ad ad

कारोबार


५ अर्बमा बन्दैछ काठमाडौंको परिचय फेर्ने गरी ‘हाइराइज फाइभ स्टार’ समिट

५ अर्बमा बन्दैछ काठमाडौंको परिचय फेर्ने गरी ‘हाइराइज फाइभ स्टार’ समिट

वसन्त अर्याल
साउन २०, २०७८ बुधबार ६:१५, काठमाडौँ

ललितपुरको कुपन्डोल हाइटमा समिट होटल भत्काएर नेपालकै नमुना पाँचतारे होटलसँगै अपार्टमेन्ट निर्माण हुने भएको छ। 

चारतारे होटल समिटलाई भत्काएर उक्त क्षेत्रमा विलासी अपार्टमेन्टसहितको पाँचतारे होटल निर्माणको अन्तिम तयारी गरिएको हो। 

‘द समिट होटल एन्ड रेसिडेन्सी’ नामकरण गरिएको परियोजना काठमाडौं सहरका उच्चवर्गलाई लक्षित गर्दै निर्माण गरिनलागेको यसका लगानीकर्ताले बताएका छन्। 

समिट होटलमा व्यवसायी अमृतरत्न शाक्यसँगै चौधरी ग्रुप र रविभक्त श्रेष्ठको एनई ग्रुपको संयुक्त लगानी छ। 

एनई र सीजीले २०७१ चैतमा समिटको ६० प्रतिशत स्वामित्व खरिद गरेका हुन् भने ४० प्रतिशत सेयर स्वामित्व शाक्यको छ। 

१८ रोपनी क्षेत्रफलमा फैलिएको होटलमा अहिले ८६ कोठा छन्। समिट होटलका सञ्चालक अमृतरत्न शाक्यले आधुनिक पाँचतारे होटलसँगै रेसिडेन्सी निर्माणको तयारी गरिरहेको जानकारी दिए। 

‘१८ रोपनी जग्गा रहेको छ। त्यसलाई बुटिक होटल नै राख्न पाएको भए राम्रो हुन्थ्यो’, शाक्यले भने, ‘रुख, खुल्ला ठाउँसहित होराइजेन्टल डिजाइनमा समिट होटललाई निरन्तरता दिन सकेनौँ।’

कोरोनाको कारण व्यावसाय अतिप्रभावित हुँदा अर्को ४/५ वर्ष पर्यटन क्षेत्र राम्ररी फस्टाउने नदेखेपछि बुटिक होटललाई ‘हाइराइज फाइभ स्टार होटल’ र अपार्टमेन्ट बनाउने निष्कर्षमा लगानीकर्ता पुगेका हुन्। 

समिट होटललाई होराइजेन्टल डिजाइनबाट भर्टिकल डिजाइनमा लैजान खोजिएको छ। यसको मतलब पहिला साना भवन थिए भने अब अग्ला भवन निर्माण हुनेछन्। साना भवनले धेरै क्षेत्र ओगट्दा व्यावसायिक रुपमा धेरै फाइदा लिन नसक्ने देखिएपछि अग्ला भवन बनाउने योजना बनाइएको लगानीकर्ताको भनाइ छ। 

‘काठमाडौं सहरको मुटुमै १८ रोपनी जग्गा राख्नु गहना जस्तो मात्रै भयो’, शाक्य भन्छन्, ‘विभिन्न प्रकारको सम्भाव्यता अध्ययन गरेर १५/१६ तल्लाको भर्टिकल डिजाइनमा गयो भने इकोनोमिकल्ली भाएबल हुने देखिन्छ।’

एनई ग्रुपको तर्फबाट द समिट होटल एन्ड रेसिडेन्सीको तयारीमा संलग्न सञ्चित श्रेष्ठले पुरानै लगानीकर्ताबाट रकम थप हुने बताए। 

‘समिटलाई पाँचतारे होटलमा विस्तार र अपार्टमेन्ट निर्माणको लागि ३ वटा समूहकै लगानी थप हुन्छ। नयाँ लगानीकर्ता भित्रिँदैनन्’, श्रेष्ठले भने। 

द समिट होटल एन्ड रेसिडेन्समा ३ वटा भवन हुनेछन्। दुईवटा १५/१५ तलाका हुनेछन् भने बीचमा एउटा ब्रान्डेड रेसिडेन्सी हुनेछ। 

अपार्टमेन्टको रुपमा रहेको समिट रेसिडेन्सी १३० युनिटको रहनेछ। जसमा १ बेड रुम, २ बेड रुम, ३ बेड रुम रहेको छ। अहिले माग ५ बेडसहितको रुम समेत रहेको छ। स्ट्रक्चरलाई परिवर्तन नगरी त्यस्तो सुविधा उपलब्ध गराउनसक्ने अमृतरत्न शाक्यले बताए।

‘अग्लो बिल्डिङबाट काठमाडौं उपत्यका देखिने गरी होटल बनाउने कल्पना गरेका छौँ। होटल बनाएर बाँकी रहेका ठाउँमा वातावरणमैत्री १५ तल्लाको रेसिडेन्सी ब्लक बनाउने योजना रहेको छ’, शाक्य भन्छन्, ‘होटल र रेसिडेन्सीको बीचमा ब्रान्डेड रेसिडेन्सी रहनेछ। २३ वटा युनिट रहने ब्रान्डेड रेसिडेन्सी होटललाई नै लिजमा दिने योजना छ।’ 

हाल ८६ कोठा रहेको समिटमा ११० वटा कोठा हुनेछन्। अहिलेका सुविधा थप हुनेछन्। पाँचतारे होटल सञ्चालनको लागि होटल फोर सिजनलगायत अन्तर्राष्ट्रिय चेन होटलसँग छलफल गरिरहेको छ।

होटल तथा अपार्टमेन्टको कन्सेप्ट सिंगापुरको मेनहार्टले बनाएको हो। 

जसमा ओलम्पिक साइजकै स्विमिङ पुल रहनेछ। रमणीय वातावरण, वेडिङ डेस्टिनेसनको रुपमा विकास गर्ने उद्देश्य राखिएको छ। 

‘गुणस्तर, लाइफस्टाइलमा काठमाडौं सहरकै नमूना हुने गरी निर्माण गरौँ भन्ने हाम्रो चाहना हो। त्यसलाई एउटा डेस्टिनेसनकै रुपमा विकास गर्छौँ, शाक्यले भने। 

समिट होटललाई भत्काएर पाँचतारे होटलसँगै अपार्टमेन्ट बनाउने योजना बाहिरिएपछि राम्रो ‘इन्क्वाइरी’ आएको छ। 

शाक्यले बुकिङको इन्क्वाइरी थुप्रै आएको बताए। तर युनिट रोक्का राखे पनि पैसा लिएरै बुकिङ भने नभएको शाक्यको भनाइ छ।

‘युवा व्यवसायीदेखि प्रोफेसनल मानिसले बढी चासो देखाएका छन्’, शाक्यले भने, ‘दिउँसो घर नबस्नेले नर्थ साइड, दिनभर घरमा बस्नेले साउथ साइडमा रोक्का राखेका छन्।’

पाँचतारे होटल निर्माणको लागि ५ अर्बदेखि ६ अर्बसम्म खर्च हुनसक्ने अनुमान गरिएको छ। उक्त परियोजना सन् २०२५ सम्ममा निर्माण सक्ने योजनामा कम्पनी छ।

‘नेपाल भूकम्पको जोखिम रहेको देश हुँदा ग्राहकलाई गुणस्तर दिनु हाम्रो दायित्व हो। यो प्रोजेक्ट देखेर अरु व्यवसायीले पनि सिकून्’, शाक्यले भने, ‘यसले काठमाडौंलाई आधुनिक सहरको रुपमा परिचित गराउनेछ।’ 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .