ad ad

ब्लग


नेपालका राजाले चीन पठाएको ‘मितेरी साग’

नेपालका राजाले चीन पठाएको ‘मितेरी साग’

चेतनाथ आचार्य
असोज ८, २०७७ बिहिबार १६:१,

सेप्टेम्बर ८ तारिख चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सीआरआई नेपाली सेवाको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गर्न चिनियाँ सहकर्मीत्रय राजु (वाङ थिङ), लालिमा (लिउ सान) र मुना (त्वान नाना) सँग बेइजिङको उत्तर-पश्चिममा पर्ने एउटा अर्गानिक तरकारी खेतीमा जाने अवसर मिल्यो।

सहरभन्दा निकै टाढा तरकारी फारममा गोलभेंडा, बोडी, भुइँ ऐसेलु, तरबुजा, काँक्रालगायत खेती गरिएको थियो। बेइजिङको छैटौं चक्रपथको छेउमा रहेको अर्गानिक तरकारी फारमले ५ सय किलोमिटरभन्दा टाढा मंगोलिया स्वायत्त प्रदेशबाट भैँसीको गोबर ल्याएर प्रांगारिक मल प्रयोग गर्दोरहेछ।

बेइजिङमा अक्टोबरदेखि चिसो सुरु हुन्छ। नोभेम्बरमा त हिउँ नै पर्छ। मार्चसम्म अधिकतम तापक्रम पनि शून्यभन्दा तल हुन्छ। तसर्थ हरितगृहको अर्गानिक तरकारी खेतीको मुख्य समय नै अक्टोबरदेखि मार्चसम्म रहेछ। तर हामी पुग्दा फारममा तरकारी प्रशस्तै थिए।

फेसबुकबाट प्रत्यक्ष प्रसारण गर्नुअघि लालिमाले अनौठो कुरा सुनाइन्। भनिन्, ‘चेतनाथजी आज हामी मितेरी सागबारे कुरा गरौँ है।’

मितेरी साग! म अन्योलमा परें।

सीआरआईमा काम गर्ने चिनियाँ सहकर्मीहरू ठेट नेपाली भाषा प्रयोग गर्छन्। हामी ट्वाइलेट भन्छौं, उनीहरू शौचालय। अंग्रेजी भाषा मिसाएर कुरा गर्ने बानी परेका हामीलाई कहिलेकाहीं ठेट नेपाली भाषाले अलमल्याउँछ। उनीहरूको अनुवाद गराइ पनि त्यस्तै हुन्छ। व्यक्तिवाचक नामलाई पनि शब्दशब्द केलाएर ठ्याक्कै अनुवाद गर्छन्। त्यसरी अनुवाद गरिएका शब्द कहिलेकाहीं निकै हाँसउठ्दा पनि हुन्छन्। लालिमाले मितेरी साग भनेर त्यस्तै केही भन्न खोजेकी होलिन् भन्ने मेरो अनुमान थियो।

‘मितेरी साग भनेर के भन्न खोज्नुभएको, अंग्रेजीमा भन्नुहोस् त?’ मैले स्पष्ट हुन चाहें।

‘फ्रेन्डसिप स्पिनच,’ मोबाइलमा अनुवाद गरेर उनले भनिन्।

बुझेरै उनले मितेरी साग भनेकी रहिछन्। तर कस्तो साग हो, जसलाई मितेरी भनिन्छ, थप रन्थनिएँ। सोच्दै थिएँ। उनले भनिन्, ‘एक प्रकारको साग, जसले चीन र नेपालबीच मित्रताको काम गरेको छ।’

चीनले तातोपानी र केरुङमा बनाएका पुललाई मितेरी पुल भनेको थाहा थियो। काठमाडौंमा मितेरी अस्पताल पनि छ क्यारे! रुसले सन् १९५९ अगाडि चीनमा बनाएको भव्य भवनलाई अहिले पनि मितेरी अतिथि गृह भनिन्छ। दुई देशबीचको विकास आदानप्रदानका रूपमा तयार गरिएको भौतिक संरचनालाई मितेरी नाम दिनु ठीकै थियो। तर साग कसरी मितेरी भयो?

म अलमलिएको देखेर लालिमाले पालुंगोको साग देखाउँदै भनिन्, ‘यही हो, मितेरी साग। यसलाई चिनियाँ भाषामा पोछाई भनिन्छ।’

के के न देखाउँछिन् भन्ठानेको त पालुंगो देखाएपछि मैले सोधें- ‘यो त पालुंगो हो। कसरी भयो मितेरी साग?’

मेरो कुराले उनी मज्जाले हाँसिन्। यसै त हँसिलो अनुहारकी चिनियाँ युवती, त्यसमाथि हड्डीदेखि हाँस्दा उनको पहेंलो अनुहार चम्किलो र सुनौलो देखियो। केहीबेर खितखिताएर उनले भनिन्, ‘ल तपाईंलाई थाहा छैन? यो साग नेपालबाट अरनिकोले चीनमा ल्याएका हुन्।’ उनले मोबाइलको चिनियाँ सर्च इन्जिन पाइतु खोलेर देखाउँदै भनिन्, ‘यी हेर्नुहोस् त। पाइतुमा यो साग नेपालबाट आएको हो भनेर लेखिएको छ।’

उनले देखाएको सामग्री चिनियाँ भाषामा थियो। चिनियाँ भाषा नबुझे पनि मेरो दिमागमा एक किसिमको तरंग चल्यो। पालुंगो साग काठमाडौंमा निकै लोकप्रिय तरकारी हो। माघ महिनामा स्वस्थानीको व्रत बस्ता पाटने पालुंगो खानु हुन्न भन्ने चलन सुनेको थिएँ। यसको कारण त थाहा छैन, तर त्यही पाटनबाट अरनिकोले पालुंगोलाई चीनमा ल्याएका रहेछन्।

पालुंगोलाई चिनियाँ भाषामा ‘पोछाई’ भनिन्छ भन्ने थाहा थियो, तर यसको नामको पछि घोरिएर लागेको थिइनँ। त्यही साँझ यसबारे खोजीनीती गर्न मन लाग्यो। नेपालका प्रख्यात् संस्कृतिविद् सत्यमोहन जोशीले लेखेको ‘कलाकार अरनिको’ ग्रन्थमा यसबारे केही कुरा उल्लेख रहेछ। पालुंगोलाई नेवारी भाषामा पलःचा भनिँदोरहेछ।

यही पलःचाबाट चिनियाँमा पःछा हुँदै पोछाई भएको रहेछ। सत्यमोहन जोशीको ग्रन्थमा उल्लेख भएअनुसार पालुंगो अरनिको चीन आउनुभन्दा ६ सय वर्षअगाडि नै नेपालबाट चीन आइपुगेको रहेछ। सातौं शताब्दीको मध्यतिर नेपालका तत्कालीन राजा नरेन्द्र देवले चीनको थाङ वंशकालीन राजधानी सिआनमा दूत पठाउँदा पालुंगोको बीउ पठाएका थिए। हुन सक्छ– त्यसको ६ सय वर्षपछि १३औं शताब्दीमा अरनिको चीन आउँदा नेपालबाट फेरि पनि पालुंगो ल्याएका थिए कि?

चिनियाँहरू सागलाई छाई भन्छन्। सेतो साग भन्नुपरेमा पाइछाई भन्छन्। पाई भनेको सेतो हो। सबै प्रकारका सागपातलाई सुछाई भन्छन्। बेइजिङका सुपरमार्केट तथा तरकारी बजारमा सबैभन्दा धेरै देखिने साग नै पालुंगो हो। अनि रेस्टुरेन्ट तथा होटलमा तरकारी र सलादमा पनि पालुंगो लोकप्रिय छ। त्यसो भए पालुंगो मात्र होइन अरू पनि थुप्रै वनस्पति नेपालबाट चीनमा ल्याइएका होलान्।

केही वर्षअगाडि कतै पढेको थिएँ– जापानमा साकुरा भनेर चिनिने वनस्पति नेपाली पैयूँ हो। चीनमा पनि पैयूँ पाइन्छ। बेइजिङमा भेटिने पैयूँ नेपालबाट जापान जाँदा बाटोमा अलिअलि बीउ झरेर पलाएको हो त? मेरो आफ्नै अध्ययनले चाहिँ नेपाली पैयूँ र चिनियाँ पैयूँमा केही फरक देखेको छ। नेपालमा पैयूँ कात्तिक जाँदो अथवा मंसिरतिर फुल्ने गर्छ। तर बेइजिङमा पैयूँ मध्य चैततिर फुल्ने गर्छ। भविष्यमा कुनै वनस्पतिशास्त्रीले यसबारे खोजबिन गर्लान् र तथ्यगत कुरा पत्ता लाग्ला नै।

जे भए पनि पालुंगो नेपालबाट चीन ल्याइएको हो भन्ने कुरा त चिनियाँ इन्टरनेटमै उल्लेख रहेछ। अर्को मुलुकबाट ल्याएर चीनमा स्थापित भएको कुरालाई चिनियाँहरूले आफ्नै मौलिक भनेर चिनाउँछन्। उनीहरू अर्को मुलुकलाई त्यसको उद्गमस्थल भनेर स्वीकार गर्न सकेसम्म हिचकिचाउँछन्। गौतम बुद्धको जन्मस्थल लुम्बिनी हो। त्यहाँ चीन सरकारले भव्य चिनियाँ मन्दिर पनि निर्माण गरेको छ। तर पनि चिनियाँ पाठ्यपुस्तक र अन्य विभिन्न सामग्रीमा बुद्धको जन्मस्थल भारत भएको उल्लेख छ। यसबारे स्पष्ट जानकारी भएका चिनियाँ पनि बुझपचाएर लटरपटर कुरा गर्छन्।

२०७६ वैशाख २९ गते आइतबार परम्परागत चिनियाँ पात्रोअनुसार बुद्धपूर्णिमा थियो। नेपाली पात्रोमा चाहीं जेठको ४ गते शनिबार बुद्ध पूर्णिमा परेको थियो। सो दिन २५४३औं बुद्धजयन्ति मनाउन बेइजिङको पश्चिमी भागमा रहेको पाताछु मन्दिरमा चिनियाँ बुद्धधर्म संघले बुद्ध जयन्ती समारोहमा नेपालसँगै भारत, श्रीलंका, थाइल्यान्ड, म्यान्मार, कम्बोडिया, भियतनामलगायत देशका राजदूतलाई आमन्त्रण गरेको थियो। पाताछु मन्दिरमा बुद्धको दाँत राखिएको छ।

समारोहमा चिनियाँ बुद्धधर्म संघका उपाध्यक्ष यान चुएको लिखित मन्तव्यमा ‘बुद्ध भारतमा जन्मिएका थिए’ वाक्यांश परेको सूचना पाएपछि तत्कालीन नेपाली राजदूत लीलामणि पौड्यालले आपत्ति जनाए, समारोहअगाडि नै उनीहरू वाक्यांश सच्याउन बाध्य भए। विश्वले जानेको र सबैतिर छ्यापछ्याप्ती भएको कुरालाई त चिनियाँहरू नजरअन्दाज गर्छन् भने सामान्य एउटा सागलाई नेपालबाट ल्याएको भनेर स्वीकार गर्नु अचम्मको कुरा हो।

नेपाल र चीनको स्वायत्त प्रदेश तिब्बतबीच १ हजार ४ सय १४ किलोमिटर सीमा क्षेत्र पर्छ। छिमेकी घनिष्ठ मुलुक भएकाले दुई देशबीच युगौंदेखि विभिन्न कुरा आदानप्रदान भइरहेको छ। चिनियाँ भिक्षुहरू फा सियान र ह्वेन साङ बौद्धसूत्र खोज्न नेपालको कपिलवस्तु हुँदै भारत पुगेका थिए। नेपाली बुद्धभद्र चीन आएर बौद्ध दर्शनलाई अनुवाद गरी लोकप्रिय बनाउने काम गरे।

सातौं शताब्दीमा नेपाली राजकुमारी भृकुटीले तिब्बती सम्राट स्रोङचोङ गम्पोसित विवाह गरिन्। अनि १३औं शताब्दीमा चीन आएका नेपाली प्रख्यात् कलाकार अरनिको नेपाल नफर्फीकन चीनमै बसेर नेपाली कलालाई चीनमा व्यापक बनाउने काम गरे। उल्लिखित सबै व्यक्तिलाई हामी सांस्कृतिक दूत भन्छौं भने पालुंगोलाई मितेरी साग किन नभन्ने?

(आचार्य बेइजिङस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सीआरआई) नेपाली सेवामा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्।)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .