ad ad

कारोबार


जनता बैंक गाभिँदा १९ अर्बको बन्यो ग्लोबल आईएमई

जनता बैंक गाभिँदा १९ अर्बको बन्यो ग्लोबल आईएमई

नेपालखबर
कात्तिक १०, २०७६ आइतबार ११:५०,

ग्लोबल आइएमई बैंक र जनता बैंक मर्जरको लागि पूर्णरुपले तयार भएका छन्। दुवै बैंकको साधारणसभाबाट मर्जरको प्रस्ताव समेत पेस गर्ने निर्णय भइसकेको छ। उक्त मर्जरलाई नेपाल राष्ट्र बैंकले सहमति दिइसकेको छ भने चाँडै स्वीकृति पाउने अन्तिम चरणमा रहेको दुवै बैंकले जानकारी दिएका छन्।

गत असार २० मै दुई वाणिज्य बैंकले मर्जरमा जाने सहमति गरेका थिए। परिणामतः शुक्रबार पुनः अन्तिम सम्झौता भएको हो। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंक नेपालका अध्यक्ष केशवबहादुर रायमाझीले हस्ताक्षर गरेका हुन्।

मर्जरपछि बन्ने बैंकको नाम ग्लोबल आईएमई बैंक र त्यसको अध्यक्ष चन्द्रप्रसाद ढकाल हुने सहमति भएको छ। तर सीईओ अर्थात् प्रमुख कार्यकारी अधिकृत भने हाल जनता बैंकमा सीईओ रहेका पर्शुराम कुँवर हुनेछन्। हस्ताक्षर कार्यक्रममा बोल्दै ग्लोबल आईएमई बैंकका अध्यक्ष ढकालले मर्जपछि ग्लोबल आईएमई बैंकले निकट भविष्यमा नै सबै जिल्लामा सेवा विस्तार गरिने बताएका थिए।

मर्जपछिको बैंकको सञ्चालक समितिमा ग्लोबलको तर्फबाट पाँच जना र जनताको तर्फबाट दुई जना सदस्य रहने सहमति गरिएको छ। मर्जपछि बैंकको चुक्ता पुँजी झण्डै १९ अर्ब, कुल निक्षेप २ खर्बभन्दा बढी र कुल लगानी २ खर्ब पुग्नेछ। बैंकको शाखा सञ्जाल तीन सयभन्दा बढी र तीन हजार दुई सय बढी कर्मचारी रहनेछन्। एकीकृत कारोबारको लागि तयार अवस्थामा रहेको पर्शुराम कुँवर बताउँछन्।

उनले नेपालखबरसँग भने, ‘अब भनेको एकीकृत कारोबारको तयारी हो, अन्य रुपले सबै प्रक्रिया अपनाइसकेका छौं।’

व्यवस्थापन कसरी मिलाउलान्?
बैंकहरु मर्जमा जाने भन्नेबित्तिकै व्यवस्थापनको जिम्मेवारी र सेयर स्वामित्वको विवाद मुख्य हुने गर्छ। त्यस्तै कर्मचारी व्यवस्थापन मुख्य समस्या हुने गर्छ। यी विषयलाई भने दुवै पक्षले ध्यान दिएका छन्। यसबारे दुवै पक्षबीच आन्तरिक समझदारी समेत भइसकेको बैंकहरुले जनाएका छन्।

मर्जरका लागि सेयर स्वामित्वको अनुपात भने १००ः८५ हुने भएको छ। मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत जनता बैंकका परशुराम कुँवर क्षेत्री रहनेछन् भने ग्लोबल आइएमईका कार्यवाहक सीईओ महेश ढकाल डेपुटी सीईओ हुनेछन्।

मर्जरपछि हाल रहेका बैंकमध्ये ग्लोबल आइएमई सबैभन्दा बलियो वाणिज्य बैंक बन्नेछ। ग्लोबल आइएमईको चुक्ता पुँजी १० अर्ब ३१ करोड ५ लाख रहेको छ। उता जनता बैंकको जनता बैंकको चुक्ता पुँजी ८ अर्ब ७ करोड रुपैयाँ रहेको छ।

यी दुई बैंकको मर्जरपछि हुने एकीकृत कारोबारले नेपालको बैंकिङ क्षेत्रमा नै सकारात्मक प्रभाव पर्ने कुँवरको विश्वास छ। अन्तर्राष्ट्रियस्तरमा समेत नेपालको बैंकको क्षमता बढाउने काममा सकारात्मक सन्देश जाने उनी बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .