नेपाली सडकमा चर्चित चार अमेरिकी ब्रान्डका गाडी गुडिरहेका छन्।
तीमध्ये केही गाडी अमेरिकामै उत्पादन भएर आउँछन् भने केही भारतमा उत्पादित गाडी नेपाल भित्रिने गरेका हुन्।
विश्व बजारमा अमेरिकाको सबैभन्दा बिक्री हुने गाडी फोर्ड हो। दोस्रोमा सेव्रुले र तेस्रोमा जिपका गाडी बिक्री हुँदै आएका छन्।
विद्युतीय गाडीमा विश्वभर टेस्लाका गाडी बिक्री हुने गरेका छन्। फोर्ड, स्रेव्रुले, जिप र टेस्ला सबै नेपाली सडकमा गुड्ने सवारीसाधन हुन्।
सेव्रुले ब्रान्डका गाडी नेपाली सडकमा बिक्री भए पनि अहिले नेपाल आउन बन्द भइसकेको छ।
नेपाली सडकमा सबैभन्दा बढी फोर्ड र जिप ब्रान्डका धेरै छन्। टेस्लाका गाडी गत वर्षमात्रै नेपाल भित्रिएका थिए।
जिप सन् १९४१ मा स्थापना भएको गाडी उत्पादक कम्पनी हुन्। नेपालमा जिप ब्रान्डका गाडी एमएडब्लुअन्तर्गतको लाइफ अटोमोबाइल प्रालिले बिक्री गर्दै आएको छ।
अमेरिकी ब्रान्ड जिपका केही मोडल भारतको प्लान्टमा उत्पादन हुन्छन् भने केही सिधै अमेरिकाबाट आउने गरेको कम्पनीले जनाएको छ।
एसयूभी जिप न्यु कम्पास भारतमा उत्पादित भएर नेपाल आउने गरेको छ। न्यु जिप कम्पास ८४ लाख ९० हजारदेखि १ करोड ३६ लाखसम्मका गाडी नेपाल भित्रिएका छन्।
अमेरिकामै उत्पादन भएका ¥याङ्गलर, ग्रान्ड मोडलका गाडी भने अमेरिकाबाटै आयात हुने गरेका छन्। पेट्रोल इन्जिनमा उपलब्ध यी गाडी २ करोड ५९ लाख ९० हजारदेखि २ करोड ८३ लाखसम्म मूल्य पर्ने कम्पनीले जनाएको छ।
एमएडब्लु इन्टरप्राइजेजका मार्केटिङ कम्युनिकेसन म्यानेजर रमेश दनेखुले जिपले ¥याङ्गलरलगायतका मोडल सिधै अमेरिकाबाटै आयात गरिने बताए।
‘भारतीय प्लान्टमा जिप कम्पास बने पनि अमेरिकी प्रविधि नै हो’, दनेखुले भने, ‘¥याङ्गलर अमेरिकाबाटै आयात हुन्छ। केही समयपछि हामी नयाँ गाडी लन्च गर्दै छौँ।’
टेस्ला
विश्व चर्चित ब्रान्ड टेस्ला सन् २००३ मा स्थापना भएको कम्पनी हो। अर्बपति एलन मस्कलाई विश्वकै धनी बनाइदिएको चर्चित विद्युतीय कम्पनी टेस्लाको नेपालमा आधिकारिक बिक्रेता नियुक्त नभएकाले दुईवटा कम्पनीले दुई मोडलका गाडी भित्र्याएका छन्।
मोडल एक्सको गाडी श्रीमा डिस्ट्रिब्युटर्स प्रालिले नेपाल भित्र्याएको जनाएको छ। त्यसैगरी अरेत इन्टरनेशनल प्रालिले मोडल ३ का टेस्ला गाडी भित्र्याएको छ।
अरेत इन्टरनेशनलले टेस्लाका गाडी अमेरिकामै उत्पादित भएको जानकारी दिएको छ। कम्पनीले डेलिभरी हङकङबाट लिए पनि अमेरिकाबाटै अर्डर गरिएको बताएको छ।
‘टेस्लाका गाडी अमेरिकाबाटै अर्डर गरिएको हो’, अरेत इन्टरनेशनलका एक अधिकारीले भने, ‘तर हामीले हङकङबाट डेलिभरी पाएका हौँ।’
फोर्ड
विश्वचर्चित कार ब्रान्ड फोर्ड अमेरिकामा सन् १९०३ मा स्थापना भएको कम्पनी हो। नेपालमा फोर्ड गाडीको आधिकारिक बिक्रेता गोल्छा अर्गनाइजेसन (जिओ अटोमोबाइल्स प्रालि) रहेको छ।
कम्पनीले टिटानियमका हचब्याग, सीयूभी, एसयूभी सेगमेन्ट भारतको प्लान्टबाटै उत्पादन आउँछन्।
फोर्डकै पिकअप रेन्जर र र्याप्टोर मोडलका गाडी थाइल्यान्डबाट ल्याउँदै आएको छ।
सेव्रुले
सेवु्रले १९११ मा स्थापना भएको हो। सेव्रुले नेपालमा राम्रो बिक्री भएको ब्रान्ड थियो।
सेव्रुले वैद्य अर्गनाइजेसनअन्तर्गतको विजय मोटर्सले बिक्री गर्दै आएको थियो। उक्त ब्रान्डका गाडी नेपाली सडकमा गुडे पनि नयाँ गाडीको बिक्री बन्द भएको छ।
सीमित गाडी मात्रै अमेरिकाबाट आयात
अमेरिकी ब्रान्ड विश्वभर चर्चित रहे पनि अमेरिकामै उत्पादन भएका गाडी सीमित रहेका छन्। भन्सार विभागको तथ्यांकअनुसार १५ सयदेखि २ हजार सीसीसम्म पेट्रोल इन्जिनका गाडी १५ वटा भित्रिएका छन्।
डिजेल इन्जिनका १५ सयदेखि २५ सय सीसीसम्मका १ र ३ हजार सीसीसम्मका २ वटा गाडी आयात भएका छन्।
२ हजार सीसीको पेट्रोल इन्जिन भएको इलेक्ट्रिक हाईब्रिड ८ वटा गाडी भित्रिएका छन्।
गत आर्थिक वर्षमा १०० सीसीदेखि १५० सीसीसम्मका १३ वटा विद्युतीय गाडी नेपाल भित्रिएका छन्।
त्यस्तै सेफ्टी बेल्ट, लोरी, बम्पर, बडी, ब्रेक, टायर, सस्पेन्सन, रेडिएटर्स, क्लच, स्टेरिङ ह्विललगायतका सवारीसाधनमा प्रयोग हुने पाट्र्स समेत अमेरिकाबाटै आयात हुने गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।
मोटरसाइकल आए तर बन्द भए
हार्ले डेभिड्सन अमेरिकाको आइकोनिक मोटरसाइकल ब्रान्ड हो । यसको स्थापना सन् १९०३ मा भएको थियो।
हार्ले मोटरसाइकल सबैभन्दा बढी अमेरिका र युरोपमा बिक्री हुँदै आएको छ।
आईएमई ग्रुपअन्तर्गतको आईएमई अटोमोटिभ्सले सन् २०१८ को नाडा अटो शोमार्फत नेपालमा पहिलोपटक हार्ले डेभिडसनका बाइक औपचारिक रुपमा भित्र्याएको थियो।
नेपालमा काठमाडौंस्थित गैह्रीधारामा कार्यालय खोलेर यस कम्पनीले अत्याधुनिक प्रविधिको प्रयोग गरी हार्ले डेभिडसन बाइकको सर्भिसिङ सेवा सुरु गरे पनि टिक्न सकेन।
कोभिडको कारण देखाउँदै शोरुम बन्द भएको छ। कम्पनीले बुकिङपछि मात्रै हार्ले बाइक भित्राउने बताएका छन्।
त्यस्तै अमेरिकन ब्रान्ड यूएम मोटरसाइकल पनि नेपाली बजारबाट विस्थापित भएको छ। यूएम मोटरसाइकल आईएमई अटोमोटिभ्सले नै बिक्री गर्दै आएको थियो।
Shares
प्रतिक्रिया