ad ad

कारोबार


एनआईसी एसियाको मुनाफा ३ अर्ब २५ करोड, प्रतिसेयर आम्दानी २८.११ रुपैयाँ पुग्यो

एनआईसी एसियाको मुनाफा ३ अर्ब २५ करोड, प्रतिसेयर आम्दानी २८.११ रुपैयाँ पुग्यो

नेपालखबर
साउन ३१, २०७८ आइतबार १२:४६, काठमाडौँ

एनआईसी एसिया बैंकले गत आर्थिक वर्ष २०७७/०७८ मा व्यवसायमा ऐतिहासिक वृद्धि गरेको छ। 

बैंकले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणमा अधिकांश वित्तीय तथा गैरवित्तीय सूचकांकहरू राम्रो देखिएको हो। 

बैंकले प्रेस विज्ञप्तिमा भनेको छ, ‘कोभिड–१९ को महामारीका कारण सिर्जित असहज अवस्था, अर्थतन्त्रमा आएको अस्थिरता, आर्थिक गतिविधिमा आएको कमी जस्ता विषम परिस्थितिका बाबजुद पनि आ.व. २०७७/७८ मा व्यवसायतर्फ हासिल गरेको वित्तीय नतिजा नेपालको समग्र बैंकिङ्ग क्षेत्रकै ऐतिहासिक र हालसम्मको सर्वाधिक उच्च हो।’ 

कुल कर्जा २ खर्ब ६५ अर्ब 
आ.व. २०७७/७८ मा बैंकले कर्जातर्फ करिब ९१ अर्बको वृद्धि गरी कुल कर्जा रकम २ खर्ब ६५ अर्ब पु¥याएको छ। 

‘जुन २७ वटै वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै हो’, बैंकले भनेको छ, ‘मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब ७ सय १९ अर्बको कुल कर्जा वृद्धिमा यस बैंकको सर्वाधिक उच्च (१२.६६ प्रतिशत) बजार हिस्सा रहेको छ।’ 

आर्थिक वर्ष ०७७/७८ मा वाणिज्य बैंकहरुमा भएको कुल कर्जा वृद्धिको औसत प्रति बैंक कर्जा वृद्धि रकम करिब २४.१५ अर्ब रुपैयाँको तुलनामा एनआईसी एसियाको वृद्धि करिब ३.७६ गुणा हो।  

कुल निक्षेप २ खर्ब ९८ अर्ब 
यसैगरी बैंकको स्वदेशी मुद्राको निक्षेपतर्फ करिब ९० अर्बले वृद्धि गरी कुल स्वदेशी मुद्राको निक्षेप संकलन २ खर्ब ९८ अर्ब पु¥याउन बैंक सफल भएको छ। जुन २७ वटै वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै हो। 

मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब ६ सय ५५ अर्बको कुल वृद्धिमा यस बैंकको हिस्सा १३.५८ प्रतिशत रहेको छ। 

आर्थिक वर्ष ०७७/७८ मा वाणिज्य बैंकहरुमा भएको निक्षेप वृद्धिको औसत प्रति बैंक निक्षेप वृद्धि करिब २१.७३ अर्ब रुपैयाँको तुलनामा यस बैंकको वृद्धि करिब ४.१४ गुणा रहेको छ। 

खुद नाफा ३ अर्ब २५ करोड 
बैंकले आ.व. २०७७/७८ मा ३ अर्ब २५ करोड खुद मुनाफा आर्जन गरेको छ भने वार्षिक प्रतिसेयर आम्दानी २८.११ रुपैयाँ पु¥याएको छ। त्यसैगरी बैंकको स्व–पुँजीमा प्रतिफल १७.१४ प्रतिशत रहेको छ जुन वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी भएको अनुमान गरिएको छ। अघिल्लो आव २०७६/७७ मा समेत बैंकको यस्तो प्रतिफल वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढीे थियो ।

आ.व. २०७६/७७ को अन्त्यमा ०.७५ प्रतिशत रहेको निष्क्रिय कर्जालाई आ.व. २०७७/७८ को चौथो त्रैमासिकसम्ममा ०.४६ प्रतिशतमा झार्न बैंक सफल भएको छ। 

साथै, गत आर्थिक वर्षसम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा विस्तार गरेको छ। 

साना तथा मझौला र कृषि कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरूभन्दा एनआईसी बैंक अग्रणी स्थानमा रहेको छ। 

‘बैंकले अवलम्बन गरेको अब्बल जोखिम व्यवस्थापन रणनीतिको परिणाम स्वरूप बैंकका प्रमुख १० ग्राहकको कुल कर्जा अंश बैंकको कुल कर्जाको ३.७ प्रतिशत मात्रै रहेको छ र सो समग्र बैंकिङ्ग क्षेत्रकै सबैभन्दा उत्कृष्टमा पर्दछ’, एनआईसी एसिया बैंकले भनेको छ, ‘साथै, बैंकको कर्जा जोखिम अत्यन्त न्यून रहेको छ । यस बैंकको कुल कर्जामा रू. ५ करोड भन्दा कम सीमा भएका कर्जाहरूको अंश ९०.५६ प्रतिशत रहेको छ। बैंकले निक्षेपतर्फ पनि स–साना निक्षेप एवम् व्यक्तिगत निक्षेप वृद्धि गर्दै जाने रणनीति अवलम्बन गरेको छ।’

२७ लाख नाघ्यो निक्षेप खाता
बैंकले आ.व. २०७७/७८ मा ४ लाख ६६ हजार ४९५ नयाँ ग्राहक संख्या थप गर्दै २७ लाख ३६ हजारभन्दा बढी निक्षेप खाता एवं ९१ हजारभन्दा बढी कर्जा खाता गरी बैंकको कुल २८ लाख २७ हजारभन्दा बढी खाताहरूमार्फत ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ। 

यस बैंकको ग्राहक संख्या निजी क्षेत्रका वाणिज्य बैंकहरूको तुलनामा सर्वाधिक उच्च रहेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्ष उमेर समूह देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रुपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ। 

बैंकिङ्ग क्षेत्रको विभिन्न वित्तीय तथा गैरवित्तीय सूचकांकहरूमा अग्रणी स्थानमा रहेको यस बैंक आ.व. २०७७/७८ को तेस्रो त्रयमासमा कर्जा, निक्षेप, स्व–पुँजीमा प्रतिफल, शाखा कार्यालय, र एटिएममा मुलुकका अन्य वाणिज्य बैंकहरूमध्ये पहिलो स्थान ओगट्न सफल भएको छ । 

साथै सोही अवधिमा खुद ब्याज आम्दानीतर्फ अन्य वाणिज्य बैंकहरूमध्ये दोस्रो स्थानमा रहेको छ भने चल्ती तथा बचत निक्षेपमा तेस्रो स्थानमा रहेको छ र खुद नाफा एवं प्रतिसेयर आम्दानीमा चौथो स्थान ओगट्न सफल भएको छ।

आ.व. २०७७/७८ को अन्त्यमा बैंकको भौतिक र डिजिटल कारोबारको अनुपात ७९ः२१ पुगेको छ । जुन आ. व. २०७६/७७ मा ७०ः३० रहेको थियो। बैंकको डिजिटल कारोबारको मिश्रण नेपालको बैंकिङ्ग क्षेत्रकै सर्वाधिक उच्च रहेको प्रक्षेपण रहेको छ। 

२५ प्रतिशतले बढ्यो मोबाइल बैंकिङ ग्राहक
त्यसैगरी बैंकले आ. व. २०७७/७८ मा मोबाइल बैंकिङ्गमा २ लाख ८९ हजार (२५ प्रतिशत) ले ग्राहकहरू वृद्धि गरी समग्र बजारको वृद्धिमा भएको बजार हिस्साको करिब १३ प्रतिशत हिस्सा सहित कुल १४ लाख २६ हजार प्रयोगकर्ता पु¥याउन सफल भएको छ। 

इन्टरनेट बैंकिङ्ग ग्राहकहरू २१ हजार (१९ प्रतिशत) ले वृद्धि गरी समग्र बजारको वृद्धिमा भएको बजार हिस्साको करिब २४ प्रतिशत सहित कुल १ लाख ३३ हजार प्रयोगकर्ताहरू पु¥याउन बैंक सफल भएको छ। 

डेबिट कार्डतर्फ २ लाख ४५ हजार (२८ प्रतिशत) ले प्रयोगकर्ताहरू वृद्धि गरी समग्र बजारको वृद्धिमा भएको बजार हिस्साको करिब २० प्रतिशत सहित कुल ११ लाख ३० हजार पु¥याउन बैंक सफल भएको छ। 

त्यसैगरी क्युआर मर्चेन्टतर्फ ४० हजार (२६८ प्रतिशत) ले वृद्धि गरी समग्र बजारको वृद्धिमा भएको बजार हिस्साको करिब १४.५२ प्रतिशत सहित कुल ५५ हजार क्युआर मर्चेन्ट पु¥याउन बैंक सफल भएको छ। 

बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरूको न्यून उपस्थिति रहेका दुर्गम जिल्लाहरू मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान आदि तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरूको उपस्थीति नरहेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा समेत शाखा सञ्जाल विस्तार गरी वित्तीय पहुँच विस्तारमा समेत गर्न उल्लेख्य योगदान पु¥याएको दाबी गरेको छ। 

नियमनकारी निकायले कुल कर्जा प्रवाहको ५ प्रतिशत कर्जा देशका विपन्न वर्गलाई प्रवाह गर्नुपर्ने व्यवस्था गरेकोमा यस बैंकले गत आ.व. मा कुल कर्जा रकमको ७.४ प्रतिशत अर्थात् करिब २० अर्ब कर्जा प्रवाह गरेको छ। 

कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामिण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्नो ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ। बैंकले हालसम्म ३५६ शाखा, ४७१ एटिएम, ७० विस्तारित काउन्टर तथा ८१ शाखा रहित बैंकिङ्ग जस्ता सञ्जालमार्फत आफ्ना ग्राहक महानुभावहरूको बैंकिङ्ग आवश्यकता पूरा गरिरहेको छ। 

त्यस्तै, स्थापना कालदेखि हालसम्म प्रत्यक्ष र अप्रत्यक्ष गरी १५ अर्ब ७३ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी बैंकले गरेको छ। 

बैंकले आ.व. २०७७/७८ मा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब २ अर्ब ८३ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको जनाएको छ। 

२४ वर्षको अवधिमा आफ्नो सेयरधनीहरुको अप्टिमम वेल्थ म्याक्सिमाइजेसन गरी लगानीमा उच्चतम प्रतिफल प्रदान गर्न बैंक सफल भएको छ। 

सर्वसाधारण सेयरधनीको सुरुवाती एक कित्ता पब्लिक सेयरको मूल्य हाल १३ हजार ६ सय ६२ हुन पुगेको छ, जुन सुरुवाती लगानी रकमको करिब १ सय ३६ गुणाको वृद्धि हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .