व्यवसायी शिवप्रसाद घिमिरेले सिमेन्ट उद्योग सञ्चालन गर्दै छन्।
यसका लागि १ अर्ब बढी खर्च भइसकेको छ तर निर्माणचाहिँ सुरु हुनसकेको छैन।
ग्यास र पेट्रोलियम पदार्थको व्यवसायबाट उदाएका घिमिरेले लगानीको मोडालिटी टुंग्याउन नसक्दा उद्योग स्थापनामा ढिलाइ भइरहेको नेपालखबरलाई बताए।
घिमिरेले नेपाली बजारमा गरुड सिमेन्ट ल्याउनलागेका हुन्।
सोहीअनुसार उद्योग विभागमा गरुड सिमेन्ट इन्डस्ट्री प्रालि दर्ता भएको छ। योसँगै चुनढुंगा खानी र उद्योगको लागि जग्गा खरिद समेत सकिइसकेको छ।
तर लगानीको मोडालिटी टुंगिन नसक्दा अहिले पनि कस्तो मोडलमा उद्योग स्थापना गर्ने भन्नेमा कम्पनी अल्झिएको छ। यही कारण निर्माणले गति लिन नसकेको हो।
उक्त कम्पनीले सुरुमा अरु उद्योगीसँगको साझेदारी र ३० प्रतिशतसम्म साधारण सेयर जारी गरी उद्योग स्थापना गर्ने तयारी गरेको थियो।
तर पछि सिमेन्ट उद्योगमा चिनियाँ लगानीकर्ताले चासो देखाए। कम्पनीले पनि चिनियाँ लगानी भित्र्याउन उनीहरुसँग छलफल थाल्यो। गरुड सिमेन्ट उद्योगमा ३ वटा चिनियाँ कम्पनीले लगानी गर्ने इच्छा देखाएको घिमिरेले जानकारी दिए। तर कोभिडको कारण टुंग्याउन नसकिएको उनको भनाइ छ।
‘हामीले उद्योगको लागि जग्गा र चुनढुंगाको लागि खानी टुंग्याइसकेका छौँ’, उनले नेपालखबरसँग भने, ‘कोभिडको कारण रोकिएको थियो। अब प्रक्रिया सुरु हुन्छ।’
कोभिडको कारण चीनमा जान नपाएको र उताबाट पनि नेपाल आउन नपाए पनि चिनियाँ लगानीकर्तासँग सम्पर्कमै रहेको उनले बताए।
उनले थपे, ‘कम्पनीहरुसँग इमेल आदानप्रदान त चलिरहेको छ। तर बसेरै टुंग्याउनुपर्ने कुरा छ।’
उद्योग र चुनढुंगा खानी खरिदको लागि कम्पनीले १ अर्ब खर्च गरिसकेको घिमिरेले बताए।
उनका अनुसार कम्पनीले सिन्धुलीको हरिहर गाउँपालिकामा १४ अर्ब लागतमा सिमेन्ट उद्योग खोल्ने प्रस्ताव गरेको छ। जसको लागि काभ्रे खानीखोला गाउँपालिकामा खानी स्थापना गरिनेछ।
‘चिनियाँ लगानीकर्ता नआए नेपाली साझेदारीमै उद्योग चलाउँछौँ’
घिमिरेले चिनियाँ लगानीकर्ता नआए पनि नेपाली व्यवसायीको साझेदारीमा उद्योग अघि बढाउने बताए।
‘अन्य कुनै कारण छैन। कोभिडको अवस्था अहिले सहज हुँदै गएको छ’, घिमिरेले भने, ‘चिनियाँ लगानी ल्याउने भन्ने नै हो। चिनियाँ लगानी आएन भने पनि नेपाली व्यवसायीको साझेदारीमा छिट्टै उद्योग स्थापना सुरु गर्छौँ।’
घिमिरेले उद्योग कन्स्ट्रक्सनको काम सुरु नहुनुमा कोभिड मुख्य कारण रहेको बताए।
गरुड सिमेन्ट उद्योगले चुनढुंगाको लागि काभ्रेको खानीखोलामा जग्गा किनेर चुनढुंगाको गुणस्तर परीक्षण गरिसकेको छ।
६.९६ वर्गकिलोमिटर रहेको खानी परीक्षण सम्पन्न भएको घिमिरेले जानकारी दिए।
‘खानीलगायतको सबै परीक्षण सम्पन्न भइसकेको छ। नेपाल, भारत, चीनका ल्याबमा स्याम्पल पठाएर खानीको परीक्षण गरिसकेका छौँ’, घिमिरेले भने, ‘उद्योग स्थापनाको लागि सिन्धुलीमा जग्गा लिइसकेको छ। खाली कन्स्ट्रक्सनको काम सुरु गर्न बाँकी छ।’
उद्योग विभागमा पेश गरेको विवरणअनुसार उद्योगले ३ सय ७८ जनालाई रोजगारी दिने उल्लेख गरेको छ। उद्योगले दैनिक ३ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेको छ।
उद्योगमा २२ मेगावाट विद्युत खपत हुने अनुमान रहेको छ। जसमा एक तिहाइ आफ्नै उद्योगबाट उत्पादन गर्ने कम्पनीको दाबी छ। कम्पनीले क्लिंकरसहित सिमेन्ट उत्पादन गर्ने योजना बनाएको छ।
समय घर्कियो, लागत बढ्यो
२०७४ चैतमा लगानी सम्मेलनमा १४ अर्ब लागतमा गरुड सिमेन्ट उद्योग स्थापना गर्ने गरी शोकेस गरिएको थियो। कम्पनीले २ वर्षभित्र उत्पादन गर्ने लक्ष्य राखेको थियो।
हालसम्म पनि उद्योग ‘कन्स्ट्रक्सन फेज’मा जान नसक्दा लगानी बढेको छ।
‘१४ अर्ब लगानी गर्ने योजना रहेको कम्पनीको लागत बढ्दै गएको छ’, घिमिरेले भने, ‘डिजेलको मूल्य एउटा थियो। डन्डी, सिमेन्टको एउटा थियो सबै बढेको छ। प्लान्ट मेसिनरीको पनि मूल्य बढेको छ। लागत स्वाभाविक बढ्छ।’
उनले कति लागत बढ्ने विषयमा ‘रिभाइज क्याल्कुलेसन’ गर्न बाँकी रहेको बताए। अहिले आएको सामग्रीमा जति बढ्छ, त्यसैको आधारमा हिसाब निकाल्ने घिमिरेले बताए।
घिमिरेको ‘एसजी अर्गनाइजेसन’ रहेको छ। जसले पेट्रोलियम पदार्थबाहेक चिया, निजी विद्यालय, मोटरसाइकल, बिटुमिन, अक्सिनजलगायतको क्षेत्रमा लगानी गरेको छ।
एसजी अर्गनाइजेसनले बझाङमा ६४.६२ मेगावाटका ४ हाइड्रो आयोजनामा लगानी गरेको छ।
यो ग्रुप मोटरहेड मोटरसाइकलको आधिकारिक बिक्रेता हो भने एभरेष्ट, सुगम, त्रिशूल ग्यासमा पनि लगानी छ।
Shares
प्रतिक्रिया