ललितपुरको धापाखेलमा ३ वटा हाउजिङ परियोजना बन्दै छन्।
तीनवटा कम्पनीले छुट्टाछुट्टै रुपमा करिब २ सय ७० युनिटको ठूलो हाउजिङ निर्माण परियोजना अघि सारेका हुन्।
चौधरी ग्रुपअन्तर्गतको सिजी प्रोपर्टिज र क्लासिक डेभलपर्सले घर निर्माण सुरु गरिसकेका छन् भने डाउनटाउन हाउजिङले छिट्टै गर्दै छ।
सीजी होल्डिङले धापाखेलमा सीजी लेक भ्यू बनाउँदै छ। दुई चरणमा बन्ने सीजी लेक भ्यू करिब ७७ रोपनी क्षेत्रफलमा सम्पन्न हुनेछ।
सीजीले पहिलो चरणमा ८७ वटा युनिटको हाउजिङ निर्माणको काम सुरु गरिसकेको छ। हाउजिङभित्र मुख्य ८ मिटर र ६ मिटरका सडक छन्।
पहिलो चरणमा ४८ रोपनी ११ आना क्षेत्रफलमा ८७ युनिट घरहरु निर्माण गर्न लागेको सीजी प्रोपर्टिजले जनाएको छ। दोस्रो चरणमा ३९ रोपनी क्षेत्रफलमा हाउजिङ निर्माण हुनेछ।
ललितपुरकै सुनाकोठी, भैसेपाटीमा समेत हाउजिङ परियोजना रहेको सीजीले धापाखेलमा लक्जरी घर निर्माण गर्नलागेको हो। घर साढे २ तलाका हुने कम्पनीको भनाइ छ।
सीजी लेक भ्यूमा ४ देखि १३ आना क्षेत्रफलसम्म फैलिएका घर हुनेछन्। यी घरको सुरुवाती मूल्य तीन करोड ८० लाख रुपैयाँ छ।
हाउजिङ परियोजनासँगै सरकारी खाली जग्गा भएकाले खुल्ला वातावरणमा बस्न पाइनेछ।
हाउजिङभित्र स्विमिङ पुल, ग्रोसरी स्टोर, हेल्थ क्लब लगायतका सुविधा छन्।
गत फागुनमै निर्माण सुरु गरे पनि कोभिड दोस्रो लहरका कारण काम सुस्ताएको थियो। दोस्रो लहर कम भएसँगै सीजीले निर्माणलाई तीव्रता दिएको हो।
क्लासिक रेसिडेन्सी
क्लासिक डेभलपर्सले ललितपुरको धापाखेलमा ८४ युनिटको हाउजिङ निर्माण गरिरहेको छ। ३५ रोपनी क्षेत्रफलमा हाउजिङ निर्माण भइरहेको छ। कम्पनीका अनुसार अब केही घर बिक्री हुन बाँकी छन्।
घरको सुरुवाती मूल्य तीन करोड ७० लाख रुपैयाँ छ। २४ सय वर्गफिटदेखि ३५ सय वर्गफिटमा चार आनादेखि नौ आनासम्मका घर बनेका छन्।
रेसिडेन्सीमा ४ प्रकारका घर निर्माण हुनेछन्। टाइप ए र बी २६ सय ३१ वर्गफिटमा र टाइप सी र डी २३ सय ४५ वर्गफिटमा निर्माण भइरहेका छन्।
रेसिडेन्सीमा घरअनुसार ३ र ४ वटा बेडरुमसहित किचन, डाइनिङ, लिभिङ रुम, मेड रुम, पूजा कोठा रहेका छन्।
क्लासिक रेसिडेन्सीमा क्लब हाउस, मल्टीपर्पोज हल, जिम, स्विमिङ पुल, चिल्ड्रेन पार्कलगायतका सुविधा छन्। कम्युनिटी हलमा रुफ टप स्विमिङ, स्टिम बाथ, सुना बाथ, टेवल टेनिस कोर्ट समेत रहेको कम्पनीले जनाएको छ।
ललितपुरको लिटल एन्जेल स्कुलभन्दा ५ सय मिटरको दूरी र नेपाल क्यान्सर हस्पिटलभन्दा १ किलोमिटरको दूरीमा रेसिडेन्सी निर्माण भइरहेको छ।
डाउनटाउन हाउजिङ
नेपाल जग्गा तथा आवास विकास संघका पूर्वअध्यक्ष मिनमान श्रेष्ठले धापाखेलमा डाउनटाउन हाउजिङ निर्माण गर्नलागेका छन्।
डाउनटाउनले केही समयभित्रै हाउजिङ परियोजना लञ्च गर्ने जनाएको छ।
यसअघि ललितपुरकै इमाडोलमा डाउनटाउन रेसिडेन्सी बनाएको कम्पनीले ८५ रोपनी बढी क्षेत्रफलमा नयाँ हाउजिङ परियोजना ल्याउन लागेको हो।
कम्पनीले करिब १०० युनिटको हाउजिङ परियोजना ल्याउँदै छ। धापाखेलमै डाउनटाउन अपार्टमेन्ट निर्माण गरेको कम्पनीले दशैं तिहारमै परियोजना सार्वजनिक गर्ने तयारी छ। डाउनटाउन हाउजिङमा साढे ३ आनादेखि १० आनासम्मका घर हुनेछन्।
Shares
प्रतिक्रिया