नेपालमा पाँचतारे होटल सञ्चालन गर्न बूढानीलकण्ठमा जग्गाको समेत जोहो गरिसकेको सूर्य नेपालको योजना उद्योग विभागमै अड्किएको छ।
चुरोटमा एकछत्र व्यापार व्यवसाय गरिरहेको बहुराष्ट्रिय कम्पनीले नेपालमा रहेको आफ्नो व्यवसायको नाफाकै पैसाले पाँच तारे होटल सञ्चालनको योजना बनाएको हो।
तर विभागले सूर्य नेपालको लगानी मोडालिटीमा होटल सञ्चालनको अनुमति दिन नमानेको हो। होटल सञ्चालनको लाइसेन्स पाउन कम्पनीले दुई वर्षदेखि दर्ताको लागि विभागमा प्रयास गरिरहेको छ।
विभागले भने एकमुष्ठ लगानीको मोडालिटी नभएसम्म उद्योग दर्ता गर्न नदिने अडान लिएको छ।
सूर्य नेपालका उपाध्यक्ष रवि केसीले दर्ता नै रोकिएका कारण होटल निर्माणको कुनै काम अघि बढाउन नसकिएको बताए।
उनले नेपालखबरसँग भने, ‘विना लाइसेन्स अघि बढ्ने कुरा हुँदैन, दुई वर्षदेखि हामी सरकासँग लाइसेन्सको पर्खाइमा छौँ।’
सूर्य नेपालले आफ्नो लाभांश रकम नै पाँचतारे होटलमा लगानी गर्ने भनेको थियो। तर उसले लगानीकर्तालाई पनि लाभांश वितरण गरिरहेको छ।
कम्पनीमा सबैभन्दा बढी आईटीसी लिमिटेड इन्डियाको ५९ प्रतिशत, नेपाली लगानीकर्ताको ३९ प्रतिशत र ब्रिटिश अमेरिकन टोबाको इन्भेष्टमेन्टको २ प्रतिशत सेयर लगानी छ।
सूर्य नेपालले होटल सञ्चालनको लागि २०७६ पुसमा आवेदन दिएको थियो। त्यसयता उसले ७ अर्ब रुपैयाँ लाभांशबापतको रकम विदेशी लगानीकर्तालाई पठाइसकको छ।
विदेशी लगानीकर्ताले आफ्नो लाभांशबापत आर्थिक वर्ष २०७५/०७६ मा ३ अर्ब रुपैयाँ लगेका थिए। त्यस्तै आर्थिक वर्ष २०७६/०७७ र आर्थिक वर्ष २०७७/०७८ मा गरेर ४ अर्ब लगेका छन्। त्योमध्ये केही रकम विदेशिने प्रक्रियामा छ।
ठूलो होटल उद्योग सञ्चालन गर्ने गरी सूर्य नेपालले आवदेन दिएको विभागका एक अधिकारीले बताए।
उनका अनुसार त्यसको लगानीको स्रोत सूर्य नेपालले लाभांश नै हुने उद्योग दर्ताको विवरणमा उल्लेख गरेको छ। तर लाभांश रकम पनि विदेश पठाउने, होटल सञ्चालन स्वीकृति पनि माग गर्ने क्रम निरन्तर रहेको उनको भनाइ छ।
यही विषयमा होटल दर्ता रोकिएको ती अधिकारीले बताए।
तर उपाध्यक्ष केसी पहिला उद्योग दर्ता भएपछि मात्रै लाभांश वितरणमा छलफल गर्न सकिने बताउँछन्।
‘लगानी गरेपछि त्यसको प्रतिफल खोज्नु स्वाभाविक हो। विदेशी लगानीकर्ताले आफ्नो नाफाबापतको पैसा लैजानुलाई स्वाभाविक मान्नुपर्छ’, केसीले भने, ‘लाइसेन्स नै नपाई लाभांश वितरण नगर्ने कुरा हुँदैन।’
यस्तो छ सूर्य नेपालले उद्योग विभागमा दिएको आवेदन
सूर्य नेपाालले नेपालमा रहेको आफ्नो कम्पनीको लगानी समेत वृद्धि गर्ने योजना बनाएकोले होटल सञ्चालन गर्नलागेको बताएको छ।
विभागमा दिएको आवेदनमा उसले कम्पनीको भगिनी कम्पनीको रुपमा होटल सञ्चालन गर्ने योजना प्रस्तुत गरेको छ।
सोहीअनुसार सूर्य नेपाल सञ्चालक समितिले कम्पनीको हाल रहेको अधिकृत पुँजी ६ अर्ब ५० करोडबाट बढाएर १८ अर्ब रुपैयाँ पुर्याउने निर्णय गरेको जनाएको छ।
सञ्चालक समितिले कम्पनीको अधिकृत सेयर पुँजी ६ करोड ५० लाख कित्तामा प्रतिकित्ता एक सयका दरले वृद्धि गर्ने निर्णय गरेको थियो।
यसअनुसार १८ करोड कित्ता सेयर विभाजन हुनेछ भने अधिकृत पुँजी १८ अर्ब रुपैयाँ पुर्याइनेछ।
सेयरधनीको नाफाबाट नै प्रतिकित्ता एक सयका दरले वृद्धि गर्ने उसको योजना छ।
आवेदनमा भनिएको छ, ‘वृद्धि भएको पुँजीले उपत्यकामा पाँचतारे होटल सञ्चालन गरिनेछ। पाँचतारेको सबै मापदण्ड पूरा हुने गरी होटल सञ्चालन गर्ने सञ्चालक समितिबाट निर्णय भएको छ, होटलमा क्यासिनो समेत रहनेछ।’
कम्पनीका सेयर होल्डरहरुले उल्लिखित अधिकृत सेयर पुँजीवृद्धि कम्पनीको प्रबन्धपत्र तथा विनियमावलीमा प्रतिविम्बित गर्ने गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने निर्णय समेत सञ्चालक समितिले गरिसकेको विभागमा पठाएको विवरणमा उल्लेख छ।
Shares
प्रतिक्रिया