चौधरी ग्रुपअन्तर्गत सीजी प्रोपर्टिजले ललितपुरको सुनाकोठीमा दोस्रो फेजको हाउजिङ बुकिङ खुला गरेको छ।
सातदोबाटो चापागाउँ सडक खण्डको सुनाकोठीमा नेपाल टेलिकमको कार्यालयनजिकै हाउजिङ निर्माण भइरहेको छ। दोस्रो फेजमा २० वटा भिल्ला निर्माण हुँदै छन्।
त्यसमध्ये १५ वटा भिल्लाको लागि बुकिङ खुलेको कम्पनीले जनाएको छ। ७ वटा भिल्ला यसअघि नै बुकिङ भइसकेको छ।
ठूलो क्षेत्रफलमा बन्ने ५ वटा भने ग्राहकको मागअनुसार निर्माण हुनेछन्।
५ वटा भिल्ला ९ आना र १२ आना जग्गामा बन्नेछन्। घरको डिजाइन एउटै हुने भए पनि जग्गा धेरै हुने सीजीको भनाइ छ।
सीजी प्रोपर्टिजले सुनाकोठीमा पहिलो फेजमा ७० वटा भिल्ला निर्माण गरिसकेको छ। कम्पनीले त्यसका सबै युनिट बुकिङ भइसकेको बताएको छ।
सीजी प्रोपर्टिजका मार्केटिङ एक्जुकेटिभ कुसुम सिंहले दोस्रो फेजको बुकिङसँगै धमाधम भिल्ला निर्माण भइरहेको बताइन्।
सिंहका अनुसार बुकिङ भएका घरको निर्माण द्रुतगतिमा भइरहेको छ। बुकिङ नभएका घरको निर्माण विस्तारै गरिने सीजीले जनाएको छ।
‘तत्काल बुकिङ सकियो भने ७÷८ महिनामै सबै भिल्ला निर्माण भइसक्छन्’, सिंहले नेपालखबरसँग भनिन्, ‘बुकिङमा ढिलाइ भए पनि १ वर्षमा सबै भिल्ला निर्माण सक्ने योजना छ।’
सीजी प्रोपर्टिजले सुनाकोठीको दोस्रो फेज सकिएपछि ललितपुरकै धापाखेलमा नयाँ हाउजिङ योजना बनाउँदै छ।
कम्पनीले धापाखेलमा निर्माण हुने हाउजिङको बुकिङ औपचारिक रुपमा खुल्ला गरिसकेको छैन।
यस्ता छन् सुविधा
आधुनिक आर्किटेक्चरसहितका घर निर्माण भइरहेको हाउजिङभित्र २० फिट फराकिला सडक छन्। छेउछउमा हरियाली रहनेछ।
सहरको कोलाहलभन्दा टाढा शान्त रहेको हाउजिङ एरियामा पर्याप्त उज्यालोसँगै पार्किङको सुविधा छ। हाउजिङभित्र बन्ने घर भूकम्पप्रतिरोधी छन् भने चौबीसै घण्टा सफा पानीको व्यवस्था हुनेछ।
हाउजिङमा टेलिफोन, केबल टीभी र इन्टरनेटको सुविधा छ। हाउजिङ क्षेत्रको सुरक्षाको लागि सीसीटीभीले अनुगमन गर्ने व्यवस्था गरिने कम्पनीको भनाइ छ।
त्यस्तै, पर्याप्त खुल्ला क्षेत्र रहेको प्रोजेक्टमा हरेक घरमा पानी जम्मा गर्ने सुविधा छ।
त्यसबाहेक क्लब हाउज फेसिलिटी, स्विमिङ पुल, जिम सेन्टर, कम्युनिटी हलको सुविधा रहने सीजी प्रोप्रर्टिजले जानकारी दिएको छ।
सुनाकोठीमा निर्माण हुने घरको सुरुवाती मूल्य ३ करोड ५० लाख छ।
‘दोस्रो फेजमा निर्माण भइरहेका घरको सुरुवाती मूल्य ३ करोड ५० लाख रहेको छ’, सिंहले भनिन्, ‘अहिले बुकिङ गर्नेलाई त्यसमा केही छुट समेत दिइरहेका छौँ।’
३ प्रकारका घर
हाउजिङ क्षेत्रमा ३ प्रकारका भिल्ला रहनेछन्। पर्ल ए१मा ५ वटा बेडरुम, एउटा लिभिङ रुम, १ किचन, ४ वटा बाथरुम, १ पुजा रुम रहनेछ।
जसमा ग्राउन्ड फ्लोर अर्थात् भुइँतलामा कार पार्किङसहित लिभिङ रुम, बेडरुम, किचन र बाथरुम हुनेछ।
पहिलो तल्लामा मास्टर बेडरुमसहित ३ वटा बेडरुम हुनेछन्। भिल्लाको डिजाइनमा एट्याच बाथरुम र कमन बाथरुमसहित बाल्कोनीको व्यवस्था छ।
दोस्रो तल्लामा मास्टर बेडरुमसहित २ वटा बेडरुम र बाथरुम रहनेछन्। पर्ल ए१ भिल्ला १९ सय ८० वर्गफिटमा निर्माण हुने कम्पनीले जनाएको छ।
पर्ल२ किसिमका घरमा ४ वटा बेडरुमसहित लिभिङ रुम, किचन, पूजाकोठा, मेड रुमसहित ५ वटा बाथरुम निर्माण हुनेछन्।
साढे २ तल्लाका घरमा ग्राउन्ड फ्लोरमा लिभिङ, किचन, स्टोर, मेड रुम रहनेछन्। पहिलाे तल्लामा मास्टर बेडरुमसहित ३ वटा बेडरुम रहनेछन्।
दोस्रो तल्लामा बेडरुम, बाथरुम लन्ड्री, पूजाकोठा हुनेछ। भिल्लाको क्षेत्रफल १९ सय ८० वर्गफिट नै रहनेछ।
साढे २१ सय वर्गफिटमा बन्ने रुबी भिल्लामा पनि साढे २ तल्लाकै घर रहनेछन्। जसमा ग्राउन्ड फ्लोरमा कार पार्किङसहित लिभिड÷डाइनिङ, किचन, स्टोर, मेडरुम रहनेछन्।
प्राकृतिक आधुनिक आर्किटेक्चरमा बन्ने भिल्लाको पहिलो तल्लामा मास्टर बेडरुमसहित ३ वटा बेडरुम रहनेछन्।
दोस्रो तल्लामा बेडरुम, कमन बाथरुम, लाउन्ड्री, पुजा कोठासहितको हुनेछ।
Shares
प्रतिक्रिया