नेपाली भूमीबाट चिनियाँ नागरिकहरुले चीनकै अर्थतन्त्रबिरुद्ध गतिविधी गरिरहेका बेला चीनले आफूप्रति खतरा ठान्ने ताइवानीहरु समेत पछिल्ला महिनामा हजारौंको संख्यामा नेपाल आउन थालेपछि उनीहरुका गतिबिधिबारे नेपालसँग कुरा उठाएको छ।
पछिल्ला ६ महिनामा साढे ६ हजार ताईवानी नागरिक नेपाल भ्रमणमा आएको सूचनालाई बेवास्ता नगर्न नेपाली पक्षसँग चीनले आग्रह गरेसँगै साइबर आक्रमणमा उनीहरुको समेत संलग्नता आशंका गरिएको छ।
गृहस्रोतका अनुसार जुलाई १ देखि डिसेम्बर २५ सम्मको तथ्याङ्क अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्दै ६ हजार ६ सय ३६ ताईवानी नेपाल प्रवेश गरेका हुन्। यीमध्ये चारहजार बढि अझै नेपालमै छन्।
चिनियाँ अधिकारीहरुले ६ महिना अघिसम्म २ सयदेखि ३ सयको हाराहारीमा आईरहेका ताईवानी नागरिक सेप्टेम्बरयता हजारको संख्यामा नेपाल आउनु स्वभाविक नभएको तर्क गृहका उच्च अधिकारीहरुसँगको भेटमा गरेका थिए।
ताईवानमा चीनको प्रभावलाई रोक्न भन्दै एक विवादास्पद् कानुन पारित गर्न लागिरहेको घट्नाक्रमसँग जोड्दै चिनियाँ अधिकारीहरुले यसलाई ‘योजनावद्ध’ भनी व्याख्या गरेका छन्। ताइवानले सो कानुन मंगलबार पारित गरेको छ।
राष्ट्रपतीय निर्वाचन हुनुभन्दा दुई साताअघि राष्ट्रपति साइ यिङ वेनको पार्टीले ‘घुसपैठ विरुद्धको विधेयक’ मंगलबार पास गरेको हो। यसको विपक्षी पार्टी कोमिन्ताङले चर्को विरोध गर्दै आएको थियो।
नयाँ कानुनमा ‘दुश्मन’ विदेशी शक्तिले चुनावसम्बन्धी कुनै पनि लबिङ, अभियान, दुष्प्रचार र चन्दा दानजस्ता कार्य गर्न पाउँदैन। यसको उल्लंघन गर्नेलाई ६ वर्षसम्मको जेल र ३ लाख ३२ हजार डलरसम्मको जरिवाना गर्न सकिन्छ। यो घटनाक्रमलाई समेत चीन बिरुद्धको नियोजित आक्रमणका रुपमा चिनिया अधिकारीले बिश्लेषण गरेका हुन।
नेपाल भ्रमणमा रहेका चीनको गृहमन्त्रालय (मिनिष्ट्री अफ पब्लिक सेक्युरिटी) का निर्देशक वाङवाङ हो ले उच्चस्तरीय भेटघाटमा ताईवानी नागरिकको नेपालमा बढ्दो चहलपहलमा समेत नेपाली सुरक्षा अधिकारीहरुलाई विशेष ख्याल गर्न आग्रह गरेका थिए।
‘चीनबिरुद्ध नेपाली भुमीबाट चौतर्फी आक्रमणको संकेत पाएका छौं। म आफै त्यही बिषयका लागि यहाँहरु समक्ष उपस्थित भएको छु, सहयोगको अपेक्षा राख्दछु,’ होको भनाई उद्दृत्त गर्दै गृहका एक उच्चअधिकारीले नेपालखबरसँग भने।
निर्देशक होले साइबर आक्रमणको यो श्रृंखला कम्बोडिया, भियतनाम, फिलिपिन्स र लाओस हुँदै नेपालबाट सुरु भएकाले यसलाई चीनले योजनावद्ध भएको र यसमा अन्तर्राष्ट्रिय शक्तिको समेत हात हुनसक्ने आशंका व्यक्त गरेको ती सहसचिवले बताए।
‘उहाँको पाँच जनाको टोलीसँग भेटघाट भएको हो,’ ती अधिकारीले भने ‘नेपाललाई चीन बिरुद्धका गतिविधीमा प्रयोग गर्न ठुलो चलखेल भइरहेकाले सहयोग गर्न आग्रह गर्नुभयो।’
६ महिनाकै अवधिमा ७६ हजार ८ सय ३८ चिनियाँ नागरिक नेपाल भित्रिएकोमा ५९ हजार हाल नेपालमै रहेको बिषयलाई समेत चिनियाँ अधिकारीहरुले गंभिर रुपमा लिएका थिए। यो अवधिमा भियतनामबाट ६ हजार ३ सय २५ र कम्बोडियाबाट ८ सय ६६ जना नेपाल आएको तथ्याङ्क अध्यागमन विभागसँग छ।
चीनले यी देशको नागरिक समेत साइबर अपराधको चिनियाँ संगठित गिरोहका साथ रहेको आशंका गरेको हो।
प्रहरीले पुस ७ मा काठमाडौंका नौ घरबाट १ सय २२ जनामात्र नियन्त्रणमा लिनुका साथै मुख्य आरोपी भागेपछि वाङवाङको टोलीले ‘अप्रेसन फेल’ भएको निस्कर्ष निकाल्दै त्यसको थप बिश्लेषण गरिरहेको बताइएको छ।
चिनियाँ दूतावास स्रोतका अनुसार पक्राउ परेका १ सय २२ जना सबै कामदारमात्र हुन्। उनीहरुका साथबाट बरामद १ सय २ थान राहदानीको विवरण अध्यागमन विभागलाई उपलब्ध गराईएको छ। यही आधारमा उनीहरुको विवरण केलाउने काम भइरहेको हो।
वाङवाङको टोलीले नेपाली अधिकारीहरुलाई फुजियान प्रान्तबाट बारम्बार नेपाल आउजाउ गर्ने ब्यक्तिहरुका बिषयमा समेत सतर्क रहन आग्रह गरेको छ।
योसँगै अध्यागमन विभागले फुजियानबाट नेपाल आएका चिनियाँ नागरिकका बिषयमा विस्तृत सूचना जुटाउनुका साथै नेपाल प्रवेशकै क्रममा सोधपुछ थालेको हो।
चिनियाँ विशिष्ट सुरक्षा टोलीले गृहका अधिकारीहरुसँग यो समुहले चिनियाँ युवाहरुलाई कामदारका रुपमा नेपाल ल्याउने र अपराधमा संलग्न गराउने गरेको जानकारी गराएको थियो।
उनीहरुका अनुसार यो समुहले चीनका प्रमुख बैंकहरुको रकम निकाल्ने, अनलाईन जुवा खेलाउने, ब्यक्तिगत सूचना चोरेर धम्काउने तथा फिरौती उठाउने र अश्लिल सामाग्री देखाएर रकम लिने गरेको हो।
प्रहरीले काठमाडौं र ललितपुरका ७० बढि घरबाट चिनियाँ नागरिकले चलाईरहेको साईबर अपराध बिरुद्ध एकसाथ कारबाहीको सूची बनाए पनि पुस ७ मा जम्मा नौ घरमा छापा मारिएको थियो।
अझ, प्रहरीलाई ४ अर्व लगानीमा २१ बढि बैधानिक रुपमा खुलेका सफ्टवेयर कम्पनीहरु मार्फत चिनियाँ नागरिकहरुले चीनकै अर्थतन्त्रविरुद्ध साईबर अपराध गरिरहेको जानकारी समेत दिइएको थियो।
गृह मन्त्रालयले प्रहरीले पक्राउ गरेका १ सय २२ जनालाई अध्यागमन कानुन अनुसार चीन फिर्ता गर्ने तयारी थालेको छ। प्रहरी र प्रशासनले दायर गरेको अभद्र ब्यवहारको मुद्दा किनारा लाग्ना साथै उनीहरुलाई अध्यामगन कसुर अनुसार कारबाही गरेर चीन फिर्ता गरिने बताइएको छ।
अध्यागमन अधिकारीहरुका अनुसार यसका लागि अनौपचारिक रुपमा १ सय २ वटा पासपोर्ट सहित एकसय २२ जनाकै विवरण उपलब्ध गराईएको छ।
स्रोतका अनुसार अध्यागमन महानिर्देशकले आफ्नो अधिकार प्रयोग गर्दै भिसा रद्द र देश निकालासम्म गर्न पाउँछन्। यही अधिकार प्रयोग गर्दै उनीहरुलाई चीन फिर्ता गर्ने तयारीमा सरकार जुटेको हो।
प्रतिक्रिया