भगवान् को हुन्? कहाँ बस्छन्? कस्ता छन्? छन् या छैनन्? कृपया ! मलाई नसोध्नुहोला।
तपाईंले यत्ति मान्नुभयो भने बल्ल म भगवानका कुरा अलि ढुक्क भएर सुरु गर्न सक्छु।
प्रसंग सुरु गरौं– रेणु क्षेत्री भट्टराईद्वारा निर्मित वृत्तचित्र ‘गड इन क्राइसिस’बाट।
केही दिनअघि युट्युबमा यो वृत्तचित्र हेरिरहेको थिएँ। रेणु, जो भगवानमा संकट देख्छिन्, यिनको वर्णन गर्ने ताकत मसँग छैन। यसैले त्यतातिर लाग्दिनँ।
म जोखिम मोल्न नरुचाउने प्राणी हुँ। भगवानमा समेत संकट देख्न सक्ने रेणुबारे टिप्पणी गर्ने जोखिम किन मोलुँ! भो, मोल्दिनँ।
कसैलाई साँच्चिकै भगवान् छन् भन्ने लाग्छ भने आज ती कसरी संकटमा परे? रेणु क्षेत्रीलाई नै सोध्नुहोला वा उनले बनाएको ‘गड इन क्राइसिस’ हेर्नुहोला।
केवल जानकारीका लागि यत्तिचाहिँ भनुँ– रेणुले ‘गड इन क्राइसिस’ बनाउनु सम्भवतः अघि नै मैलै पाकिस्तानमा बसेर वृत्तचित्र बनाउन खोजेको थिएँ– ‘लोन्ली गड’। अर्थात् ‘एक्ला देवता’। छन त छन् तर एक्ला!
सन् २००३ तिर इस्लामिक देश पाकिस्तानका डाँडाकाँडा चाहर्दा मैले त्यहाँ जति पनि बुद्धका मूर्ति देखें–भेटें, बडो नमज्जा लाग्यो। मूर्ति पनि कस्ता भने– कसैका हात छैनन्, कसैका गिंड छैनन्। कसैलाई हेर्न मन छ भने आज पनि मसँग तिनका फुटेज छन्। बहुमूल्य फुटेज।
अफगानिस्तानको वामियानका क्षतविक्षत बुद्ध त मैले नेसनल जियोग्राफीमा देखिरहेकै थिएँ। तर जब अफगानिस्तानकै सीमासँग जोडिएका पाकिस्तानका पर्वत पुगें तब त्यहाँ बुद्धका मूर्तिको अवस्था देखेर लाग्यो– भगवान् भनेका पनि यस्तै रहेछन्; समय र मान्छेले बनाउने!
समय र मान्छेले पाकिस्तानमा आज बुद्धलाई एक्लो बनायो। होइन भने पाँचौं शताब्दीताका त अफगानिस्तान–पाकिस्तान पूरै बुद्ध क्षेत्र हो।
जहाँ ऊबेला बुद्ध सबैका भगवान् थिए, तर ती आज त्यही ठाउँमा कसैका छैनन्। आज त्यता बुद्ध पनि एक्ला छन्। यो सब समय र चेतको खेल हो।
जसरी रेणुको वृत्तचित्रमा बन्दीपुरका ‘गड’ ‘क्राइसिस’मा छन्, त्यसभन्दा चर्को गरी अफगानिस्तान र पाकिस्तानतिर बुद्ध एक्ला छन्। छन त छन् तर एक्ला; टुटेका, फुटेका!
दुनियाँले साँच्चिकै भगवान् मानेकाको त यस्तो हालत हुँदोरहेछ! बाँकी नक्कली भगवानहरूको के कुरा गर्नु? बाँकी ती, जो मान्छे, जसलाई भगवान् बनाउन प्रयास गरियो, तिनको के कुरा गर्नु?
अब साँच्चिकै भगवानको दुनियाँबाट नक्कली भगवानहरूतर्फ लागौं।
नक्कली भगवान्, जो जात्राहरूमा देखिन्छ, अक्सर।
जात्रा कहाँ, कहिले, कसरी भइरहेका छन्? मभन्दा पाठक नै बढी जानकार हुनुहुन्छ।
यत्ति भनुँ– म नेपालकै जात्राको कुरा गरिरहेको छु।
जात्राको हिसाबकिताब तपाईंहरू राख्दै गर्नुहोला, म भने नक्कली भगवानको खोजीमा छु।
नक्कली भगवान् आजको विश्वमा यत्रतत्र छन्। तर ‘यो मन त मेरो नेपाली हो’, यसैले नेपालकै भगवान् पहिले देख्नु स्वाभाविक हो। भलै ती नक्कली किन नहुन्।
नक्कली भगवान् भन्नेबित्तिकै म, ऊबेला बिजुलीका पोलमा समेत झुन्डिएका र झन्डै दुईतिहाइ मत पाएका फुलेल प्रधानमन्त्री खड्गप्रसाद ओली (मैलै जानेरै केपी ओली नभनेको हुँ) लाई सम्झिन्छु।
ती ओली जो स्वंयले आफूलाई भगवान् ठाने। र, ती सल्लाहकार, जो उनलाई भगवान् बनाउन टाउको फोरेर लागे; ती भगवान् आज क्राइसिसमा परेको, एक्लिँदै गएको, टुट्दै फुट्दै गएको देखिरहेको छु; जसरी पाकिस्तनामा बुद्ध छन्।
साँच्चिकै भगवान् त टुटेको, फुटेको देखेको मान्छे म, झन् ओली त!
जुन दिनदेखि ओली मान्छेबाट भगवान् बन्न लागे र उनका सल्लाहकार र अरिंगाल उनलाई भगवान् बनाउन लागे, मलाई लाग्दै थियो– अब यी सकिने भए!
मान्छे जब भगवान् बन्ने दौडमा लाग्छ, सम्झिनुस्– उसका सकिने दिन नजिक आए।
मान्छे भगवान् बन्नै सक्दैन। मान्छेसँग भगवान् बन्ने चरित्रै हुँदैन।
मान्छे भगवान् बन्न सक्ने भए ऊ मान्छे भएर जन्मिने नै थिएन।
प्रधानमन्त्री ओली मान्छे हुन्, औसत मान्छे। तर उनी ‘गड’ हुन खोजे, उनलाई ‘गड’ बनाउन खोजियो, त्यही दिनदेखि उनी टुट्दै र फुट्दै जान थाले।
उनलाई ‘गड’ बनाउन खोज्नेहरूलाई उनै रेणुको वृत्तचित्रको शीर्षक सापटी लिएर यत्ति भनुँ– ‘योर गड इन क्राइसिस’। मान्छेले भगवान् बन्ने धृष्टता गर्नु हुँदैन। मान्छेलाई भगवान बनाउने मूर्खता गर्नु हुँदैन।
प्रतिक्रिया