बर्दिया जिल्ला प्रहरी कार्यालयले लागुऔषध ब्राउन सुगरजस्तो देखिने धुलोसहित २ जनालाई पक्राउ गरेको छ।
बर्दिया जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराका अनुसार ६१० मिलिग्राम ब्राउन सुगरजस्तो पदार्थसहित २ जनलाई बुधबार पक्राउ गरिएको हो।
लागुऔषधजस्तो पदार्थसहित बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ६ बस्ने अन्दाजी वर्ष ४२ का हेमराज गिरी र सोही नगरपालिकाको वडा नम्बर ५ मा बस्ने अन्दाजी ३७ वर्षका सफल ज्ञवालीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
विशेष सूचनाका आधारमा बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ८, कण्ठपुरस्थित कच्ची बाटोबाट पक्राउ परेका उनीहरूबाट लागुऔषधजस्तो वस्तुसहित भे ११ प ४२७८ नम्बरको पल्सर मोटरसाइकल पनि बरामद गरिएको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिए।
इलाका प्रहरी कार्यालय (मैनापोखर) बाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरूको साथमा ब्राउन सुगरजस्तो देखिने खैरो धुलो भेटिएपछि पक्राउ गरेको हो।
Shares
प्रतिक्रिया