ad ad

कारोबार


२० लाख पर्यटक धान्न तयार हुँदै विमानस्थल

२० लाख पर्यटक धान्न तयार हुँदै विमानस्थल

बसन्त अर्याल
कात्तिक २१, २०७६ बिहिबार १२:४१,

नेपालकै एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल भ्रमण वर्षको सुरुदेखि नै चौबीसै घण्टा जहाज उडाउने तयारी गरिएको छ। डिसेम्बरभित्रै विमानस्थलको सम्पूर्ण मर्मतसम्भार सकिने भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले कम्पनीहरु तयार भए जनवरीदेखि नै चौबीसै घण्टा सेवा सञ्चालनको तयारी गरेको हो।

हाल विमानस्थल मर्मतसम्भार तथा पूर्वाधार विस्तारको काम भइरहेको छ। विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले विमानस्थलमा पूर्वाधार विस्तारको काम अन्तिम चरणमा पुगेको जानकारी दिए। पूर्वाधार विस्तार र मर्मत सकिएसँगै चौबीसै घण्टा सेवा सञ्चालन गर्न सकिने उनले बताए।

‘दुईवटा पार्किङ विस्तार हुँदै छ, काम सकिएपछि अन्तर्राष्ट्रिय उडानमा केही थप गर्न सक्छौं’, उनले भने, ‘पिक आवरमा त हामीले खासै केही गर्न सक्दैनौँ तर कम चाप भएको समयमा एयरलाइन्सलाई थप आकर्षण बढाउने योजनामा छौँ।’

बुटिक एयरपोर्टका रूपमा स्तरोन्नतिको काम गरिरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले निर्धारित समयअगावै काम पूरा हुने जनाएको छ। हाल विमानस्थल दैनिक सात घण्टा बन्द गरेर स्तरोन्नतिको काम भइरहेको छ। धावनमार्ग मर्मतको काम पूरा भइसकेको छ ।

चीनको सरकारी कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङले चार अर्ब २७ करोड रुपैयाँ लागतमा धावनमार्गको स्तरोन्नति र विमानस्थलको प्यारालल ट्याक्सी–वे, लिंक रोडलगायतको काम गरिरहेको छ। सन् २०२० को मे महिनासम्म सक्नुपर्ने काम चिनियाँ कम्पनीले २०१९ को डिसेम्बरसम्म नै सक्ने त्रिभुवन विमानस्थलले जानकारी दिएको छ।

रात्रिकालीन उडानमा कम्पनी अनिच्छुक!

kathmandu airportत्रिभुवन विमानस्थलकाे रात्रिकालीन दृश्य। (फाइल तस्बिर)
विमानस्थलले भौतिक पूर्वाधार तयार पारे पनि रातिको समयमा एयरलाइन्सहरु जहाज उडानको लागि इच्छुक हुनुपर्ने स्पष्ट पारेको छ।

प्रवक्ता तिवारीले भने, ‘राति १२ बजेदेखि ३ बजेसम्मको समयमा एकदमै न्यून चाप हुने गरेको छ। अहिले मर्मतको कारण नोटाम जारी गरेको छ तर डिसेम्बरपछि यो समयमा जहाज उडाउन एयरलाइन्स कम्पनी इच्छुक हुनुपर्यो।’

त्रिभुवन विमानस्थलले एयरलाइन्सहरुलाई पत्र पठाएको तर ठोसरुपमा कुनै जवाफ नआएको उनले बताए।

नेपालमा आउने सबैभन्दा धेरै पर्यटकले हवाइ यातायातको प्रयोग गर्ने गरेका छन्। नेपालमा अन्तर्राष्ट्रिय हवाइमार्ग एउटा मात्र भएकाले सबै पर्यटकले हवाइ यात्राको लागि अर्को विकल्प नै छैन। त्रिभुवन विमानस्थलको विकल्पको रुपमा हेरिएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि निर्माणकै चरणमा छ।

सन् २०२० को मध्यसम्ममा यो विमानस्थल सञ्चालनमा ल्याउने सरकारी तयारी छ। भ्रमण वर्ष जनवरीदेखि नै सुरु हुने भएकाले २० लाख पर्यटक भित्र्याउने लक्ष्य प्राप्तिको लागि त्रिभुवन विमानस्थलको पूर्वाधारले मात्रै धान्नेमा आशंका रहेको छ।

तर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने भने २० लाख पर्यटक ओसारपसार गर्नको लागि हवाइ मार्ग पर्याप्त हुने बताउँछन्। सन् २०२० मा केही जहाज गौतम बुद्ध एयरपोर्टबाट उडान हुने हुँदा पर्यटकको आवतजावतको लागि कुनै समस्या नहुने उनको दाबी छ।

‘डिसेम्बरसम्म त्रिभुवन विमानस्थल मर्मतको काम सकिन्छ। त्यसपछि हामीले चौबीसै घण्टा सञ्चालन गर्न सक्छौँ’, उनले नेपालखबरसँग भने, ‘२० लाख पर्यटक नै त्रिभुवन विमानस्थलमार्फत आउने होइनन्। सडकमार्फत पनि आउँछन्। अहिले बन्दै गरेको संरचनाले २० लाख पर्यटक धान्न सक्छ।’

ल्यान्डिङ र पार्किङ शुल्क घटाइने
यसैबीच, विमानस्थलका प्रवक्ता तिवारीले उडानको न्यून चाप भएको समय सदुपयोग गर्न ल्यान्डिङ र पार्किङ चार्ज घटाउने तयारी गरेको जानकारी दिएका छन्।

त्रिभुवन विमानस्थलमा हरेक वर्ष जहाजको उडान तथा यात्रु बढेको विगत पाँच वर्षको तथ्याङ्कले देखाएको छ। विमानस्थलनका अनुसार सन् २०१४ मा २७ हजार २ सय ८ जहाजले उडान भरेका छन्।
त्यस्तै, सन् २०१५ मा भूकम्प तथा नाकाबन्दीको कारण केही उडान घटेको थियो।

flight 1स्राेतः त्रिभुवन विमानस्थल

यो वर्ष २६ हजार ५ सय ६३ जहाजले अन्तर्राष्ट्रिय उडान भरेका थिए। सन् २०१६ पछि लगातार हवाइ उडानमा वृद्धि भएको देखिन्छ। सन् २०१६ मा २७ हजार, सन् २०१७ मा ३३ हजार र सन् २०१८ मा करिब ३४ हजार उडान भएको देखिएको छ। चालू वर्षको सेम्टेम्बरसम्ममा २३ हजार ५ सय जहाजले अन्तर्राष्ट्रिय उडान भरेका छन्।

त्यस्तै, उक्त अवधिमा यात्रुको संख्या पनि हरेक वर्ष वृद्धि भएको तथ्यांकले देखाएको छ। सन् २०१४ मा ३५ लाख ११ हजार रहेकोमा सन् २०१५ मा करिब तीन लाख हवाइ यात्रु घटेका थिए। उक्त वर्षको अन्तर्राष्ट्रिय उडानमा ३२ लाख १७ हजार यात्रु सहभागी थिए। त्यस्तै सन् २०१६ मा ३५ लाख १० हजार, २०१७ मा ३८ लाख ७ हजार र २०१८ मा ४३ लाख ४२ हजार यात्रुले त्रिभुवन विमानस्थल प्रयोग गरेको देखिएको छ।

flight 2स्राेतः त्रिभुवन विमानस्थल

सन् २०१९ को सेप्टेम्बरसम्मको तथ्याङ्क हेर्दा २९ लाख ७६ हजार यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय हवाइ प्रयोग गरेका छन्।

वैशाखबाट गौतम बुद्ध एयरपोर्ट पनि सञ्चालनमा आउने
यता मन्त्रालयका सहसचिव तथा सूचना अधिकारी सुरेश आचार्यले वैशाखबाट गौतम बुद्ध एयरपोर्ट सञ्चालनमा आउने बताएका छन्। आचार्यले गौतम बुद्ध विमानस्थललाई प्रवद्र्धन गर्नको लागि केही प्याकेजसहितका सुविधा दिने बताए।

‘त्रिभुवन विमानस्थलभन्दा गौतम बुद्ध एयरपोर्टमा केही सुविधासहितको प्याकेज राख्छौं’, उनले भने, ‘गौतमबुद्ध एयरपोर्टलाई प्रवद्र्धन गर्नको लागि ल्यान्डिङ, पार्किङ शुल्कलगायतमा केही सुविधा दिन्छौँ।’

gautam budda airportनिर्माण भइरहेकाे गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल।

उनले खाडी मुलुकमा जाने आउने कामदारको लागि त्रिभुवन एयरपोर्टभन्दा गौतम बुद्ध एयरपोर्ट सहज हुने बताए। त्यसका साथै बुद्ध धर्मावलम्बीहरुको लागि पनि गौतमबुद्ध एयरपोर्ट उपयुक्त हुने उनको भनाइ छ।

‘पूर्व–पश्चिम राजमार्गसँग जोडिएकाले झापाको होस् या सुदूरपश्चिमको कसैलाई समस्या पर्दैन’, उनले भने, ‘अहिले त्रिभुवन विमानस्थलमार्फत उडान गर्ने जहाज भैरहवा जानेबित्तिकै यहाँको ट्राफिक चाप कम हुन्छ।’

हाल त्रिभुवन विमानस्थलमा आन्तरिक र बाह्य गरी दैनिक चार सय उडान तथा अवतरण हुने गरेको छ। नयाँ स्वरूपको धावनमार्ग सञ्चालनमा आएसँगै विमानस्थल चौबीसै घण्टा सञ्चालन गर्न सकिने आचार्यले बताए।

हाल विमानस्थल बिहान ३ देखि ६ बजेसम्म बन्द हुँदै आएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .