बैकिङ सुरक्षा प्रणालीलाई चुनौती दिँदै १० घण्टा लगाएर काठमाडौंका एटीएमबाट करिब दुई करोड रुपैयाँ झिक्ने ८ जनाको चिनियाँ समूहलाई सघाउने नेपालीहरूको पहिचान खुलेको छ।
प्रहरी अनुसन्धानमा ४–४ जनाको समूहमा एकैपटक चीनबाट आएका उनीहरुमध्ये एउटा समूहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लिएर ठमेलको होटल बुटिक मनोहर मायासम्म छोडन निजी नम्बर प्लेटको गाडी प्रयोग भएको खुलेको हो।
शुक्रबार अपरान्ह साढे दुईबजे काठमाडौं ओर्लिएका दुई वटा चिनियाँ समूहमध्ये एउटालाई लिन विमानस्थल बाहिर नीजि कार आएको थियो भने अर्को समूह तिनै कारवाला व्यक्तिले मिलाएको ट्याक्सीमा होटल पुगेको थियो।
प्रहरीले कारबाही थालेपछि भागेका तीन जना चिनियाँले ठमेलका दुई मनि चेञ्जरबाट पूर्व परिचयकै आधारमा ३० लाख बढी नेपाली रुपैयाँ सटही गरेको खुलिसकेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले दरबारमार्गबाट एकजना र अन्य चारजनालाई ठमेलको होटलबाटै पक्राउ गरेको थियो। सोहीक्रममा होटलमा रहेका तीनजना चिनियाँ त्यहाँबाट भाग्न सफल भएका थिए।
होटलबाट भागेर ठमेलस्थित ठमेल किचन बाहिर ओर्लिएका उनीहरूमध्ये एकजनाले त्यहाँ स्याण्डबिच खाएको सीसीटीभी फुटेजमा देखिएको छ। त्यसपछि उनीहरु वरपर रहेका मनि चेञ्जरमा नपसी सिधै डेक्सी मनि चेञ्जरमा पुगेका थिए। मनि चेञ्जर संचालकले त्यहीँ पैसा गन्ने मेसिन मगाएर रकम गनेर डलर उपलब्ध गराएका थिए। यसक्रममा विमानस्थलबाट पक्राउ परेका फ्रान्सको राहदानी बाहक छु लुस लीले बाहिरको रेकी गरेका थिए।
‘काठमाडौंमै रहेका चिनियाँ वा नेपाली नागरिकले चिनियाँ ह्याकरलाई सघाएको खुलेको छ,’ प्रहरीका अनुसन्धान अधिकारीले भने, ‘हामीले पहिचान गरिसकेका छौं।’
प्रहरी कारबाही सुरु भएपछि भागेका तीनजनामध्ये लुस ली विमानस्थलबाट आइतबार राती पक्राउ परे भने अन्य दुई फरार छन्।
अनुसन्धान अधिकारीहरुले विभिन्न स्थानको सीसीटीभी फुटेज हेरेर तीनै जनाले ठमेलमा पैसा साटिसकेपछि ट्याक्सी लिएर बत्तिसपुतलीस्थित होटल द्वारिकाज अगाडि ओर्लिएको पत्ता लगाएका छन्। त्यसपछि दुई जना कहाँ गए खुल्न सकेको छैन्।
तर अनुसन्धान अधिकारीहरुले उनीहरु त्यहाँबाट नीजि कारमा रसुवागढी हुँदै तिब्बतको केरुङ पुगेको आशंका गरेका छन्।
‘द्वारिकाज होटल अगाडिबाट नीजि कारमा रसुवागढी हुँदै तिब्बतको केरुङ पुगेको हुनसक्ने आशंका छ,’ बैंक ह्याकिङ प्रकरणको अनुसन्धान गरिरहेका प्रहरीका एक अधिकारीले भने, ‘उनीहरुले भाडाको स्कोर्पियो जिप प्रयोग गरेका हुनसक्छन्।’
ह्याकिङ प्रकरणको अनुसन्धानको नेतृत्व गरिरहेका डीएसपी होविन्द्र बोगटी पनि पहिलो पटक नेपाल आएका ती चिनियाँहरुको आत्मविश्वास र स्थानको पहिचान हेर्दा नेपालमा कोही न कोही सहयोगी रहेको हुनसक्ने बताउँछन्।
‘हामी अनुसन्धानकै क्रममा छौं,’ डीएसपी बोगटीले भने, ‘ह्याकिङ प्रकरणमा संलग्न व्यक्तिहरुको खोजी हुनेछ, हामी धेरै कोणबाट घटनाको विश्लेषण गरिरहेका छौं।’
उनले भारत र कम्बोडियामा समेत यस्तै प्रकृतीको घटना यही समयमा भएकाले यो समूह ठूलो हुनसक्ने र उनीहरुलाई अन्तर्राष्ट्रिय गिरोहले संचालन गरेको हुनसक्ने बताए।
‘हामी संगठित अपराधमा मुद्दा चलाउने तयारी गरिरहेका छौं,’ डीएसपी बोगटीले भने, ‘प्राविधिक प्रतिवेदनले समेत थप खुलासा हुनेछ।’
राष्ट्र बैंकको प्रतिवेदन बुधबार
नेपाल राष्ट्र बैंकले शनिबार काठमाडौंमा भएको एटीएम लुट प्रकरणको प्रारम्भिक अनुसन्धान प्रतिवेदन बुधबार सार्वजनिक गर्ने भएको छ।
राष्ट्र बैंकले नेपालका निजी बैंकहरुले प्रयोग गरिरहेको सुरक्षा प्रणालीको विश्लेषण सहित घटना कसरी भयो र कहाँबाट नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स) लाई भिसा सिस्टमले उपलब्ध गराएको स्विच ह्याक भयो भन्ने विषय प्रतिवेदनमा समेटने छ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले घटनाको प्रारम्भीक अनुसन्धान पुरा भएको बताए। उनले अहिले प्रतिवेदन तयारीमा आफुहरु जुटेको बताए।
‘हामीले प्रारम्भिक अनुसन्धान पूरा गरेका छौं’, मिश्रले नेपालखबरसँग भने, ‘भोली बुधबार प्रतिवेदन आएसँगै धेरै कुरा खुल्नेछ, अहिले केही बताउन सकिन्न।’
उनका अनुसार नेपाली बैंकहरुबाट कति पैसा निकालियो र कुन कुन बैंकहरुबाट निकालिएको हो भन्ने विषय समेटिने छ।
केही बोल्दैनन् पक्राउ परेका आरोपी
प्रहरीले नबिल बैंकको एटीएमबाट रकम निकाल्दै गर्दा शनिबार पक्राउ पर्ने पाँच र विमानस्थलबाट पक्राउ परेका चिनियाँले प्रहरीलाई कुनै पनि सूचना नदिएको जनाएको छ। उनीहरुसँग सोधपुछका लागि भाषाको समस्य रहेको र दोभाषे ल्याउँदा समेत सबैले आफ्ना कानुन व्यवसायीसँग मात्रै बोल्ने बताएका छन्।
प्रहरीले चिनियाँ नागरिकहरू क्रमशः चेन बिन बिन, झु लियाङ आङ, क्वियु युङक्विङ, लुओ जिआल्बी र लिन बिनमेङलाई शनिबार पक्राउ गरेको हो। यस्तै आइतबार राती लुुस लीलाई पक्राउ गरेको छ। त्यसपछि तीनजना नेपाली पक्राउ परेका छन्।
परिसरका अनुसार ठमेलमा रहेको डेक्सो र नेपालय मनि चेञ्जरले अनाधिकृत रुपमा चारजना चिनियाँलाई २८ हजार ८ सय ६२ अमेरिकी डलर सटही गरिदिएका थिए। नेपाली रुपैयाँ सस्तोमा किनेर महंगोमा डलर बेच्ने डेक्सोका सञ्चालक वेदनाथ लामिछाने र नेपालयका सञ्चालक रोशन प्रधान श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। घटनामा प्रत्यक्ष संलग्न रहेका नेपाललयका प्रबन्धक रेवती दवाडी समेत पक्राउ परेका छन्।
प्रहरीले घटनास्थलबाट १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, ८० हङकङ डलर, १ हजार १ सय ९१ चिनियाँ युआन, ९ हजार १ सय ८ अमेरिकी डलर, ५ हजार कम्बोडियाको मुद्रा र २ सय ५० यूरो बरामद गरेको थियो।
राष्ट्र बैंकले नेपाली बैंकबाट झिकिएको बराबर रकम बरामद भएको दाबी गरेको छ।
प्रहरीले उनीहरुबाट उक्त नेपाली र विदेशी मुद्राबाहेक नक्कली भिसाकार्ड १ सय ३२ थान, सक्कली भिसा कार्ड १७ थान, कार्ड प्रिन्टर मेसिन, ६ वटा मोबाइल, ल्यापटप, सामसुङ मोबाइल र डाटा कार्ड एक एक थान बरामद गरेको छ।
प्रतिक्रिया