पहिला १ वर्षमा आयात हुने स्पञ्ज आइरन अहिले एक महिनामै आयात हुनथालेको छ।
सरकारले प्रतिस्थापन विधेयकमार्फत स्पञ्ज आइरनमा भन्सार तथा अन्तःशुल्कमा पूर्णछुट दिएसँगै आयात बढेको हो।
सरकारले भदौ २५ गते ल्याएको प्रतिस्थापनपछि कात्तिक १५ सम्म भन्सारबाट मात्रै १ लाख ५ हजार टन स्पञ्ज आइरन आयात भएको उद्याेगीहरुले नै बताएका छन्।
उनीहरुका अनुसार स्पञ्ज आइरनमा छुट नदिँदासम्म ८५ प्रतिशत बिलेट र १५ प्रतिशत स्पञ्ज आइरन आयात हुने गरेको थियाे। तर सरकारी नीतिपछि स्पञ्ज आइरन आयात बढेको छ।
प्रतिस्थापन विधेयकले डन्डी उद्योगसँग सम्बन्धित कच्चापदार्थ स्पञ्ज आइरनको आयातमा भन्सार महशुल तथा अन्तःशुल्क पूर्ण छुट दिएको छ। बिलेट आयातमा भने ४.७५ प्रतिशत भन्सार महशुल तथा भन्सार विन्दु प्रतिमेट्रिक टन अन्तःशुल्क कायम गरेको छ।
सरकारको उक्त व्यवस्थाले साढे ३ रुपैयाँ भन्सार महशुल र साढे २ रुपैयाँ अन्तःशुल्कको कारण बिलेट आयात गर्ने उद्योगीलाई भन्सार विन्दुमै ६ रुपैयाँसम्म महंगो पर्ने देखिन्छ।
बिलेट आयात गरी डण्डी बनाउने उद्योगले स्पञ्ज आइरन र बिलेटबीच भन्सार तथा अन्तःशुल्कको विभेदकारी व्यवस्थाले आफूहरु टिक्न नसक्ने बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा पञ्चकन्या ग्रुपका म्यानेजिङ डाइरेक्टर प्रदिप कुमार श्रेष्ठ ६ वटा उद्योग पोस्नलाई २४ वटा उद्योग बन्द गर्ने नीति ठीक नभएको बताउँछन्।
उनले बिलेट आयात गरी डन्डी बनाउने ४ उद्योग बन्द भइसकेको बताउँदै सरकारले नीति सच्याउन जति ढिला गर्छ उति उद्योग बन्द हुँदै जाने बताए।
‘स्पञ्ज आइरनमा पूर्ण छुटले एक केजी डन्डी उत्पादन गर्दा ८ रुपैयाँको मूल्य फरक पर्छ’, श्रेष्ठले भने, ‘केजीमै ८ रुपैयाँ मूल्य फरक हुँदा हामी कसरी प्रतिस्पर्धा गर्न सक्छौँ।’
साख स्टिलका सञ्चालक किरण साखले दैनिक उपभोग्य वस्तुमा कर लाग्ने तर स्पञ्ज आइरनमा शून्य प्रतिशत लगाउनुको कुनै कारण नभएको बताए।
रोलिङ मिल एसोसिएसनका वरिष्ठ उपाध्यक्ष समेत रहेका साखले अहिलेकै व्यवस्था कायम रहे करिब डेढ खर्बको लगानी डुब्ने बताए।
‘भ्यालुएड गर्ने उद्योगलाई केही छुट दिनुपर्छ भन्ने कुरामा हामी सहमत नै छौँ’, साख भन्छन्, ‘६ वटा उद्योग बाँचेर २४ उद्योग बन्द हुने नीति कसरी ठीक हुन्छ? यस्तो पोलिसी करेक्सन हुनैपर्छ।’
पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्वल श्रेष्ठले इन्डक्सन फर्नेसबाट उत्पादित डन्डीको गुणस्तर कम हुने दाबी गरे। श्रेष्ठले बिलेट उद्योगबाट बढी वातावरण प्रदूषण हुने बताए।
उनले भने ‘भ्यालुएड गर्ने उद्याेगलाई केही छुट दिनुपर्छ। स्पन्जबाट बिलेट बनाउँदा केवल १५ प्रतिशतभन्दा कम भ्यालुएड हुन्छ। त्यसकारण स्पन्ज आयातमा भन्सार महशुल ४.७५ रुपैयाँमा पूर्ण छुटकाे साटाे १५ देखि २५ प्रतिशतसम्म मात्र छुट दिनु उपयुक्त हुन्छ।’
यता बिलेट उत्पादन गर्दै आएका उद्योगले भने सरकारको नीति ठीक भएको बताएका छन्। नेपाल स्टिल बिलेट उत्पादक संघका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले भ्यालु एड गर्ने उद्योगलाई सरकारले प्राथमिकतामा राख्नु राम्रो भएको बताए।
‘नेपालमा बिलेट उत्पादन गर्ने उद्योग र बाहिरबाट बिलेट आयात गर्ने उद्योगीलाई एउटै कर रहेको थियो’, सौरभ ग्रुपका अध्यक्ष न्यौपानेले भने, ‘स्पञ्ज आइरनमा छुट दिएसँगै डन्डीमा ४ रुपैयाँ घटेको छ।’
न्यौपानेले बिलेट उद्योग स्थापना हुँदा २० हजार रोजगारी सिर्जना, ५ सय मेगावाट विद्युत् खपत हुने बताए। उनले गुणस्तरको विषयमा कुनै समस्या नरहेको बताए।
‘नेपालमै बिलेट आयात गरी डन्डी बनाउँदा गुणस्तर कम हुन्छ भन्ने हल्ला फैलाइएको छ’, न्यौपानेले भने, ‘गुणस्तर तथा नापतौल विभागले अनुगमन गर्छ। कम गुणस्तरको डन्डी उत्पादन गर्नै पाइँदैन।’
पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आर्थिक ऐनको दफा १८ मा कर बढाउने र घटाउन सकिने व्यवस्था रहेको बताए।
‘आर्थिक विधेयकमा करमा फेरबदल भए पनि त्यसलाई सच्याउन सकिन्छ’, पाण्डेले भने, ‘कुनै पनि उद्योगीलाई मार्नुहुँदैन। देशलाई फाइदा हुने गरी नीति बनाउनुपर्छ।’
पूर्वउद्योग राज्यमन्त्री मोतिलाल दुगडले सरकारले बिलेट आयात गर्ने र स्पञ्ज आयात गर्ने दुवै उद्योगी सन्तुलनमा मिलाउन नसकेको बताए।
प्रतिस्थापन विधेयकपछि कस्तो छ आयातको तथ्यांक?
अर्थ मन्त्रालयको तथ्यांकअनुसार भदौ २६ देखि असोज ३१ गतेसम्म बिलेट भन्दा स्पञ्ज आइरनको आयात बढेको छ।
१० वटा उद्योगले बिलेट आयात गरेका छन् भने ७ वटा उद्योगले स्पञ्ज आयात गरेका छन्। अधिकांश एउटै उद्योगले स्पञ्ज आइरन र बिलेट आयात गरिरहेका छन्।
करिब १ महिनामा ७ सय ४० मेट्रिकटन विलेट आयात भएको छ भने ३५ हजार ३ सय मेट्रिकटन भित्रिएको छ।
बिलेट आयात गर्ने उद्योगमा अम्बे स्टिल, स्वस्तिक रोलिङ, सन् फिटिङ, मेटल कास्ट, लक्ष्मी स्टिल, केबी मेटल उद्योग, पशुपति आइरन एन्ड स्टिल, जगदम्बा स्टिल, अशोक स्टिल र नारायणी स्पात आयात गरेका छन्।
स्पञ्ज आयात गर्नेमा लक्ष्मी स्टिल, पशुपति आइरन, नारायनी स्पात, स्वास्तिक रोलिङ, जगदम्बा स्टिल, सर्वोत्तम स्टिल र अशोक स्टिलले आयात गरिरहेका छन्।
Shares
प्रतिक्रिया