नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको बयान सकिएको छ।
एमालेका निलम्बित सचिव रायमाझीको बयान सोमबार राति अबेर सकिएको सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता लक्ष्मण घिमिरेले जानकारी दिए।
आइतबार साँझ बूढानीलकण्ठबाट पक्राउ परेका टोपबहादुरको बयान सोमबार थालेर त्यही दिन अबेर राति सकिएको हो।
उनले सरकारी वकिल लक्ष्मण घिमिरे, न्यायाधीश केशवप्रसाद अधिकारीसँग आफूलाई हर्निया भएको, हिरासतमा प्रहरीले रातभर सुत्न नदिएको बताए।
प्रहरी हिरासतबाट बबरमहलस्थित सरकारी वकिलको कार्यालय पुग्दै गर्दा रायमाझीले उपस्थित सबैलाई हात उठाएर अभिवादन गरे र मन्द मुस्कान दिए।
प्रहरीले पक्राउ गर्दा पनि उनले देखाएको हाउभाउप्रति सामाजिक सञ्जालमा टिप्पणी भइरहेका छन्।
रायमाझीबारे अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
अब रायमाझीलाई बुधबारसम्म हिरासतमा राखेर प्रहरीले अनुसन्धान अघि बढाउनेछ भने सोही दिन अदालत हाजिर गराउनेछ।
यसअघि पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई काठमाडौं जिल्ला अदालतबाट आइतबार अनुसन्धानका लागि ४ दिन म्याद थप भएको छ।
रायमाझी पक्राउ परेसँगै नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लाने भन्दै करोडौँ रकम ठगी गरेको अभियोगमा समातिनेको संख्या १३ पुगेको छ।
अहिलेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत पक्राउ परिसकेका छन्।
Shares
प्रतिक्रिया