अम्बे, हुलाससहित ४ वटा डण्डीजन्य उद्योगले नेपालमै बिलेट उद्योग स्थापना गर्ने भएका छन्।
करिब ६ लाख ४८ हजार मेट्रिक टन क्षमता रहेका ४ उद्योगले ६ महिनाभित्र बिलेट उत्पादन गर्नसक्ने बताएका हुन्।
नेपाल स्टिल बिलेट उत्पादक संघका अध्यक्ष विष्णु प्रसाद न्यौपानले ४ उद्योगले मेसिन अर्डर गरिसकेको बताउँदै ६ महिनाभित्र उत्पादन गर्नसक्ने जानकारी दिए।
हाल रुपन्देहीमा बिलेट उत्पादन गरिरहेको अम्बे ग्रुपले नेपालगञ्जमा पनि बिलेट उत्पादन गर्ने भएको छ। हरि न्यौपानेहरुको लगानी रहेको जय अम्बे स्टिलले नेपालगञ्जमा २ लाख ९० हजार क्षमताको उद्योग स्थापना गर्दै छ।
कम्पनीले अबको ३ महिनाभित्र बिलेट उत्पादन गरी डन्डी बनाउनसक्ने जनाएको छ।
त्यस्तै हाल बिलेट आयात गरी डन्डी उत्पादन गरिरहेको राजेश अग्रवालहरुको लगानी रहेको श्री स्टिल प्रा.लिले रुपन्देहीमा १ लाख ६० हजार मेट्रिक टन क्षमताको उद्योग सञ्चालन गर्दै छ।
गोल्छाहरुको हुलास स्टिल्स प्रा.लिले विराटनगरमा १ लाख १८ हजार मेट्रिक टन क्षमताको उद्योग स्थापना गर्दै छ भने मोरङमा रहेको गोदावरी स्टिल्स प्रा.लिले ८० हजार मेट्रिक टन क्षमताको उद्योग सञ्चालनमा ल्याउँदै छ।
९ वटा बिलेट उद्योग सञ्चालनमा, कसको क्षमता कति?
हाल ९ वटा उद्योगले बाहिरबाट स्पञ्ज आयात गरी नेपालमा बिलेट उत्पादन गर्दै आएका छन्। डन्डी व्यवसायका ठूला समूह बिलेट उद्योग स्थापना गरी डन्डी उत्पादन गर्न लागेका छन्।
शाहिल अग्रवालको जगदम्बा स्टिल प्रा.लिले वीरगन्जमा ४ लाख मेट्रिक टन क्षमताको बिलेट उत्पादन उद्योग खोलेको छ। विष्णु प्रसाद न्यौपानेको सर्वोत्तम स्टिल प्रा.लिले वीरगन्जमै ३ लाख मेट्रिक टनको बिलेट उद्योग रहेको छ।
अशोक मुरारकाको पशुपति आइरन एण्ड स्टिल्स प्रा.लिको उद्योग क्षमता १ लाख ६० हजार मेट्रिक टन रहेको छ। राजेन्द्र रावतको स्वस्तिक स्टिल प्रा.लिले विराटनगरमा १ लाख ७८ हजार मेट्रिक टन क्षमताको बिलेट उद्योग स्थापना गरेको छ।
यो पनि– २ वर्षमा १ खर्ब २३ अर्बको बिलेट र स्पञ्ज आयात, कुन उद्योगले कति ल्याए?
अभिशेक तुल्सीयान सञ्चालक रहेको बारामा रहेको अशोक स्टिल्स प्रा.लिको १ लाख २६ हजार मेट्रिक टन जडित क्षमता रहेको छ।
नवलपरासीमा रहेको लक्ष्मी स्टिल प्रा.लिको १ लाख मेट्रिक टन क्षमताको उद्योग स्थापना गरेको छ। सत्यनारायण कायलको नारायणी स्टिल प्रा.लिको ८० हजार मेट्रिकटन क्षमता छ।
हरि न्यौपानेको अम्बे स्टिल्सले रुपन्देहीमा १ लाख २२ हजार मेट्रिक टन क्षमता छ। विकास खरेल सञ्चालक रहेको हाइटेक स्टिल प्रा.लिको २० हजार मेट्रिकटन क्षमता छ।
बिलेट उद्योग ३० प्रतिशत क्षमतामा मात्रै सञ्चालन
नेपाल स्टिल बिलेट उत्पादक संघका अध्यक्ष विष्णु न्यौपानले हाल कुल जडित क्षमता १४ लाख ८६ हजार मेट्रिक टन रहेकोमा स्पञ्ज आइरन र स्टिल बिलेट भन्सार दरमा भिन्नता नहुँदा बिलेट उद्योग क्षमताको ३० प्रतिशत मात्रै उत्पादन भएको छ।
‘स्पञ्ज आइरन र स्टिल बिलेट अयातमा कुनै फरक नहुँदा पूर्ण क्षमतामा उत्पादन गर्न सकेका थिएनौँ’, भर्खरै सर्वोत्तम बिलेट उद्योग सञ्चालनमा ल्याएका न्यौपानेले भने, ‘सरकारले प्रतिस्थापन विधेयकमा पूर्ण छुट दिएसँगै हामी उत्पादन बढाउन सक्छौँ।’
सरकारले यसअघि बिलेट तथा स्पञ्ज आइरन आयातमा ४.७५ प्रतिशत भन्सार महशुल लगाउँदै आएको थियो भने अन्तःशुल्क १.६५ रुपैयाँ रहेको थियो। प्रतिस्थापन विधेयकमार्फत स्पञ्ज आइरन आयातमा पूर्ण छुट र बिलेट आयातमा भन्सार ४.७५ प्रतिशत र भन्सार विन्दुमै अन्तःशुल्क २ रुपैयाँ ५० पैसा लगाउने भएको छ।
सरकारले स्पञ्ज आइरनमा पूर्ण छुट दिएसँगै आयात भएको छ। अर्थ मन्त्रालयको तथ्यांकअनुसार सरकारले स्पञ्ज आइरनमा छुट दिएसँगै भदौ २६ देखि असोज ३१ सम्म ७४० मेट्रिक टन बिलेट आयात हुँदा ३५ हजार ३०७ मेट्रिक टन स्पञ्ज आइरन आयात भएको छ।
Shares
प्रतिक्रिया