरूमा ध्यान पुर्‍याएर तयारी गर्न नेपाली राजदूतावास, ओटावा हार्दिक अनुरोध गर्दछ।

१. विद्यार्थीहरूका लागि यस दूतावासवाट यसअघि २०८१ वैशाख १७ मा जारी गरिएको जानकारीमूलक सूचना रामरी अध्ययन गरी क्यानडा आउने तयारी गर्न उचित हुन्छ। उक्त सूचना नेपाली राजदूतावासको वेबसाइट https://ca.nepalembassy.gov.np/, फेसबुक पेज Nepal Embassy, Ottawa र एक्स एकाउन्ट Embassy of Nepal, Canada (@nepal_of) मा हेर्न सकिन्छ।

२. आफूले अध्ययन गर्ने कलेज, अध्ययन गर्ने विषय, लाग्ने खर्च, कलेज रहेको सहर आदिबारे पर्याप्त खोजी (रिसर्च) गरी बुझेर आउँदा यहाँ आइसकेपछि व्यहोर्नुपर्ने समस्या कम गर्न सकिन्छ। अवास्तविक, अपर्याप्त र अतिरञ्जित प्रचारप्रसारमा मात्र भर गरेर पूर्ण तयारी नगरी आउँदा विद्यार्थीहरूले विविध समस्या व्यहोर्नुपरेको यथार्थलाई रामरी ध्यान दिनुपर्छ।

३. अध्ययनका लागि क्यानडा आउनुपूर्व क्यानडामा रहेका आफन्त, इष्टमित्र, साथीहरू, सिनियर वा पूर्वविद्यार्थीहरू, विद्यार्थीहरूका सोसल मिडिया नेटवर्क, सम्बन्धित सहरमा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) लगायत नेपाली डायस्पोराका संघ-संस्थाहरूसँग समेत आफू आउन लागेको ठाउँ, पढाइको तौरतरिका, लाग्ने खर्च, आवासको उपलब्धता, रोजगारीका सम्भावना आदिबारे पर्याप्त मात्रामा बुझी जानकारी लिएर, तयारीका साथ आउँदा एकैचोटि व्यहोर्नुपर्ने समस्याहरू सामना गर्न सहज हुन्छ।

४. अभिभावकहरूले आफ्ना छोराछोरीको अध्ययन, आवास र बस्नेखाने खर्चको यथोचित प्रबन्ध गरेर मात्र पठाउनुपर्दछ। क्यानडा जानासाथ रोजगारी पाइन्छ भन्ने भ्रममा पर्दा धेरै विद्यार्थीहरू विगतमा समस्यामा परेको यथार्थता बुझी क्यानडा आउँदा अध्ययनका लागि कलेज वा विश्वविद्यालयको पढाइ शुल्क, बस्ने र खाने खर्चको आवश्यक प्रबन्ध गरेर मात्र आउनुपर्छ। त्यसो नगर्दा आइसकेपछि कलिला उमेरका विद्यार्थीहरूलाई एकैचोटी पर्न जाने आर्थिक, शैक्षिक, आवास, खाने खर्च र रोजगारी अभावको तनाव र चुनौतीका कारण विद्यार्थीमा पर्न सक्ने तनाव र मनोवैज्ञानिक समस्यातर्फ अभिभावक तथा विद्यार्थी दुवैले सुरुमै सावधानी अपनाउन उचित हुन्छ।

५. विश्वभरिबाटै आउने विद्यार्थीहरूको संख्या बढेसँगै क्यानडाभरि विद्यार्थी आवास र रोजगारीका अवसरमा तीव्र चाप परेका कारण बस्ने डेरा र रोजगारीको अवसर पाउन कठिन भैरहेको देखिन्छ। यो यथार्थलाई बुझेर अध्ययनका लागि क्यानडा आउनुपूर्व बस्ने ठाउँको यकिन गरेर आउन उचित हुन्छ। सोसियल मिडियामा दिइएका विज्ञापनकै आधारमा आवासका लागि अग्रिम भाडा भुक्तानी गर्दा ठगीमा पर्न सक्ने सम्भावनाबारे सचेत रहनुपर्छ।

 

६. क्यानडाको हावापानी हेमन्त ऋतु (विन्टर) मा अत्यन्तै चिसो हुने हुँदा सो ठाउँको हावापानीबारे पूर्वजानकारी लिएर तयारी गर्नु उचित हुन्छ।

७. भर्खर उमेरका कलिला युवा विद्यार्थीहरूले एकासी क्यानडा पुगेपछि अध्ययनका अतिरिक्त सबै कामहरू आफै गर्नुपर्ने जस्तै पकाउने, सरसफाइ, किनमेल, परिवहन, बजार, आवतजावत आदिबारे स्थानीय तौरतरिकाबारे पूर्वजानकारी लिएर आउँदा अचानक आइपर्ने नयाँ परिस्थिति सामना गर्न सहज हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .