माननीय मुख्यमन्त्री ज्यू !
प्रदेश २, मन्त्रिपरिषदको कार्यालय
जनकपुरधाम
मैले हजुरका निर्देशन सामाजिक सञ्जालमा पटक–पटक हेरेँ र पढे। एक चिकित्सकको नाताले तपाईंको निर्देशन हेरेर, पढेर र सुनेर मेरो मन दुख्यो। तपाईंको निर्देशन पटक–पटक सुने किनकि प्रदेश २ को स्वास्थ नीतिको मस्यौ दा बनाउँने क्रममा तपाईले जारी गरेको वक्तव्यबाट तपाईंले चिकित्सकको दुःख राम्रोसँग बुझेको जस्तो लागेको थियो। तर, आज यो निर्देशन सुन्दा पहिलो पटक मन खिन्न भयो।
तपाईंको पछिल्लो निर्देशन पटकपटक सुनेपछि मलाई तपाईं आफैँ विवश भएको महसुस भयो। तपाईंले भनेजस्तो समय आगाबै ५० लाखका दरले प्रत्येक जिल्लालाई पैसा तथा खर्च गर्ने आधिकार दिएको सुनेँ। यदि त्यो सत्य हो र प्रदेश सरकारले आवश्यक भए अझ पैसा पठाउन तयार रहेको सुन्दा कतै न कतै प्रसासनिक कमजोरी भएको त होइन् भन्ने प्रश्न उठ्यो। किनकि चिकित्सक, नर्स तथा स्वस्थ्यकर्मीले पीपीए त परै जाओस् अति आवश्यक साधारण मास्कसम्म नपाएको कुरा हजुरलाई यसै पत्रमार्फत जानकारी गराउन चाहन्छु। स्वास्थ्यमा देखिएको यस आपतकालीन परिस्थितिमा कुनै पनि स्वास्थ्यकर्मी आफ्नो पेसाप्रतिको कर्तव्य तथा जिम्मेवारीबाट पन्छिन खोजेको छैन, पन्छिनु हुन्न र पन्छिन्नौ पनि। तर, आफ्नो सुरक्षा अनुभूति नभएसम्म प्रतिवद्ध भई काम गर्न पनि सहज छैन।
माननीय मुख्यमन्त्री ज्यू, तपाईं प्रदेश २ को कार्यकारी प्रमुख मात्रै नभइ यहाँका जनतको आभिभावक पनि हो। प्रदेश २ का चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षाको जिम्मेवारी पनि तपाईंकै हो। यो कोरोना विरुद्धको लडाइँका सिपाहीबिना हात–हतियार मात्रै लिएर मैदानमा उत्रने हो भने प्रदेशका जनताको भलोभन्दा अझ नुक्सान हुनेछ, त्यो आत्मघाती हुनेछ।
यस आपतकालीन परिस्थितिमा कुनै पनि चिकित्सक तथा स्वास्थ्यकर्मी परिस्थिति अनुरुप जनताको काम नगरेको पाइएमा लाइसेन्स नै खारेज गरियोस तर चिकित्सक तथा स्वास्थ्यकर्मीलाई काम गर्ने वातावरण बनाउने जिम्मेवारी पाएका निकाय आस्पताल प्रशासन, जिल्ला प्रशासन वा स्वास्थ मन्त्रालयनै किन न होस् जिम्मेवारी पूरा नभएको आवस्थामा कारबाही गरियोस्। प्रदेशको कर्यकारी प्रमुख विवश र निरास भए यसले अझ बढी हानी मात्रै पु¥याउने छ। म त भन्छु कारबाही गरियोस्, चाँडै गरियो। तर एक निरही सामान्य चिकित्सकलाई बलिको बोका नबनाइयोस्। आफ्नो कर्तव्य पूरा नगर्ने ठूला ठूला ओहोदामा बसेका पदाधिकारीको कामको मूल्यांकन पनि होस्, आफ्नो जिम्मेवारी पूरा नगर्ने अख्तियार प्राप्त व्यक्तिलाई जिम्मेवारी पूरा नगरेकोमा पनि दण्डित गरियोस्।
चिकित्सकलाई चाहिने सम्पूर्ण सुरक्षा सामग्री चाडोभन्दा चाडो उपलब्ध गराउनुस्। यस आपतकालीन परिस्थितिमा हामी सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मी हर सम्भव सरकार, जनता र राष्ट्रप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्न प्रतिबद्ध छौँ।
डा. अजय कुमार मिश्र
मुटु रोग विशेषज्ञ
सदस्य, स्वास्थ्य कार्य दल, प्रदेश २
प्रतिक्रिया