अब वनस्पति घ्यू तथा तेल उद्योगीले जति पनि आयात गरेर प्रशोधन गर्न पाउने भएका छन्।
गत वैशाख अन्तिममा बसेको मन्त्रिपरिषद्को बैठकले यस्ता उद्योगीलाई कच्चापदार्थ आयात गरेर चाहेजति प्रशोधन गर्न पाउने गरी निर्णय गरेको थाहा भएको हो।
यद्यपि यो निर्णय सार्वजनिक गरिएको थिएन।
यसअघि यस्ता उद्योगलाई उत्पादन र प्रशोधनमा सीमा निर्धारण गरिएको थियो।
वि.सं. २०५३ देखि वनस्पति घ्यूसम्बन्धी उद्योगको क्षमता तोकिएको थियो। सुरुमा उद्योगको उत्पादन क्षमता एक उद्योगले घ्यू र तेल गरी १२ हजार मेट्रिक टन थियो।
सोको उत्पादन क्षमतावृद्धि गर्नुपर्ने भई सो प्रयोजनको लागि वातावरण प्रभावको अध्ययन गरी प्रतिवेदनसहित स्वीकृतिको लागि पेश गरेकोमा उद्योग विभागले २०५७ सालमा उत्पादन क्षमतावृद्धि गरी घ्यू २० हजार मेट्रिक टन र प्रशोधित तेल ५ हजार मेट्रिक टनको उत्पादन क्षमता कायम भएको थियो ।
नेपाल–भारतबीच सन् २००२ मा सम्पन्न भएको वाणिज्य सम्झौताको प्रोटोकलको धारा ५ ले नेपालबाट भारतमा निर्यात हुने वनस्पति घ्यूको निर्यातमा परिमाणात्मक बन्देज लगाएको थियो।
प्रत्येक घ्यू उद्योगलाई कोटा एकीन गर्ने सिलसिलामा उद्योगको स्वीकृत उत्पादनसम्बन्धी क्षमताको प्रश्न आएपछि उद्योगको औद्योगिक इजाजत पत्रमा तोकेको परिमाणलाई मात्र आधार बनाउने कि भारत निर्यात गरेको परिमाणलाई उत्पादन क्षमताको आधार बनाउने भन्ने सम्बन्धमा विवाद भयो।
उद्योगीहरुले उद्योग विभागसमेतको विरुद्धमा सर्वोच्च अदालतमा उजुरी गरे। सर्वोच्चले भने क्षमता र कोटा कायम हुने निर्णय दियो। अर्थात् उद्योगीले दिएको उजुरीको विपक्षमा निर्णय भयो।
त्यसयता उत्पादन क्षमताको सीमा निर्धारण भइरहेकामा गत वैशाखमा सरकारले नै त्यसलाई हटाएपछि सोया आयललगायतको वस्तु निर्यातमा बढोत्तरी भइरहेको छ।
सोही कारण नेपालबाट भारतमा वनस्पति घ्यू तथा तेल निर्यात बढिरहेको छ। व्यवसायीहरुले तेस्रो मुलुकबाट यस्ता वस्तु आयात गरेर नेपालमा प्रशोधन गरी भारतमा निर्यात गर्दै आएका छन्।
तेस्रो मुलकबाट आयात गरेर छिमेकी देशमा निर्यात हुने कार्यलाई सरकारले नै प्रवद्र्धन गर्ने नीति लिएकोले यसो भएको हो।
नेपालबाट अघिल्लो आर्थिक वर्षसम्म सबैभन्दा धेरै निर्यात हुने वस्तु पाम आयल थियो। गत आर्थिक वर्षदेखि सोया आयल सबैभन्दा धेरै निर्यात भएको छ।
आर्थिक वर्ष २०७७÷०७८ मा कुल वस्तु निर्यात ४४.४ प्रतिशतले वृद्धि भई १ खर्ब ४१ अर्ब १२ करोड पुगेको छ। जसमध्ये सबैभन्दा धेरै सोया आयल निर्यात भएको छ।
गत आर्थिक वर्ष ५३ अर्ब ६५ करोड रुपैयाँको सोआ आयल निर्यात भएको छ। यो भनेको कुल निर्यातको ३८ प्रतिशत हो।
यसरी निर्यात भइरहे पनि नेपालको यो दीर्घकालीन रुपमै निर्यात हुने वस्तु भने होइन। भारतले जुनसुकै समयमा पनि यसको बन्देज लगाउन सक्छ।
भारतले पाम आयललार्ई पटक–पटक बन्देज लगाउने र खुल्ला गर्ने काम गरिरहेको छ। गत वर्षदेखि नेपालबाट पाम आयल निर्यात नै बन्द गरिएको छ। त्यसपछि सोया आयल भारत गइरहेको छ।
नेपाालले यसलाई नै प्रोत्साहन गर्ने नीति लिएको छ।
नेपाली उद्योगहरुले तेस्रो मुलकबाट कच्चा पदार्थ ल्याउने र नेपालमा प्रशोधन गरेर बिक्री गर्ने गरिरहेका छन्।
ती आयातित वस्तुको २० प्रतिशत मूल्यअभिवृद्धि हुने गरी प्रशोधन गर्ने व्यवसायीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई बताइरहेका छन्।
उद्योगी राजकुमार अग्रवाल सरकारी कानुनअनुसार नै मूल्यअभिवृद्धि भइरहेको दाबी गर्छन्।
उद्योगीहरुको दाबीअनुसार नै सरकारले पनि उद्योगीहरुलाई सहजता प्रदान गरेको हो।
Shares
प्रतिक्रिया