यातायात व्यवसायीले सडकमा दादागिरी देखाएका छन्।
व्यवसायी आफैँले भाडा बढाउँदा ट्राफिक प्रहरीले कारबाही गर्न थालेपछि सडकमा गाडी तेस्र्याएर विरोध गरेका हुन्।
व्यवसायीले पुरानो भाडादरमा २८ प्रतिशत बढाउने निर्णय गरेका छन्। जसअनुसार न्यूनतम भाडा नै १५ बाट २० रुपैयाँ पुर्याएका छन्।
सोमबार काठमाडौंको चक्रपथका विभिन्न चोकमा व्यवसायीले चलेका गाडी रोक्दै यात्रु झारिरहेका छन्।
यातायात व्यवसायीका दुईवटा महासंघ रहेका छन्। सार्वजनिक यातायात केन्द्रीय महासंघले आफैँ भाडा घोषणा गरेको छ भने यातायात व्यवसायी राष्ट्रिय महासंघले भाडा बढेको विषयमा जानकारी नभएको बताएका छन्।
केन्द्रीय महासंघले भाडा बढाएपछि ट्राफिक प्रहरीले दैनिक कारबाही गरेको छ। प्रहरीले गाडी सञ्चालन गर्न खोजे पनि व्यवसायीले चल्न दिएका छैनन्।
‘आज हामीले रिङरोडका कोटेश्वर, चाबहिल, स्वयम्भू, कलंकीलगायतका चोकमा गाडी राखेर विरोध गरिरहेका छौँ’, सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष भरत नेपालले भने, ‘पुरानो भाडामा हामी चलाउन सक्दैनौँ। कि भाडा बढाउनुपर्यो नभए गाडी बन्द हुन्छन्।’
यातायात व्यवसायी राष्ट्रिय महासंघले संघीय सरकारले भाडा समायोजन गरेपछि प्रदेश सरकारले पनि बढाउनुपर्ने बताएको छ।
‘भाडा समायोजन गर्नुपर्छ भन्दै कुदेका छौँ तर हामीले आफैँ भाडा बढाउने र आन्दोलनका कार्यक्रम गरेका छैनौँ’, राष्ट्रिय महासंघका महासचिव सारोज सिटौलाले भने, ‘सरकारले भाडा समायोजन नगरे पनि यातायात व्यवसायीको स्वतःस्फुर्त आन्दोलन होला।’
भिडिओ :
Shares
प्रतिक्रिया