पुनर्बीमा क्षेत्रको कान्छो कम्पनी हिमालयन रि इन्स्योरेन्सले आक्रामक व्यवसाय थालेको छ।
गत असारसम्म पुनर्बीमा क्षेत्रमा नेपाल पुनर्बीमा कम्पनी मात्रै थियो। यही बेला हिमालयन रि इन्स्योरेन्सको ‘इन्ट्री’ भएको हो।
७ अर्ब चुक्ता पुँजी रहेको हिमालयनको नेतृत्व चर्चित व्यवसायी शेखर गोल्छाले गरेका छन्।
यसले सुरुवातमै आक्रामक व्यवसायलाई जोड दिएको छ। स्थापनाको सात महिनामै कम्पनीले २४ निर्जीवन तथा जीवन बीमा कम्पनीलाई आबद्ध गरिसकेको छ।
चालू आवको पहिलो तीन महिनामै यो कम्पनीले ८ करोड रुपैयाँ बीमाशुल्क संकलन गर्न सफल भएको छ।
नेपाली बीमा कम्पनीहरुलाई सुरुकै चरणमा आबद्ध गरेर कम्पनीले दोस्रो त्रैमासिकमा त पहिलो त्रैमासिकभन्दा दोब्बरभन्दा बढी बीमाशुल्क संकलन गरेको अनुमान छ।
छ महिने रिपोर्ट केही दिनमै सार्वजनिक गरिने हिमालयन रिका कार्यकारी निर्देशक दिपक कुमार श्रेष्ठले बताए।
उनले भने, ‘हिमालयन रिमा कम्पनीहरुको आबद्धता उत्साहजनक छ। हाम्रो व्यवसाय राम्रै हिसाबमा अघि बढेको छ।’
नेपालको पुनर्बीमा क्षेत्रमा केही वर्षसम्म पूर्ण रुपले विदेशी कम्पनीमा निर्भर रहेकोमा हिमालयन खुलेसँगै अब पूर्ण रुपमा पुनर्बीमा नेपालमै हुनथालेको छ।
बीमा समितिले नै यही मंसिरदेखि पूर्ण रुपमै नेपालका रि इन्स्योरेन्स कम्पनीसँग जीवन तथा निर्जीवन बीमा कम्पनीहरु आबद्ध हुनुपर्ने निर्देशन दिएको थियो।
त्यसयता नेपालका रि–इन्स्योरेन्सको समेत बीमाशुल्क राम्रो देखिनथालेको छ।
पुनर्बीमा क्षेत्रको दोस्रो प्लेयर
चालू आर्थिक वर्ष सुरु हुनुभन्दा अगाडि मात्रै लाइसेन्स पाएको हिमालयन रिइन्स्योरेन्स कम्पनीले नेपालको रिइन्स्योरेन्स बजारमा दोस्रो ‘प्लेयर’ बनेको छ।
यसमा सरकारले लिएको नीति पनि सहयोगी भएको छ। यही मंसिर ९ गते बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले सबै जीवन र निर्जीवन बीमा कम्पनीहरु नेपालका रिइन्स्योरेन्स कम्पनीमा आबद्ध हुनुपर्ने अनिवार्य नीति लियो। यसले कम्पनीलाई फाइदा भएको छ।
हिमालयन रिका कार्यकारी निर्देशक श्रेष्ठ पनि यसले कम्पनीलाई सहयोगी भूमिका निर्वाह गरेको बताउँछन्।
उनी भन्छन्, ‘समितिले नेपालको समग्र हितमा लिएको नीतिले हामीलाई पनि सहयोग मात्रै गरेको हो।’
बीमा समितिले यस किसिमको नीति लिएपछि चालू आर्थिक वर्षदेखि आफ्नो बिजनेस अघि बढाएको हिमालयन रिमा नेपालमा सञ्चालनमा आएका सबै निर्जीवन बीमा कम्पनी अर्थात् २० वटा नै आबद्ध भएका छन्। त्यस्तै १९ वटा जीवन बीमा कम्पनीमध्ये ४ वटा आबद्धता भएका छन्।
कार्यकारी निर्देशक श्रेष्ठका अनुसार बीमा कम्पनीहरु सुरुमा आबद्ध हुन केही हिच्किचाहट गरे पनि अहिले केही सहज रुपमा आइरहेका छन्।
समग्र नेपालको पुनर्बीमा क्षेत्र हेर्दा बीमा पुल प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन २०१३ को दफा २ ले दिएको अधिकार प्रयोग गरी वि.सं. २०६० सालमा जोखिम समूहको पुनर्बीमा गर्नका लागि १० करोडको बीज राशीबाट आकस्मिक बीमा कोषको स्थापना भएको थियो।
उक्त आकस्मिक बीमा कोषलाई नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा परिणत गर्ने मन्त्रिपरिषदले निर्णय गरेको थियो।
२०७१ सालमा भएको यस निर्णयअनुसार नेपाल पुनर्बीमा कम्पनी लिमिटेड कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको थियो।
नेपाल पुनर्बीमा कम्पनी लिमिटेड नेपालको पहिलो पुनर्बीमा कम्पनी हो। यस कम्पनीका १८ वटा सेयर सदस्य रहेका छन्। जसमा नेपाल सरकार तथा नेपालमा रहेका १७ वटा निर्जीवन बीमा कम्पनीहरु समेत सेयर लगानीकर्ता छन्।
शतप्रतिशत बीमा नीतिमा प्रश्न उठेपछि छानबिन हुँदै
यसैबीच, बीमा क्षेत्रसँग सरोकार राख्नेहरुले हिमालयन रि इन्स्योरेन्स आएपछि सबै बीमा कम्पनीले शतप्रतिशत बीमा गर्नुपर्ने व्यवस्थाप्रति प्रश्न उठाएका छन्। योसँगै एक समिति नै बनाएर अध्ययन समेत हुँदै छ।
बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले नेपालमा रहेका दुई पुनर्बीमा कम्पनीमै जीवन तथा निर्जीवन बीमा कम्पनीलाई शतप्रतिशत पुनर्बीमा गर्नुपर्ने व्यवस्थाले पुनर्बीमाबापत हरेक वर्ष बाहिरिने अर्बौँ रुपैयाँ स्वदेशमै नै रहने बताएको छ। समितिले त्यसो भने पनि गठित समितिले यसको औचित्य छ वा छैन भनेर अध्ययन गर्नेछ।
बीमा समितिमा नै उजुरी परेपछि समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको संयोजकत्वमा समिति बनेको हो। हिमालयन रि–इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत, नेपाल रि–इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत, दुई बीमक संघका अध्यक्षहरू र एकजना विज्ञसहितको अध्ययन कमिटी गठन भएको हो।
माघ पहिलो हप्ता बनेको समितिले यसबारे अध्ययन गरिरहेको छ। तर यो नीति लिनुमा विदेशमा पैसा धेरै नजाओस् भन्ने नै रहेको समितिको दाबी छ।
समितिका उपनिर्देशक निमल अधिकारी भने यो नीतिले सबैलाई सहयोग गर्ने बताउँछन्।
उनले भने, ‘सरकारको समेत लगानी रहेको नेपाल पुनर्बीमा कम्पनीमा अनिवार्य २० प्रतिशतसहित नेपाली कम्पनीमा शतप्रतिशत बीमा गर्नुपर्ने निर्णय हो। यसले सबैलाई सहयोग गरेको छ।’
यी हुन् लगानीकर्ता?
हिमालयन रिमा लगानी गर्नेमा नेपालका स्थापित मारवाडी घरानाहरु धेरै छन्।
यसमध्ये शंकर ग्रुप, केएल दुगड ग्रप, एमभी दुगड ग्रुप गोल्छा ग्रुप शेखर गोल्छा, पशुपति मुरारका, भवानी राणा, सतिश मोर छन्।
त्यस्तै राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले समेत कम्पनीमा कुल १ अर्ब लगानी गरेका छन्।
यसका अलावा सुदूरपश्चिम स्थायी घर भएका र सत्ताको नजिक रहेर सरकारको विकास आयोजनाहरुमा चलखेल गर्दै आएका दीपक भट्ट समेत यसका संस्थापक लगानीकर्तामा छन्।
Shares
प्रतिक्रिया