बिलेट आयात गरी डन्डी बनाउने उद्योगले सरकारले ल्याएको प्रतिस्थापन विधेयकको विरोध गरेका छन्।
सरकारको छुटसम्बन्धी नीतिले बिलेट आयात गरी डन्डी उत्पादन गर्ने उद्योगलाई मार परेको भन्दै उद्योगीहरुले प्रतिस्थापन विधेयकको विरोध गरेका हुन्।
नेपालमा दुईथरि स्टिल उद्योग छन्। यसमध्ये एउटाले तयारी बिलेट आयात गरी स्टिल उत्पादन गर्छन् भने अर्को उद्योगले स्पोन्ज आइरन आयात गरी बिलेट उत्पादन गर्छन् अनि मात्रै स्टिल (छडहरु) बनाउँछन्।
सरकारले संशोधित बजेटमार्फत बिलेट बनाउन चाहिने कच्चा पदार्थ स्पोन्ज आइरन आयातमा छुट दिएको छ।
तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशबाट ल्याएको बजेटलाई हालका अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत बजेट संशोधन गरी संसदमा प्रस्तुत गरेका छन्।
सरकारले आर्थिक ऐन संशोधन गर्दै स्पोन्ज आइरन आयात गर्दा शून्य प्रतिशत भन्सार र शून्य प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरेको छ।
तर बिलेट आयात गर्दा ४.७५ प्रतिशत भन्सार कर लाग्दै आएकोमा हेरफेर गरेको छैन। त्यसबाहेक प्रतिमेट्रिक टन १६ सय ५० अन्तःशुल्क लाग्दै आएकोमा १५ सय मेट्रिक टन पु¥याएको छ।
सिधै बिलेट आयात गरी डन्डी बनाउने उद्योगले सरकारको नयाँ व्यवस्थाले आफ्ना उद्योग बन्द हुने अवस्था आएको दाबी गरेका छन्।
उनीहरुले छवटा उद्योगलाई मात्रै नाफा हुने गरी सरकारी नीति आएको बताएका छन्।
नेपालमा सानाठूला गरी ३० भन्दा बढी उद्योगले फलामे छड उत्पादन गर्दै आएका छन्। त्यसमध्ये ६ वटा उद्योगले मात्रै स्पोन्ज आइरनबाट डन्डी बनाउँदै आएका छन्।
नेपाल स्टिल रोलिङ मिल एसोसिएसनका वरिष्ठ उपाध्यक्ष किरण साःखले स्पोन्ज आइरनको भन्सार महशुलमा शून्य प्रतिशत भन्सार लाग्ने तर आयातित बिलेटको भन्सार ४.७५ प्रतिशत लग्दा बिलेटमा आधारित स्टिल उद्योग बन्द हुने बताए।
‘भन्सार यथावत् र अन्तःशुल्कलाई १६ सय ५० बाट वृद्धि गरी २५ सय प्रतिमेट्रिक टन पुर्याएको छ’, साःख स्टिलका सञ्चालक समेत रहेका किरण साःखले भने, ‘सरकारको नीतिले १ खर्ब लागत भएका २४ उद्योग डुब्छन्।’
साःखले अहिलेको अवस्थामा स्पोन्ज उत्पादन गर्ने उद्योगसँग प्रतिस्पर्धा गर्न नसकिने बताए।
यसले बैंकको लगानीमा समेत प्रभाव पर्ने उद्योगीहरुको भनाइ छ।
स्टिल रोलिङ मिल एसोसिएसनका पूर्वअध्यक्ष प्रदीप कुमार श्रेष्ठले बिलेटबाट उत्पादन हुने डन्डीको तुलनामा स्पोन्ज आयातबाट उत्पादन हुने डन्डीको गुणस्तर कम हुने दाबी गरेका छन्।
‘सरकारले नयाँ नीतिले २४ उद्योगले बिलेटबाट डन्डी उत्पादन गर्दा प्रतिकिलो ५ देखि ६ रुपैयाँ महंगो हुन्छ’, पञ्चकन्या स्टिलका सञ्चालक श्रेष्ठले भने, ‘बिलेट आयात गरी बनेको डन्डी खरिद गर्दा ग्राहकलाई महंगीको भार थेग्नुपर्छ। स्पोन्ज आइरनको गुणस्तर कम हुन्छ।’
बिलेट आयात गर्ने उद्योगले नेपालमा प्राइम बिलेट उत्पादन नहुँदा बाहिरबाट ल्याउनुपरेको बताएका छन्। नेपालमा हाल ५०० डी ग्रेडको फलामे छडको फलामे छडको माग भएको र ठूला आयोजनामा ५०० डी ग्रेड नै आवश्यक हुने उनीहरु बताउँछन्।
स्पोन्ज आइरनबाट उत्पादन गर्दा ५०० डी ग्रेडबराबरको गुणस्तर हुन सक्दैन। उक्त गुणस्तरको लागि प्राइम बिलेट चाहिने उद्योगीको दाबी छ।
सरकारले स्थानीय उद्योगलाई उकास्न बिलेट आयात गर्ने उद्योगलाई निरुत्साहित र स्पोन्ज आयात गर्ने उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्यले नयाँ नीति लिएको जनाएको छ।
सरकारले नेपालमा उत्पादन भएको विद्युत् खेर जान नदिन स्पोन्जमा आधारित उद्योग स्थापना गर्नुपर्ने सरकारले उल्लेख गरेको छ।
बिलेट आयात गरी डन्डी बनाउने उद्योगले सरकारको नीतिले ५ अर्बबराबरको राजस्व गुम्ने बताउँदै सरकार र उपभोक्ता दुवैलाई फाइदा नहुने बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले सरकारको नीति गलत नभए पनि तत्काल नतिजा नराम्रो निस्किने बताए।
‘हामीले स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्नुपर्छ। स्थिर नीति आवश्यक छ भन्ने माग राख्दै आएका थियौँ’, सिद्धि लक्ष्मी स्टिलका सञ्चालक श्रेष्ठले भने, ‘हिजो निर्णय गरेर आज लागू गर्दा ६ उद्योग बाँच्ने र २४ उद्योग बन्द हुने अवस्था आउँछ।’
श्रेष्ठले बिलेटबाट डन्डी उत्पादन गर्ने उद्योगलाई १/२ वर्षको समय दिई नयाँ नीति लागू गर्नसक्ने बताए। तत्काल लागू गर्दा बिलेटमा आधारित उद्योग बन्द हुँदा १० हजार रोजगारी र १ खर्ब लागत जोखिममा पर्ने बताए।
प्रिमियर स्टिलका पवन सारडाले सरकारले सरोकारवालासँग छलफल नै नगरी नयाँ नीति ल्याउँदा समस्या भएको बताए।
उनले सरकारले विद्युत् खपतको लागि नयाँ नीति ल्याएको बताए पनि अहिले स्थापना भएकै उद्योगले विद्युत् नपाएको दाबी गरे।
नेपाल स्टिल बिलेट उत्पादक संघका अध्यक्ष विष्णु न्यौपानेले गुणस्तरमा कुनै कमी नहुने बताए। न्यौपानेले पहिले नेपालमै क्लिंकर उत्पादन गर्दा पनि कतिपय व्यवसायीले त्यसबाट बनेको सिमेन्टको गुणस्तर राम्रो नहुने बताएको उल्लेख गरे।
‘नेपाली क्लिंकरको गुणस्तर हुँदैन भन्ने धेरै थिए। नेपालमा ४३ र ५३ ग्रेडको सिमेन्ट नै उत्पादन हुँदैन भन्नेहरु थिए’, सौरभ ग्रुपका अध्यक्ष न्यौपानेले भने, ‘अहिले नेपाली क्लिंकरबाटै ४३ र ५३ ग्रेडको सिमेन्ट उत्पादन हुनथालेको छ।’
उनले स्पोन्ज आइनबाट डन्डी निर्माण गर्ने उद्योगलाई प्रोत्साहनको लागि सरकारसँग लामो समयदेखि माग गर्दै आएको बताए।
नेपालमा सर्वोत्तम ग्रुपबाहेक मुरारका ग्रुपको पशुपति आइरनले बिलेट उत्पादन गरिरहेको छ। त्यस्तै जगदम्बा स्टिल, अम्बे स्टिल, अशोक स्टिल, नारायणी स्टिललगायत उद्योगहरूले स्पञ्जबाट बिलेट उत्पादन गरिरहेका छन्। यी उद्योगीले सरकारको नीतिको स्वागत गरेका छन्।
यो पनि–
Shares
प्रतिक्रिया