ad ad

अपराध


प्रहरी हिरासतमै पूर्वसांसद शेर्पाको टाउकोमा गम्भीर चोट

प्रहरी हिरासतमै पूर्वसांसद शेर्पाको टाउकोमा गम्भीर चोट

फाइल तस्बिर : पूर्वसांसद आङतावा शेर्पा


नेपालखबर
जेठ २, २०८० मंगलबार ९:१८, काठमाडौँ

नक्कली भुटानी शरणार्थी प्रकरणमा सोमबार साँझ प्रहरीसमक्ष आत्मसमर्पण गरेका नेपाली कांग्रेसका पूर्वसांसद आङतावा शेर्पाको टाउकोमा रहस्यमय तरिकाले गम्भीर चोट लागेको पाइएको छ। 

प्रहरी परिसर काठमाडौंको हिरासतमै रहेका बेला शेर्पाको टाउकामा गम्भीर चोट देखिएको हो। उनलाई ट्रमा सेन्टरमा लगी उपचार गराएर पुनः प्रहरी परिसरमै फर्काइएको प्रहरीले जनाएको छ। उनको टाउकामा टाँका लगाइएको छ। 

तर प्रहरीको नियन्त्रणमा रहेका उनलाई कसरी टाउकामा चोट लाग्यो भन्ने विषयमा प्रहरीले बताउन चाहेन। 

परिसरका प्रवक्ता एसपी सीताराम रिजालले अहिले शेर्पा आफूहरूकै नियन्त्रणमा रहेको र सोधपुछ भइरहेको बताए। तर उनको टाउकामा कसरी चोट लाग्यो भन्ने प्रश्नमा भने रिजालले उत्तर दिएनन्। 

भुटानी शरणार्थीका नाममा ठगी गरेको आरोपमा अदालतबाट उनीविरुद्ध पनि शुक्रबार पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ पुर्जी जारी हुनु पहिले नै फरार भएका शेर्पा आफैं प्रहरी कार्यालयमा उपस्थित भएका हुन्।

उनीविरुद्ध प्रहरीले वैशाख ३१ गते पक्राउ पुर्जी जारी गरेको थियो। 

यो प्रकरणमा पक्राउ परेका बिचौलियालाई हिरासतमा भेटेर कांग्रेस नेताहरूलाई बयानमा नपोल्न दबाब दिएको आरोप शेर्पालाई लागेको छ।

खासगरी शेर्पाले बालकृष्ण खाँणको नाम नलिन हिरासतमै पुगेर सानु भण्डारी र केशव दुलाललाई भेटेका थिए। उनले पीडितको रकम फिर्ता गरिदिने भन्दै खाँणलाई जोगाउन खोजेका थिए।

तर, प्रहरीले पूर्वगृहमन्त्री खाँण र पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिसकेको छ। पछिल्लोपटक आइतबार राति नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पनि पक्राउ परेका छन्।

यससँगै शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .