ad ad

कारोबार


‘बुद्ध सर्किट घुम्ने पर्यटक सिधै लुम्बिनी आउन सक्थे, अब भारतबाट आउने भए’

‘बुद्ध सर्किट घुम्ने पर्यटक सिधै लुम्बिनी आउन सक्थे, अब भारतबाट आउने भए’

निर्माणाधीन भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल (बायाँ) र भारतकाे कुशीनगर विमानस्थल (दायाँ)


वसन्त अर्याल
कात्तिक ५, २०७८ शुक्रबार ७:०, काठमाडौँ

नेपालले भैरहवा विमानस्थल समयमै निर्माणसम्पन्न गर्न नसक्दा भारतलाई फाइदा हुने भएको छ। 

भारतले लुम्बिनीपारि कुशीनगरमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याएसँगै लुम्बिनी आउने पर्यटकले भारतीय मार्ग प्रयोग गर्ने देखिएकाे हाे। 

अहिलेकै अवस्थामा पनि लुम्बिनी आउने तेस्रो मुलुकका धेरैजसो पर्यटक भारतीय बाटो हुँदै आउने गरेका छन्। यस्तोमा भारतले लुम्बिनीबाट १३३ किमि दूरीमा विमानस्थल बनाएपछि यो संख्या झनै बढ्ने देखिएको हो। 

भारतमा आएका विदेशी पर्यटक लुम्बिनीमा १ दिनको लागि मात्रै आउने गरेका थिए। जसले नेपालले प्रत्यक्ष रुपमा फाइदा लिन नसकेको पर्यटन व्यवसायीले बताउँदै आएका छन्। 

बौद्ध धर्मावलम्बीहरुको लागि निकै महत्वपूर्ण हुने भन्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार कुशीनगर विमानस्थल उद्घाटन गरेका थिए। 

‘कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थल बौद्धधर्ममा आस्था राख्ने मानिसका लागि उपहार हो’, उद्घाटनको क्रममा मोदीले भने, ‘यो क्षेत्र भगवान बुद्धको ज्ञानप्राप्तिदेखि महापरिनिर्वाणसम्मको समग्र यात्राको साक्षी छ।’  

भैरहवा विमानस्थल समयमै बनेको भए बुद्ध सर्किट घुम्न आउने पर्यटक पहिला लुम्बिनी आएर कुशीनगर जान सक्थे। यसले नेपाली टुर अपरेटर, होटलले प्रत्यक्षरुपमा बढी फाइदा लिन हुन्थ्यो। 

नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी नेपालले समयमै भैरहवा विमानस्थल सञ्चालन गर्न नसक्दा फाइदा लिन चुकेको बताउँछन्। 

‘(भैरहवा विमानस्थल निर्माण) २०७४ मै सम्पन्न गर्ने भनेको थियो। पछि २०१९ को डिसेम्बरमा सकिन्छ भनियो। त्यसपछि २०को मध्यतिर सक्ने भनियो तर अहिलेसम्म सकिएको छैन’, जोशीले नेपालखबरसँग भने, ‘समयमै विमानस्थल सञ्चालन गर्न नसक्दा नेपाल ठूलो फाइदा लिन चुक्यो।’

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७१ मा सुरु भई २०७४ मा निर्माणसम्पन्न गर्ने लक्ष्य राखिएको थियो। हाल भौतिक पूर्वाधारको काम करिब पूरा हुँदा क्यालिब्रेसन फ्लाइट (परीक्षण उडान) हुनसकेको छैन। 

जोशीले भारतमा विमानस्थल उद्घाटन हुँदा नेपालसामु चुनौती अझ थप भएको बताए।  

‘नेपालमा पर्यटनको ठूलो चुनौती पूर्वाधार हो। अलि अघि हाम्रोमा पहिला निर्माण हुनसकेको भए पर्यटनबाट बढी फाइदा लिन सकिन्थ्यो’, उनले भने, ‘बुद्धको जन्मस्थलबाट बुद्ध सर्किट घुम्नुपर्छ भन्ने सन्देश दिन सकिन्थ्यो। हाम्रा छिमेकीले पूर्वाधार तयार पार्दा हामी कमजोर भयौँ।’

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुशीनगर विमानस्थल पुग्न करिब १३३ किलोमिटर मात्रै सडक यात्रा गरे पुग्छ। 

नेपाल एसोसिएन अफ टुर एन्ड ट्राभल एजेन्टका वरिष्ठ उपाध्यक्ष विनय बस्नेतले गौतमबुद्ध विमानस्थल समयमै सञ्चालन गर्न नसक्दा ठूलो अवसर गुमेको बताए। 

उनले नेपालले समयमै विमानस्थल सञ्चालन गरेको भए होटल, ट्राभल, एयरलाइन्सले बढी फाइदा लिनसक्ने बताए। 

सामान्य अवस्थामा श्रीलंकाबाट करिब ७० हजार पर्यटक लुम्बिनीकै लागि आउने गरेका छन्। ३०–३५ हजार थाइल्यान्डबाट, २५ हजार बढी म्यानमारबाट आउने गरेका छन्। 

‘अहिले पनि बुद्धिष्ट सर्किटमा आउने पर्यटक भारतीय टुर अपरेटरकै माध्यमबाट बढी आउने गरेका हुन्’, बोर्डका पूर्वसीईओ जोशीले भने, ‘अहिले आइरहेका पर्यटक नघटे पनि बढी फाइदा लिन सकेनौँ। हामीले पूर्वधार बढाएर ठूलो लाभ लिन सक्थ्यौं। त्यसमा चुक्यौँ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणका कामु महानिर्देशक राजकुमार क्षेत्रीले कुशीनगर विमानस्थल सञ्चालनमा आए पनि नेपाललाई ठूलो असर नगर्ने दाबी गरे। 

उनले बुद्धिस्ट पर्यटक भारतकै बोधगयामा आएर कुशीनगर हुँदै लुम्बिनी आउने गरेको बताउँदै कुशीनगर र लुम्बिनीको आफ्नै महत्व रहेको उल्लेख गरे। त्यही कारण भारतीय विमानस्थलले धेरै असर नगर्ने उनको भनाइ छ। 

‘कुशीनगरमा आएका पर्यटक पनि नेपालको लुम्बिनीमा आउँछन्’, क्षेत्रीले भने, ‘हामीले छिट्टै सञ्चालन गर्यौँ भने पहिला हामीकहाँ आएर कुशीनगर गया जान सक्छन्।’  

भैरहवामा ‘क्यालिब्रेसन फ्लाइट’को इमेल भारतलाई
नेपाल नागरिक उड्डयन प्राधिकरणले क्यालिब्रेसन फ्लाइटको लागि भारतलाई औपचारिक आग्रह गरेको छ। कामु महानिर्देशक क्षेत्रीले एयरपोर्ट अथोरिटी अफ इन्डियालाई यससम्बन्धी इमेल पठाएको जानकारी दिए। 

भैरहवामा एयर थाईले क्यालिब्रेसन फ्लाइट गर्ने भनिए पनि कुरा नमिल्दा भारतसँग प्रस्ताव गरिएको हो। 

‘एयरपोर्ट अथोरिटी अफ इन्डिया क्यालिब्रेसन फ्लाइटको लागि तयार नै छ। उनीहरुले क्यालिब्रेसनको रेट पठाएको छ’, क्षेत्रीले नेपालखबरसँग भने, ‘त्यसमा सहमति भए छिट्टै उडान हुन्छ। सम्झौता भएको ४० दिनभित्र क्यालिब्रेसन फ्लाइट हुन्छ।’

परीक्षण उडानपछि करिब ३ महिना आन्तरिक काम गर्न लाग्ने प्राधिकरणले जनाएको छ। ३ महिनामा एयरलाइन्ससँग सेडुल (समयतालिका) लिने काम पनि सकिने क्षेत्रीले बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .