नेपालले विदेशी लगानीकर्ताहरुलाई आकर्षित गर्न हरदम प्रयास गरिरहेको छ।
लगानी सम्मेलन नै गरेर होस् वा नीति परिवर्तन गरेर विदेशी लगानी भित्र्याउने अनेक उपाय लगाइएको छ। तर पनि विदेशी लगानी सोचेजसरी आउनसकेको छैन। पछिल्लो समय नेपालमा निकै कम ठूला लगानी आएका छन्।
क्रमिक रुपमा विदेशी लगानीको अंक बढिरहे पनि नयाँ प्रविधि र ठूला लगानी आगमन निकै कमजोर छ। गत वर्षको ५ महिना र यो वर्षको ५ महिनालाई तुलना गर्ने हो नेपालमा विदेशी लगानी ५७ प्रतिशतले बढेको छ।
चालू आर्थिक वर्ष सुरु भएदेखि ७ अर्ब ७ करोड रुपैयाँ कुल विदेशी लगानी भित्रिएको छ। यो रकम गत आर्थिक वर्षको तुलनामा बढी रहे पनि नेपालले गर्ने अपेक्षाको आधारमा भने कम हो। गत आर्थिक वर्षको ५ महिना अवधिमा ४ अर्ब ५० करोड रुपैयाँ मात्रै विदेशी लगानी भित्रिएको थियो।
नेपालले वस्तु उत्पादन बढाउने नीति तथा कार्यक्रमहरु हरेक वर्ष सार्वजनिक गरिरहँदा विदेशी लगानीको मात्रा ह्वात्तै नबढ्नुमा नेपालमा प्रतिफलको सुनिश्चितता नरहेको विश्लेषण गरिन्छ।
समग्रमा विदेशी मुलुकबाट नेपालले लगानीको अपेक्षा गर्दा नेपालसँग परिचितहरुसँग बढी आशा गर्नुपर्ने बताउँछन् राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल।
उनले भने, ‘हामीले यसअघि काम गरिरहेकाहरुबाट नै लगानीको आशा गर्ने हो र त्यहीअनुसारको नीतिहरु लिने हो। जस्तो छिमेकी मुलुक र विदेशमा रहेका नेपालीहरुबाट नै लगानी ल्याउनुपर्छ।’
योजना आयोगका नेतृत्वकर्ताले नै यसो भनिरहँदा हालै लगानी बोर्डले छिमेकी देश भारतको बहुराष्ट्रिय कम्पनीको नेपाली व्यवसाय डाबर नेपालको ठूलो लगानी स्वीकृत गरेको छ।
लगानी बोर्डको बैठकले डाबर नेपालको ९ अर्ब ६८ करोड रुपैयाँ थप पुँजी लगानी स्वीकृत गरेको हो।
यसले नेपालको लगानी बजारलाई सहयोग गरेको नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनिल केसी बताउँछन्।
‘नेपालमा भूकम्पपछि नै दुईवटा लगानी सम्मेलन सम्पन्न भइसकेको छ। लगानी सम्मेलनमा हुने प्रतिबद्धतामा हामीले जहिले पनि भारत र चीनको तुलना गर्ने गरेका छौँ’, केसीले भने, ‘तर नेपालमा भारतको लगानी नीति हेर्दा लगानी सम्मेलनमा आएर लगानी गर्ने होइन। जति खेर पनि भारतले लगानी गरेको देखिएको छ। त्यसको उदाहरण डाबर नेपालको लगानी समेत हो।’
डाबर नेपालको हालै स्वीकृत ९ अर्ब ६८ करोड रुपैयाँ थप लगानी भारत सरकारको नीतिअनुसार नै भएको केसीको भनाइ छ।
उनले थपे, ‘नेपालमा यति ठूलो लगानी गर्न सरकारसँगको परामर्शविना सम्भव छैन।’
केसीको कुरालाई आधार मान्ने हो भने नीजि क्षेत्रबाट नेपालमा हुने लगानी र त्यसको प्रतिफलबारे भारत सरकार पर्याप्त जानकार छ। सोही कारण भारतले जहिले पनि नेपालमा लगानी बढाउनुपर्छ भन्ने धारणा राख्दै आएको मानिन्छ।
सन् १९९० देखि सानो आकारमा लगानी सुरु गरेको डाबर नेपालले २०२२ सम्म आइपुग्दा राम्रो मुनाफा आर्जन गर्न सफल भएको केसी बताउँछन्।
‘यदि नेपालमा प्रतिफल पाउन नसकेको भए यो लगानी अन्त डाइभर्ट हुन पनि सक्थ्यो’, केसी भन्छन्, ‘त्यसकारण नेपाल भारतीयको राम्रो लगानी गन्तव्य रहेको डाबरले नै प्रमाणित गरेको छ।’
केमा अर्बौं लगानी गर्दै छ डाबर नेपाल?
लगानी बोर्डका सीईओ सुशील भट्टका अनुसार डाबर नेपालले लगानी थपको प्रयास केही समय अगाडिदेखि नै गरिरहेको थियो।
उनले भने, ‘पेय, सौन्दर्य तथा स्वास्थ्यवद्र्धक वस्तु उत्पादन गर्ने गरी थप लगानीको प्रस्ताव गरेको थियो। उनीहरुको प्रस्तावअनुसार ९ अर्ब ६८ करोड पुँजी थप गर्ने विषय स्वीकृत गरिएको हो।’
यो लगानी थपको विषयचाहिँ पुरानै योजना रहेको डाबर नेपालका अभय गोर्खालीले पुष्टि गरे।
नेपालखबरसँग उनले भने, ‘डाबर नेपालले मुख्य तीन किसिमको भर्टिकलमा लगानी थप्नलागेको हो। यसमध्ये सबैभन्दा धेरै जुसमा हुनेछ।’
जुसमा डाबर नेपालको ‘मार्केट लिडर’ नै रहँदै आएको छ। डाबरले नेपालबाट उत्पादन गरेको जुस विदेशमा समेत निकासी हुँदै आएको छ।
‘नेपालभित्रै पनि जुसको बजार विस्तार हुनथालेको छ’, उनले भने, ‘हाल डाबरले रियल नामको जुस बिक्री गर्दै आएको छ। लगानी थप गरी कम्पनीले नयाँ जुसहरुको समेत उत्पादन गर्ने तयारी गरेको छ।’
योसहित पुराना भएका मेसिनको ‘रिप्लेसमेन्ट’मा पनि लगानी खर्च हुने उनले बताए।
यस्तै दोस्रो भर्टिकलमा डाबरले कन्जुमर केयर डिभिजनमा लगानी गर्ने भएको छ। यसमा प्रविधिसहितको प्लान्ट लगाइनेछ भने नयाँ प्रोडक्टहरुको योजनामा समेत डाबर नेपाल छ।
नयाँ प्रोडक्टहरुमा जुस तथा बेभरेज छन्। तर यस किसिमको योजना भनेको डाबर नेपालको दुई वर्षको हो। सोही कारण केही महिनामा नै डाबर नेपालले नयाँ उत्पादन बजारमा ल्याउने उनले जानकारी दिए।
अहिलेको लगानी दुई वर्ष अघिदेखिको योजना भए पनि कोरोना र त्यसपछि आर्थिक क्षेत्रमा देखिएको समस्याको कारण धेरै निजी क्षेत्रले लगानी कटौती गरी उत्पादन घटाउने काम गरिरहँदा डाबर नेपालले थपेको लगानीले उत्साह थपेको छ।
यता कम्पनीकै लागि भने यो लगानी व्यावसायिक रणनीतिको रुपमा पनि लिन सकिने नेपाल भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष केसी बताउँछन्।
उनले भने, ‘कोरोनापछि लगानीहरु नबढिरहेको खण्डमा आफ्नो उत्पादन बढाएर बजारमा झनै राम्रो पकड जमाउँछु भन्ने पनि हुनसक्छ।’
त्यसो त डाबर आफैँमा विभिन्न प्रोडक्टहरुको बजार पहिचान गरेर स्थापित भइसकेको कम्पनी हो। त्यसकारण पनि कुनै उत्पादनलक्षित भई बजारमा जानुपर्ने बेला ठानेर वा जोखिम मोलेर थप लगानी आएको हुनसक्ने केसीको भनाइ छ।
डाबर नेपाल आफैँ दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी हो। दन्त मन्जन, जुस, साबुन स्याम्पो र अन्य खानेकुराहरुमा कम्पनीले धेरै ध्यान दिँदै आएको छ। यही प्रकारको उत्पादनमा नेपाली उद्योगहरु समेत छन्।
नेपालमा डाबरजस्तै अन्य कम्पनी पनि व्यवसाय गरिरहेका छन्। भारतकै ठूलो लगानी रहेको पतञ्जली तथा युनिलिभरले पनि यही प्रकारका उत्पादन नेपाली बजारमा बेचिरहेका छन्।
यी तीनवटै कम्पनी भारतका हुन्। तर तीनवटैले नेपालमा लगानी गरेका छन्।
तर आफ्नो प्रतिस्पर्धीहरुबाट समेत माथि जान हालको लगानीले सहयोग गर्ला त भन्ने प्रश्नमा डाबरका गोर्खाली भन्छन्, ‘आफ्नो प्रतिस्पर्धी कम्पनीभन्दा पनि डाबर नेपालले नेपालको बजार राम्रोसँग अध्ययन गरेको छ। बजारमा के बिक्छ। यहाँको सम्भावना कस्तो छ, त्यसको अध्ययन गरेर आफूले गर्नसक्ने कामको योजना बनाएको छ।’
थप लगानीसँग एउटै वस्तुमात्र केन्द्रित नभएर धेरै कुराहरु जोडिएको गोर्खालीको भनाइ छ।
Shares
प्रतिक्रिया